बाग्मती मुहानबाटै फोहर नगर्न जनजागरण अभियान

काठमाडौँ – मुहानदेखि नै उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ।

वाग्मतीको मुहानस्थित वाग्द्वारदेखिकै नदीलाई फोहर मिसिन नदिन वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका–१ मा भेला गरेको छ। भेलाले श्रीहरी पोखरेलको नेतृत्वमा कार्यसमिति चयन गरेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित वाग्मतीको मुहान क्षेत्र नगरपालिकाको वडा नं १ मै पर्छ।

समितिका अध्यक्ष पोखरेलले मुहान क्षेत्रदेखि नै फोहर हाल्न नदिन नागरिक संस्थाका रुपमा खबरदारी गर्ने बताए। वडा अध्यक्ष राम मानन्धरले वाग्मती सफाइ अभियानलाई नगरपालिकाले नमूनाका रुपमा अघि बढाउने बताए। मञ्चका संयोजक उत्तम पुडासैनीले स्वाभिमान र आत्मसम्मानलाई जोगाउने हो भने सफा नेपालका लागि घर घरबाट अभियान चलाउनुपर्ने बताए। कार्यक्रममा एकीकृत विकास समाजका सञ्चार विज्ञ निमेश रेग्मी लगायतका वक्ताले सफाइ अभियानलाई पहिलो प्राथमिकताका रुपमा राख्नुपर्नेमा जोड दिए।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–९ मा नगरस्तरीय सरसफाइ समितिको नाममा मञ्चको वडासमिति गठन भएको छ। नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनी सिङ्खडाको उपस्थितिमा भेला भएको थियो। घरघरबाट सफाइ अभियान शुरु गरिनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा वडाअध्यक्ष कुन्दन खड्काले सफाइ अभियानमा वडालाई नमूना बनाउने प्रतिबद्धता जनाए। भेलाले वडा सदस्य डोलनाथ पोखरेलको संयोजकत्वमा नयाँ वडा समितिसमेत गठन गरेको छ। दुबै वडामा गठन भएका समितिले वडास्तरमै नदीमा फोहर नगर्न जनचेतनामूलक अभियान चलाउने जनाएका छन्।

Facebook Comments