मानव–वन्यजन्तु द्वन्द्व :२ हजार ७२१ घटना, १७ जनाको मृत्यु

काठमाडौँ–पछिल्लो समय मानव र वन्यजन्तुबिच द्धन्द्ध बढ्दै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागका अनुसार गत आ.व.२०७४/७५ मा विभिन्न संरक्षित क्षेत्रमा मानव वन्यजन्तु द्धन्द्धका २ हजार ७२१ घटना दर्ता भएका छन्,भने १७ जनाको मुत्यु भएको छ।

गत आवमा बाघ, हात्ती,अर्ना,भालु,चितुवा,बँदेल मृग र गैँडाले वाली,घरगोठ,पशुधन,तथा मानवीय क्षति गरेको विभागकाे तथ्याङ्क छ।

विषेशगरी पर्सा राष्ट्रिय निकुञ्ज,चितवन राष्ट्रिय निकुञ्ज,बाँके राष्ट्रिय निकुञ्ज,बर्दिया राष्ट्रिय निकुञ्ज,शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज,कोशीटाप्पु आरक्ष र कृष्णसार संरक्षण क्षेत्रमा मानवीय तथा बालीमा क्षति पुगेको विभागले जनाएको छ।

मानव वन्यजन्तुबिच द्धन्द्ध हुँदा पाँच जनाको निकुञ्ज/आरक्षको कोर क्षेत्रभित्र र बाँकी १२ जनाको मृत्यु निकुञ्ज/ आरक्ष क्षेत्रमा भएको विभागको तथ्याङ्क छ।

विभागका अनुसार मानव वन्यजन्तुबिचको वासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएको छ।

वन्यजन्तु आक्रमणबाट सबैभन्दा धेरैको कोसी टप्पु वन्यजन्तु आरक्षमा मुत्यु भएको छ । कोसी टप्पुमा वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ। त्यसै गरी, चितवन राष्ट्रिय निकुञ्जमा र पर्सा राष्ट्रिय निकुञ्जमा पाँच/पाँच जनाको मृत्यु भएको छ ।

बाँके राष्ट्रिय निुकञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज,शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लामटाङ राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु राष्ट्रिय निकुञ्जबाट र कृष्णसार संरक्षण क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र रअन्नपूर्ण संरक्षण क्षेत्रमा मानव र वन्यजन्तुको द्धन्द्धमा मानवीय क्षति भएको छैन।

आर्थिक वर्ष २०७३/७४ मा मात्रै वन्यजन्तुको आक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

त्यसै गरी गत आर्थिक वर्ष २०७४/७५ मा वन्यजन्तुको आक्रमणबाट ६५ जना घाइते भएका छन्। घाइते हुनेमा सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जको रहेका छन् । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ३० जना घाइते भएका छन्।

पर्सा राष्ट्रिय निकुञ्जमा २जना, लामटाङ राष्ट्रिय निकुञ्जमा २ जना, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा एक जना र कोसी टप्पु राष्ट्रिय निकुञ्जमा ९ जना घाइते भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ३ जना घाइते भएका छन्। यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  १० जना र मकालु वरुण राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट २ जना घाइते भएका छन् ।

यस अवधिमा २ हजार १६८ घरधुरीको बालीनालीमा क्षति भएको छ भने ८ सय ६ वटा पशुधनको क्षति र ४ सय ३४ घरगोठमा वन्यजन्तुले क्षति पर्याएका छन्।

विभागको तथ्याँकअनुसार आर्थिक वर्ष २०७३/७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वको कारण ४३ जना घाइते भएका थिए। यस अवधिमा मानव वन्यजन्तु द्वन्द्वका कारण विभिन्न प्रजातिका ३२६ वन्यजन्तु मारिए भने २ सय ७१ घरगोठ, २ सय ७७ पशुधन र १ सय ७१ स्थानमा अन्नबाली नोक्सान भयो। बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जंगली ब्वाँसो, हिमाली कालो भालु, हिउँ चितुवाजस्ता वन्यजन्तुबाट संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो।

सरकारले मानव–वन्यजन्तु द्वन्द्वमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप रु १० लाख र घाइतेको सम्पूर्ण उपचार खर्चसमेत प्रदान गर्ने गरेको छ।

Facebook Comments