सकिँदैछ, तराईको वन

धनगढी–बढ्दो जनसंख्या र विकाससँगै कैलालीको तराईको वन सखाप हुँदै गएको छ। वन अतिक्रमण गरी बस्ती बसाउने र विकासका लागि जंगल फडानी गर्नाले कैलालीको तराईका वन क्षेत्र सकिने स्थितिमा पुगेको हो।

कैलालीको वनको अवस्थाबारे गरेको स्याटेलाइट विश्लेषणको नक्सा ।

तत्कालीन जिल्ला वन कार्यालय कैलाली र तराई आर्क ल्याण्डस्केप (ताल) परियोजनाले गरेको स्याटेलाइट विश्लेषण अनुसार विस २०१५ को तुलनामा २०५८ मा कैलालीको तराईको वन हेर्दा आधा भन्दा बढी विनास भइसकेको छ। २०७५ मा तराईका वन क्षेत्र झन पातलिएको छ।

डिभिजन वन कार्यालय कैलालीका अनुसार जिल्लामा हालसम्म २२ हजार एक सय १५ हेक्टर वन अतिक्रमणमा परेको छ। अतिक्रमित वनमा ३४ हजार दुई सय ८५ परिवार सुकुम्बासी, बाढीपीडित, भूमिहीनको नाममा बसेका छन्।

एक अध्ययनले कैलालीको तराईमा अतिक्रमण र भौतिक संरचनाको विकास वन क्षेत्रको उच्च चुनौतीका रुपमा व्याख्या गरेको छ। चरिचरण, चुरे विनास, आगलाली, नदीकटान जस्ता कारणले कैलालीको तराईका वन क्षेत्र सखाप हुँदै गइरहेको ताल परियोजनाले बसन्ता र लालझाडी जैविक मार्गको ‘पार्टीसिपेटरी थ्रेट एसिसमेन्ट’ रिपोर्ट मार्फत् जनाएको छ।

विश्लेषणकाअनुसार कैलालीमा वन अतिक्रण उच्च दरमा छ। त्यसमा पनि तराईका वन क्षेत्र अतिक्रमणकारीको बक्रदृष्टिमा छ। वन विनासको दर तालिकामा हेर्न सकिन्छ ।

वन विनास दर – १५ प्रतिशत १८.२७ प्रतिशत १४.३४ प्रतिशत

कैलालीको तराई क्षेत्रमा वन विनास हुनुको मुख्य कारण अतिक्रमण नै हो। डिभिजन वन कार्यालय कैलालीका अनुसार कैलालीको एक सयभन्दा बढी ठाउँमा अतिक्रमण भएको छ। सबैभन्दा धेरै वसन्ता जैविक मार्ग, अत्तरिया (राजमार्गको छेउछाउ), पहलमानपुर, झलझलिया, बैजपुर, चिसापानी, बल्चौरमा अतिक्रमण भएको डिभिजिन वन कार्यालयका रेञ्जर रामऔतार चौधरीले बताए।

रानीजमरा, हुलाकी सडक, धनगढी दिपायल द्रुतमार्ग, सेती लोकमार्ग विस्तार गर्दा पनि कैलालीको वन विनास भएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख अमरबहादुर बुलनले बताए। उनले स्थानीय तहले बनाउने सडक सञ्जाल, विद्यालय, मन्दिर, गौशाला, खानेपानी, निर्माण गर्दा पनि वन क्षेत्र काटिएको बताए।

त्यसैगरी, मुक्तकमैया पुनस्र्थापना, बाढीपीडित, सुकुम्बासी, भूमिहीन नाममा समेत वन क्षेत्र ह्रास भइरहेको बताउँदै उनले भने, ‘तर कति वन क्षेत्र ह्रास भयो भन्ने एकीन तथ्यांक कार्यालयसँग छैन।’

अध्ययनहरुका अनुसार वन विनासको दर रोकिएन भने आउँदो ५० वर्षपछि कैलालीको तराईमा वन थियो भन्ने इतिहास मात्रै रहने देखिन्छ। वन संरक्षिणकर्मी एकराज सिग्देलले आफ्नो एउटा अंग्रेजी लेखमा आठ वर्ष पहिले नै ‘वन विनास रोकिएन भने बसन्ता जैविक मार्गको अस्तित्व ४० वर्षमा सकिन्छ’ भनेका छन्।

Facebook Comments