भू–मध्य सागरको वायूले वर्षा र हिमपात

काठमाडौँ – भू–मध्य सागरबाट उच्च वायुमण्डल हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा हिउँदे वर्षासँगै हिमपात शुरु भएको छ। आइतबार बिहान भित्रिएको वायुको असर देशैभरि देखिएको छ।

सोही वायुको प्रभावले सुदूरपश्चिम र मध्यपश्चिमी भेगमा आइतबार साँझदेखि वर्षा र हिमपात शुरु भएको थियो भने सोमबार बिहानैदेखि त्यस्तै प्रभाव अन्यत्र पनि फैलिएको छ। भू–मध्यसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको वायुको प्रभावले अहिले वर्षासँगै हिमपात गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताए।

यो हिउँदयामको स्वभाविक प्रक्रिया भए पनि यसको असर दीर्घकालीन नहुने बताउँदै उनले सोमबार साँझ भने–‘अहिलेको मौसमी प्रणाली मंगलबार पूर्वीभेगबाट सिक्किम र भुटानतर्फ मोडिँदै छ।’ बुधबार भने उच्च पहाडी र हिमाली भेगको मौसम धुमिएर केही ठाउँमा छिटफुट वर्षासहित हिमपात दोहोरिने रिमालले दावी गरे मुलुकका अन्यको तुलनामा डडेल्धुरामा धेरै वर्षा भएको छ, त्यहाँ ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार नेपालगञ्जमा ६ दशमलव १ मिलिमिटर वर्षा भएको छ भने जुम्लामा ५ दशमलव ६, दाङमा ५ दशमलव ५ र वीरेन्द्रनगरमा १ दशमलव ७ मिलिमिटर वर्षा भएको छ। त्यसै गरी काठमाडौंमा शून्य दशमलव ६ मिलिमिटर, दिपायल, धनगढी, सिमरा, जोमसोम, भैरहवा, पोखरालगायतका भेगमा छिटफुट वर्षा भएको महाशाखाले जनाएको छ।

अहिलेको मौसमी प्रभावले काठमाडौंको चन्द्रागिरी र आसपासका उच्च भेगमा समेत हिमपात भएपछि सोमबार मध्याह्नपछि त्यस्ता भेगमा घुमफिर गर्न जानेहरुको घुइँचो बढेको थियो। नेपाल समाचारपत्र

Facebook Comments