पानीको मुहान जोगाउने बोगटानवासीको अठोट

बोगटान (डोटी)– पाखा र टाकुरामा बस्ती, तल फेंदमा खोलाको कलकल। खोलाहरू अनवरत बगिरहेछन्, सेती-कर्णालीलाई भेट्न। तर, ती पाखा र टाकुराका बस्ती अनि सदियौँदेखि बगिरहेका खोलाबीच कहिल्यै भेट भएन। किनकी खोला टाकुरा चढ्दैन।

यो डोटीको बोगटान गाउँपालिका हो-जहाँ धेरैजसो वडामा सिंचाइको सुविधा छैन। पानीका मुहान त छन् तर, पर्याप्त छैनन्। भएका मुहान पनि सुक्दै जान थालेका छन्। कुनै मुहान सडक काट्दा सुकेका छन्, भने कुनै मुहानमा एकदमै कम पानी छ। कुनै मुहान हराएका छन्, कुनै ‘बसाइँ’ सरेका छन्। नयाँ मुहानहरू अब सम्भवतः फुट्ने छैनन्। भएका मुहान पनि संरक्षणमा ध्यान दिइएको छैन।

यस्तै, पानीका मुहान र तिनको संरक्षणका उपायका बारेमा सोधखोज गर्न नेपाल वातावरण पत्रकार समूहले बोगटान–१ सिमचौरमा ‘पानी छलफल’ कार्यक्रम गरेको छ। यसअघि गत जेठमा यहाँ यस्तै छलफल भएको थियो। त्यो बेला जनप्रतिनिधिहरू तथा स्थानीयबीच भएको छलफलमा १३ बुँदे प्रतिवद्धताहरू पारित भएका थिए। तीमध्ये धेरैजसो कार्यान्वयनको क्रममा छन्। तर, कतिपय बुँदालाई भने कसैले पनि वास्ता गरेका छैनन्।

जस्तो कि सडक बनाउने क्रममा ‘वातावरणीय क्षतिको मूल्यांकन गर्ने’ भन्ने प्रतिवद्धतालाई पूरै वेवास्ता गरिएको छ। जसका कारण पानीका मुहानहरु सुक्न र हराउन थालेका छन्। र, तिनै प्रतिवद्धताहरु कार्यान्वयनको अवस्था बुझ्न १६ पुसमा गरिएको ‘पानी छलफल’ मा बोगटान गाउँपालिका–१ का वडाध्यक्ष डम्बरबहादुर घर्तीले भने, ‘हामीसँग दक्ष प्राविधिकह छैनन्। र, अहिले सडक बनाउने काम रोक्न पनि सकिन्न। त्यसैले जता सजिलो हुन्छ उतैबाट सडक निकालिन्छ।’ अनि त्यसपछि फेरि उनले प्रतिवद्धता पनि गरेका छन् कि ‘अबका दिनहरुमा हामीले पानी मुहानहरु नबिग्रिनेगरी सडक निर्माण गर्छाैँ।’

अघिल्लो पटकको छलफलमा ठाउँठाउँमा कृत्रिम पोखरी बनाउने प्रतिवद्धता गरिएको थियो। केही ठाउँमा त्यस्ता पोखरी बनेका छन्। जस्तो वडा–२ मा धेरै त्यस्ता कृत्रिम पोखरीहरु बनाइएका छन्। जहाँ पिउनेपानीको धाराबाट खेर गएको पानी र आकाशे पानीसमेत जम्मा हुन्छ। वडा नम्बर १ मा केही मात्रै पोखरीहरु निर्माण भएका छन्। जसले गर्दा स्थानीयलाई तरकारीखेती गर्न सिंचाइका लागि केही सजिलो भएको छ।

वडाध्यक्ष घर्तीले आगामी वर्षमा त्यस्ता धेरै पोखरीहरु निर्माण गर्ने प्रतिवद्धता यसपटक पनि गरेका छन्। ‘कतिपय कामहरु गर्दा गर्दै पनि अपूरा भएका छन् । केही कामहरु हुँदैछन् । पहिला पनि प्रतिवद्धताहरु गरेका कामहरु बाँकी छन्,’ घर्ती भन्छन्।

बोगटान १ को लफडा गाउँबाट छलफलमा सहभागी हुन आएकी इन्द्रादेवी गड्सिलाले आफूले चाहेर पनि पैसा आर्जन गर्नेगरी तरकारीखेती गर्न नपाएको बताइन्। ‘करेसामा थोरैथोरै तरकारी रोप्छु, धाराकै पानी सिंचेर,’ उनको इच्छा छ ‘सिंचाइको व्यवस्था भए त, बेच्नेगरी तरकारी खेती थिएँ।’ उनी साना किसान सहकारी संस्थामा पनि आवद्ध छिन्। जसले साना किसानहरुको क्षमता अभिवृद्धिको काम गर्छ। उनी जस्ता व्यावसायिक तरकारी खेती गर्ने सपना धेरैले बोकेका छन् यहाँका स्थानीयले।

तर, सिंचाइको अभाव सँगसँगै यहाँको अर्काे बिडम्बना के छ भने, यहाँ पर्याप्त बजार पनि छैन। न, गतिलो यातायातको सुविधा। यहाँ धेरै फलफूल छन्। ताजा, अग्र्यानिक सुन्तला, मौसम (जुनार), अमिला यहाँ के छैन? मह उत्तिकै पाइन्छ।

अदुवा खेतीको त बोगटान नमूना नै हो। तर, घरैपिच्छे पहेंलै भएका सुन्तला अनि जुनारका दानाहरु त्यसै झुन्डिइरहेका छन्। ती कि त, छिमेकी अनि आफन्तहरुलाई बाँडेर सकिन्छन् कि त त्यत्तिकै कुहिएर सकिन्छन्। सुन्तलाका कारण गाउँमा बाँदरहरु पनि बढेका छन्। धेरै जसो फलफूल तिनी (बाँदर) हरुकै लागि हुन्छ। किनकि बेच्नका लागि बजार छैन।

‘तरकारी उमारेर, फलफूल खेती गरेर के गर्नु र, यहाँ नहुने त के नै छ र? सबै चिज हुन्छ तर, भएर मात्रै भएन कहाँ बेच्न लैजाने, न बाटो गतिलो छ न बजार छ,’ छलफलका सहभागी दीलिपसिंह धामीको सवालमा वडा नम्बर १ का वडाध्यक्ष घर्तीले आगामी दिनमा साना किसान सहकारी संस्थामार्फत् गाउँका किसानहरुले फलाएको तरकारी तथा फलफूलहरु संकलन गरेर बजारीकरण गर्ने योजना सुनाए। त्यसका लागि सहकारीको भवन पनि वडा कार्यालय नजिकै निर्माणाधीन छ। गाउँपालिकामा बजेटका लागि पनि वडाध्यक्ष घर्तीले पहल गरिरहेको बताएका छन्। साना किसान सहकारी संस्थाकी अध्यक्ष हरिकला बम मल्लले बजार तथा यातायातको अभावले गर्दा किसानहरुले व्यावसायिक खेती गर्न नसकेको बताइन्।

गाउँपालिकाको मूल सडकसँग जोड्नका लागि बनाइएको सडक त्यत्ति गतिलो छैन। भर्खरै खुलेको यो सडकको ट्«याकमा आफैंँ ‘रिस्क’ लिएर सामान्य जीपहरु चल्छन्। त्यो पनि नौ, दश जना बोक्ने क्षमताका जीपहरु २३, २४ जना यात्रु कोचेर धुलाम्मे हुन्छन्। यी गाडीहरुमा ढुवानी गरेर, दिपायलसम्म पु¥याउनमात्रै तरकारी वा फलफूलको मूल्यभन्दा दुई गुणा बढी भाडा तिर्नुपर्छ।

बोगटान १, सिमकी तिर्सना बुढामगरले गाउँमा पानीका मुहान सुक्दै जान थालेको सुनाइन २४ वर्षीया तिर्सनाकै स्मरणमा अहिले गाउँका दुई वटा मुहान सुकिसकेका छन्। एउटा मात्रै मुहानको पानी जम्मा भएर घरघरका धारामा चुहिन्छ, सकिनसकी। त्यही पानीले घर, जीवन र केही तरकारी खेती भइरहेको छ। ‘अब केही वर्षपछि के हुने हो थाहा छैन,’ उनी भन्छिन्, ‘हाम्रै पालामा यस्तो भइसक्यो, पछि के के पो हुने हो।’

यी गाउँमा आरभीडब्ल्यू आरएमपी (ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना) ले केही वर्ष अघि ट्यांकी बनाएर घरघरमा धारा पुर्याएको थियो। ‘आमा छोरी’ नाम दिइएका यी धारामा दुई वटा नली जोडिएका छन्। एउटा बालमैत्री (हाँचो) र, अर्काे अग्लो (उमेर पुगेकाका लागि)। तर, मुहानको पानी निरन्तर घटिरहेको छ। संरक्षण र सम्वद्र्धनमा कसैले पनि ध्यान दिएका छैनन्।

बोगटान गाउँपालिकाले यहाँ माछा संरक्षण गर्ने नीतिगत निर्णय गरेको छ। र, वडा नम्बर १ बाट त्यसको परीक्षणका रुपमा लागू गरिएको छ। ‘पानी छलफल’ मा आठ बुँदे प्रतिवद्धता पारित गरिएको छ। ती बुँदाहरु निम्न छन्।

– स्थानीय तहले वनजंगल तथा जलाधार संरक्षण नीति तथा कार्यक्रम बनाउने।

– सडक निर्माण गर्दा वातावरणीय क्षति र त्यसको प्रभावलाई ध्यान दिने।

–नगदेबाली तथा फलफूल अनि तरकारीलगायत कृषि उपजहरुको बजारीकरणका लागि वडा पालिकाले संकलन केन्द्र बनाउने।

–सडक निर्माण गर्दा क्षति भएका मुहान बचाउन वृक्षरोपण गर्ने, तिनको संरक्षण सम्वद्र्धन गर्ने।

–जलाधार क्षेत्र संरक्षणका लागि वडापालिकाले जनचेतनामूलक अभियान चलाउने।

–जलाधार क्षेत्र तथा बनपैदावारको संरक्षणका लागि स्थानीय तहले निरन्तर अनुगमन गर्ने।

–सुक्न लागेका पानीका मुहान जोगाउन अभियान थाल्ने र प्रदूषित मुहानको सरसफाइ गर्ने।

–प्लास्टिकजन्य वस्तुको नियन्त्रण गर्ने।

Facebook Comments