अख्तियारले थाल्यो बिजुली बसको छानबिन

काठमाडौं- गत कात्तिकमा नेपाल भित्र्याइएका पाँचवटा बिजुली बस चीनबाट नभइ भारतबाट खरिद गरिएको फेला परेपछि त्यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठीत प्राविधिक समितिले ती बस ‘स्पेसिफिकेसन’ अनुसार नभएकाे, मापदण्डभन्दा कमसल भएको र पार्टपुर्जा भारतमा बनेको निस्कर्ष निकालेर प्रतिवेदन बुझाइसकेका बेला अख्तियारले पनि छानबिन थालेको हो।

‘चीनबाट खरिद गरिएकाे भनिए पनि ती बसका पार्टपूर्जा भारतबाट ल्याउनु र मापदण्डभन्दा कमसल हुनुमा ‘अनियमितताको आशंका’ छ,’ अख्तियार स्रोतले भन्यो, ‘सो विषयमा पर्यटन मन्त्रालयद्वारा प्राविधिक समितिको रिपोर्ट अध्ययन भइरहेको छ। र, अन्य कोणबाट पनि छानबिन थालिएको छ।’ अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बिजुली बसको छानबिन भइरहेको पुष्टि गरे।

पढ्नुहाेस्–साझाले गुडाउँदै पाँच विद्युतीय बस ( हेर्नुहोस् फोटोमा)

पर्यटन मन्त्रालयले एक वर्ष अघि एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा चीनबाट विद्युतीय बस खरिद गर्ने निर्णय गर्दै खरिदका लागि चिनियाँ कम्पनी बिवाइडी साइमेक्ससँग सम्झौता गरेको थियो। तर, मन्त्रालयद्वारा गठीत प्रविधिक समितिले ती बस भारतमा उत्पादन भएको उल्लेख गर्दै १७ वटा कैफियत औंल्याउँदै हालै मात्र मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय ती बस गुणस्तरहीन र सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रहेको प्रतिवेदन आएपछि ‘सम्झौताअनुरुप बस ल्याउन’ बिवाइडी साइमेक्सलाई पत्राचार गरिएको बताउँछन्।

मन्त्रालयले लुम्बिनी विकास कोषका लागि टेन्डरमार्फत् २ करोड रुपैयाँमा पाँच वटा बस खरिद गरेको थियो। ती बस परीक्षणका लागि काठमाडौंमा गुडाउन प्रधानमन्त्री केपी शर्मा ओलीले ६ कात्तिकमै साझा यातायातलाई हस्तान्तरण गरेपनि अहिले त्यसै थन्किएका छन्।

पढ्नुहाेस्–तीन सय विद्युतीय बस खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय

Facebook Comments