कोसी टप्पुमा जलपंक्षीको गणना शुरु

इनरुवा–कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा जलपक्षीको गणना शुरु भएको छ।

कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाका अनुसार  सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षीको शनिबारबाट गणना शुरु भएको हो।

सुनसरीको चतराबाट शुरु गरिएको चरा गणना कोसी टप्पु आसपासका क्षेत्रमा पाँच दिनसम्म चल्नेछ। कोसी टप्पु आसपासका क्षेत्रमा चराको काम गर्दै आएका दुई समूहमा गरी जम्मा १४ जनाको टोलीले चराको गणना गर्ने कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक तथा चरा गणना समूहका संयोजक तिम्सिनाले बताए।

कोसी टप्पुमा पछिल्लो तथ्याङ्कअनुसार ५ सय २६ प्रजातिको चरा रहेकामा सन् २०१८ मा गरिएको गणनाअनुसार ५६ प्रजातिका पानी चरा पाइएको थियो।

Facebook Comments