पाँच वर्षमा ४० हजार सडक दुर्घटना : संसदमा जरूरी सार्वजनिक महत्वकोे प्रस्ताव दर्ता

काठमाडौं–नेपालमा सडक दुर्घटनामा वार्षिक २२ सयभन्दा बढीको ज्यान जाने गरेको प्रहरीको आँकडा रहेकोमा ‘सडक सुरक्षा’ को पहल चाल्नुपर्ने र त्यसबारे छलफलको माग गर्दै प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

डा. डिला संग्राैला

सडक दुर्घटनाबाट सर्वसाधारणको ज्यान जाने क्रम बढेको र त्यसलाई न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने माग गर्दै नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सोमबार उक्त प्रस्ताव दर्ता गराएकी हुन्।

सांसद संग्रौलाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७१ बमोजिम दर्ता गराएको प्रस्तावमा ‘पछिल्लो ५ वर्षमा ४० हजार ७ सय ७७ दुर्घटना भएको र ती दुर्घटनामा ८ हजार ९ सय ८२ जनाको मृत्यु भएको’ उल्लेख छ। दर्ता भएको प्रस्ताव अनुसार वर्षमा सरदर २ हजारदेखि २२ सयले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन्।

उनको प्रस्तावको समर्थकमा सांसदहरु सञ्जयकुमार गौतम र रंगमती शाही रहेका छन्। संग्राैलाले दर्ता गराएकाे उक्त प्रस्तावमा छलफल गर्नुपर्ने तीन कारण औंल्याइएको छ।

एक साता अघि मात्र संघीय संसदको विकास तथा प्रविधि समितिमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सवारी दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर समाधान गर्न कार्यदल गठन गरेर अध्ययन सुरु गरिएको जानकारी दिएका थिए। उनका अनुसार मन्त्रालयका सहसचिव सरोज प्रधानको संयोजकत्वमा गठीत कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ।

Facebook Comments