संसदमा प्रधानमन्त्रीकाे सम्बाेधन: यी हुन् सम्बाेधनका मुख्य बुँदाहरू

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसदलाई सम्बोधन गरेका छन्।

प्रम ओली पूर्वाधार, ऊर्जा र कृषिसँग सम्बन्धित विषयबस्तुलाई समेत आफ्नो सम्बोधनमा समेटेका छन्। प्रम ओलीले संसदमा गरेको सम्बोधनका मुख्य बुँदाहरु यस्ता छन्।

– यस वर्षमा धानको उत्पादनमा ९ प्रतिशतले बृद्धि भएको छ। मुलुकलाई आवश्यक पर्ने रसायनिक मलको निर्वाध आपूर्ति गर्न उल्लेख्य मात्रामा अनुदानको व्यवस्था गरिएको छ। पहिलेको ५ अर्व रुपैयाँ अनुदानमा, हिउँदे बालीका लागि पनि रासायनिक मलको पर्याप्तताको लागि थप ६ अर्व रुपैयाँ निकासा गरिएको छ।

– मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने विभन्न २३ प्रकारका विषादी प्रयोगलाई नियन्त्रण गरिएको छ।

– धानको समर्थन मूल्य निर्धारण गर्नुको साथै उखुको खरिद मूल्य रु. ५३६.५६ निर्धारण गरिएको छ । साथै, उखुमा किसानलाई दिइने अनुदान वापतको रकम रु. ६५.२८ कायम गरिएको छ।  गत आर्थिक वर्षको उखुको अनुदान वापत रु. ९२ करोड निकासा गरिएको छ।

– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयोजनमा यस आर्थिक वर्षको शुरुवातमा थालिएको “एक नेपाली, एक फलफुलको विरुवा”रोप्ने अभियान अन्तरगत विभिन्न जातका २३ लाख भन्दा बढी विरुवा रोपिएको छ।

– पशु बीमा कार्यक्रमको प्रिमियम बापत नेपाल सरकारले अनुदान स्वरुप प्रदान गर्ने ७५ प्रतिशत रकम सम्बन्धित बीमा कम्पनीहरुलाई उपलब्ध गराइएको छ।

– साना किसानहरुको साँवा र व्याज समेत गरी  १ अर्ब ३२ करोडको ऋण मिनाह गरिएको छ ।

– २०१९ को जुन महिनासम्ममा लुम्बिनीको गौतमवुद्ध विमानस्थलमा परीक्षण उडान सम्पन्न हुनेगरी काम अघि बढेको छ। आगामी ६ महिना भित्र पोखरा विमानस्थलको रन वे र एप्रोन निर्माण कार्य सम्पन्न हुँदैछ।

– भेरी–बबई डाईभर्सन आयोजनाको १२ किमि सुरुङ मध्ये २ किमि मात्र सम्पन्न हुन बाँकी छ । २०१९ को अगस्त भित्र यसलाई सम्पन्न गर्नेगरी काम भइरहेको छ। हालसम्म सम्पन्न भएको १० कि.मि. सुरुङ्मध्ये ७ कि.मि. सुरुङ् यस अवधिमा सम्पन्न भएको हो ।

– माथिल्लो तामाकोशी जलविद्युत आयोजना ९७.५ प्रतिशत सम्पन्न भएको छ। अगस्त २०१९ भित्र परीक्षण उत्पादन शुरु गर्नेगरी कार्य भइरहेको छ ।

–३६ हजार हेक्टर जमिनमा सिंचाई पु-याउने लक्ष्य बोकेको बबई सिंचाई आयोजनाबाट हालसम्म २६ हजार हेक्टर जमिनमा सिंचाई व्यवस्था भएको छ ।

–पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भई काकरभिट्टा–बुटवल खण्डसम्मको निर्माणका लागि स्रोत सुनिश्चित गर्ने काम जारी छ। बुटवल–कञ्चनपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ ।
– काठमाडौ–तराई मधेस फास्ट ट्रयाक निर्माणको प्रगति उत्साहबर्धक छ ।

– जोखिममा परेका तथा छरिएर रहेका, वस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, असुरक्षित रुपमा वसोसास गरिरहेका–विकासका निम्ति बाधक बनेका दुर्गम ठाँऊकागरिब, सिमान्तकृत, एवं विपन्न नागरिकका लागि सुरक्षित आवासको व्यवस्था गर्न “सुरक्षित र एकीकृत नागरिक आवास” कार्यक्रम अब प्रारम्भ हुँदैछ।

– जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म १७ हजार घर निर्माण भइ हस्तान्तरण गरिसकिएको छ । हाल ३८ हजार ८ सय ८० वटा घर निर्माणाधीन अवस्थामा छन् ।

– सन् २०१८ को १० महिनामै गत आर्थिक वर्षको पूरा अवधिकै हाराहारीमा पर्यटक नेपाल भित्रिएका छन्। नेपाली पर्यटन व्यवसायीहरुले गत महिना हवाइमार्ग हुँदै १० लाख पर्यटक नेपाल भित्रिएको उपलक्ष्यमा उत्सव नै मनाएका छन्। हवाइमार्गबाट मात्रै नेपाल भित्रिएका पछिल्लो २ महिनाको पर्यटकहरुको संख्यालाई समेत जोड्दा १२ लाख नाघेको छ। यो संख्या गत सालको यही अवधिको तुलनामा २७ प्रतिशत बढी हो ।

– यो सरकार गठन भएपश्चात थप ३० हजार ग्राहक कहाँ विद्युतीय मिटर जडान भएको छ। यस अबधिमा विद्युत चुहावटमा ३ प्रतिशतले कमी आएको छ ।

– यस अवधिमा १० हजार ५ सय ६१ घर परिवारमा बायोग्यास प्लान्ट, ८० हजार ९ सय ९० वटा सौर्य विद्युत प्रणाली र ४० हजार ३ सय ६२ वटा सुधारीएको चुलो जडान गरी विद्युत सेवा तथा स्वच्छ ऊर्जा उपलब्ध गराइएको छ।

–नेपाल र भारतबीच ऊर्जा बैंककिङ् सम्बन्धि निर्देशिकामा सहमति भएको छ। नेपाल सरकारको अनुरोधमा भारतले आफ्नो ऊर्जा आदानप्रदान निर्देशिकामा संशोधन गरेको छ। यसबाट नेपालमा उत्पादन भएको विजुली भारत र भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्न बाटो खुलेको छ। नेपाल र बंगलादेश सरकारबीच विद्युत व्यापार सम्झौता सम्पन्न भएको छ।

–गत पुस १९ गते उपत्यकाको नदी सफाई गर्ने अभियानको शुरुवात ललितपुरको बालकुमारीमा प्रशोधन केन्द्रको शिल्यान्यासबाट गरियो । २० गते पूर्वको रवी–राँके–भेडेटार सडक खण्डको शिल्यान्यास गरियो ।

– पूर्वपश्चिम राजमार्ग चारलेनमा स्तरोन्नति गर्न स्रोत सुनिश्चित भएको छ र केही खण्डमा बोलपत्र आव्हान समेत भइसकेको छ ।

– भूकम्पपछि बन्द रहेको कोदारी राजमार्ग आगामी वैशाखबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।  रसुवागढी–गल्छी सडकको स्तरोन्नति तीब्र गतिमा भइरहेको छ ।

– चालू आर्थिक वर्षमा २५ वटा पुल निर्माण सम्पन्न भएको छ । हाल देशभर १२५३ पुल निर्माणाधीन अवस्थामा छन् ।

– नेपालीको रेल सपनालाई पूरा गर्न वितेका केही बर्षदेखि मैले आफ्नो पहल र प्रयत्नलाई शिथिल हुन दिएको छैन। हाम्रो मुलुकको विकासको लागि रेल–वे र वाटर–वे, गेम चेञ्जर हुने तथ्यलाई अफवाहको तुँवालो भित्र पुरिदिने प्रयासलाई मैले अभिरुचिका साथ नियाली रहेको छु।

– केरुङ–काठमाडौं रेलमार्ग चिनियाँ सहयोगमा पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ र यसको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि सम्झौता हुँदैछ।

– काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग चिनियाँ सहयोगमा पूर्व सम्भाव्यता अध्ययन गर्न समझदारी पत्रमा हस्ताक्षर हुँदैछ ।

– भारतीय सहयोगमा रक्सौल–काठमाडौं रेलमार्ग विस्तृत परियोजना तयार गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।
– कुर्थादेखि जयनगरसम्म निर्माण गरिएको रेल–वे लाइनमा नेपालको आफ्नै रेल संचालन गर्न २ वटा रेल खरिद कार्य अगाडि बढाइएको छ ।

– नेपाल पानीजहाज कार्यालय स्थापना र पानीजहाज रजिष्टार नियुक्त गर्ने प्रक्रिया शुरु गरिएको छ। नेपालमा जलमार्ग संचालनको लागि सम्भाव्यता अध्ययन भइरहेको छ।

– नागढुंगा–नौबिसे सुरुङमार्ग छिटै शिलान्यास हुँदैछ। राजधानी र देशका विभिन्न भागमा अन्य ५ वटा सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ ।

– भूकम्पपछिको पुनर्निर्माण तर्फ मेरो नेतृत्वमा सरकार बन्नुअघि ९७ हजार ८ सय १३ मात्र नीजि घर निर्माण भएका थिए । सरकार बनेयता करिव १० महिनामा ३ लाख ३८ हजार १ सय ४७ घर निर्माण भइसकेका छन् । यो सरकार बन्नुअघि ४ हजार ५ सय १५ विद्यालय निर्माणाधीन थिए । त्यसयता ६ हजार ६ सय ७८ विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । ३९० वटा पुरातात्विक सम्पदा निर्माण भएकामा त्यसयता ५१० पुरातात्विक सम्पदा निर्माण सम्पन्न भएका छन् ।

 –देशभरिका ७ सय ५३ स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने वनहरुको नक्शांकन समबन्धी कार्य सम्पन्न गरिएको छ। चितवन जिल्लाको इच्छाकामना गाँउपालिकामा अत्याधुनिक एट्मोस्फेरिक अव्जरभेटोरी स्टेशनस्थापना गरिएको छ ।

–तराईका २२ जिल्लामा शीतलहर घटाउन पूर्वतयारी स्वरुप २ करोड ७५ लाख निकासा गरिएको छ।  हिमाली क्षेत्रका २० जिल्लामा हिमपात हुँदा हुने चिसोको प्रकोपबाट अति विपन्न परिवारलाई बचाउन ५-५ लाख रुपैयाँ निकाशा दिईएको छ। शीतलहर र आगलागिका घटनामा परेका विभिन्न जिल्लाका पीडित परिवारलाई करिव ६ हजार थान राहत सामग्री उपलब्ध गराइएको छ।

Facebook Comments