काठमाडौंमा बल्ल हिउँदे वर्षा

ललितपुर– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशका कयौं स्थानमा वर्षा भएको छ।

पश्चिमी वायुको प्रभावका कारण आइतबार मुलुकको पश्चिमी भेगमा वर्षा भएकोमा सोमबार बिहान काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा वर्षा भएको छ। वर्षाको क्रम पूर्वतिर सर्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार दिउँसो पूर्वका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ। सोमबार दिनभर देशभरको मौसम बदली हुने र हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले विज्ञप्तिमार्फत् जनाएको छ।

काठमाडौं उपत्यकामा यो वर्षको पहिलो हिँउदे वर्षा हो। यद्यपि, केही साता अघि मात्र गाेदावरी क्षेत्रमा छिटपुट वर्षा  भएपनि काठमाडौं उपत्यकामा समग्र रूपमा असोजयता पानी परेको थिएन।

माैसमविद् कँडेलका अनुसार याे वर्ष काठमाडाैंमा हिउँदे वर्षा ढिलाे गरी शुरू भएकाे छ। डिसेम्बरमा औसतमा १३ दशमलव २ मिलिमिटर वर्षा हुनुपर्ने  हाे। तर, याे वर्ष काठमाडाैंमा वर्षा भएन।

जनवरीमा औसतमा  १४ दशलमव  ७ मिलिमिटर वर्षा हुन्छ।तर, जनवरीकाे पहिलाे साता बित्दा साेमबार हल्का वर्षा भएकाे छ। ‘साेमबार काठमाडाैंमा छिटपुट पानी परेकाे हाे।  २-३ दिनमा फेरि पानी पर्न सक्छ,’ माैसमविद् कँडेलले भनिन्।

महाशाखाका अनुसार जुम्ला र हुम्लामा हिमपात भएको छ। यसैगरी, मकवानपुरको दामन, दोलखाको कालिञ्चोक, जुम्ला, हुम्ला लगायतका ठाउँमा हिमपात भइरहेको महाशाखाले जनाएको छ।

Facebook Comments