आगलागीको जोखिम कम गर्न विपन्न आवास कार्यक्रम

राँझा – बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ। फुसको छाना भएका कारण प्रत्येक वर्ष गर्मीयाममा नरैनापुरमा आगलागी भई बस्ती नै सखाप हुने गरेकाले फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो।

चालु आर्थिक वर्षमा गाउँपालिकाका १२५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा वडा नं ५ नयाँ बस्तीका ६० विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ।

गाउँपालिकाको ३० प्रतिशत र महिला उपकार मञ्च बाँकेको ७० प्रतिशत लागतमा आवास कार्यक्रम शुरु गरिएको हो। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले फुसको छाना हटेसँगै नरैनापुरमा आगलागीका घटनामा कमी हुने बताए। रासस

Facebook Comments