पत्रपत्रिकामा आज : हिउँ होइन अन्न, चिसोका कारण बिरामी हुने बढे

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नागरिक
आजको नागरिकमा चिसोका कारण बिरामी हुने बढे शिर्षकमा पवित्रा सुनारको समाचार छापिएको छ । दुई सातादेखि बढेको चिसोले बिरामी परेपछि राजधानीका विभिन्न अस्पतालमा बिरामी भर्ना भएका छन्। सिकिस्त बिरामीहरुको आइसियुमा भर्ना भई उपचार भइरहेको छ भने मध्यम स्तरको वार्डमा भर्ना गरी उपचार भइरहेको छ।

केही सामान्य अवस्थाहरुको बहिरंग विभाग र आकस्मिक कक्षबाटै उपचार गरिएको छ। उपचारमा आएका सिकिस्त बिरामीलाई आइसियु नपुगेपछि अन्यत्र रेफर गर्ने गरेको राजधानीका मुख्य अस्पतालहरुले जनाएका छन्। उनीहरुमा जाडोको कारणले हुने पक्षघात, दम, आज्मा, रुघाखोकी र निमोनियालगायतका रोग बढी मात्रामा पाइएको चिकित्सकले जनाएका छन्। राजधानीमा दुई सातादेखि ह्वात्तै चिसो बढेपछि चिसोका बिरामी अस्पतालमा बढी पुगेका छन्।

कान्तिपुर
–आजको कान्तिपुरमा हिउँ होइन अन्न शिर्षकामा समाचार छापिएको छ । पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश क्षेत्रमा हिमपात भएको छ । वडा १ देखि १४ का अधिकांश क्षेत्र सेताम्य छन् । लेक, चुुचुरा, चौतारो, जग्गा र घरआँगन जताजतै हिउँ देखिन्छ । घर पनि हिउँले ढाकिएका छन् । हिउँदे बाली लगाइएका बारीमा हिउँ फलेजस्तो दखिन्छ। हिमपातले जनजीवन प्रभावित बनको छ । यस वर्षको पहिलो हिमपात भएकै कारण किसान भने बाली सप्रने आसले खुसी देखिएका समाचारमा उल्लेख छ ।

त्यस्तै नुवाकोट पस्न तीनै सडकमा हैरानी शिर्षकमा विमल खतिवडा र कृष्ण थापाको समाचार छापिएको छ । ककनी–४ दोभानका मदन लामाले ट्राउट माछा पाल्न थालेको १६ वर्ष भयो । यसैलाई मुख्य आम्दानीस्रोत बनाएका उनको व्यापारमा अहिले कमी आएको छ । लामा यसको दोष खनेर अलपत्र छाडिएको सडकलाई दिन्छन् ।

बालाजु–ककनी हुँदै नुवाकोट जोड्ने पासाङल्हामु राजमार्ग स्तरोन्नति पूरा नहुँदा व्यवसायमा असर परेको छ ।

माछा खपतका लागि लामाले होटल चलाएका छन् । सडक राम्रो हुँदा शुक्रबार र शनिबार सधैं भीड हुन्थ्यो । मुख्य ग्राहक काठमाडौंका थिए जो प्रायस् मोटरसाइकलमा आउँथे । पहिले २० जनालाई रोजगारी दिएका थिए । सडक नबनेर ग्राहक घट्न थालेपछि कामदारलाई बिदा गरेका छन् । अहिले परिवारले मात्र चलाएका छन् । ‘सडकले गर्दा व्यापार–व्यवसाय चौपट भयो,’ लामाले भने, ‘यो लथालिंग सडक कहिले पूरा हुन्छ, थाहा छैन ।’

गोरखापत्र
–आजको गोरखापत्रमा ललितपुरका सम्पदा यसै वर्ष पुनर्निर्माण हुने शिर्षकमा राधा चालिसेको समाचार छापिएको छ । भूकम्पबाट भत्किएका पाटन दरबार क्षेत्रका अधिकांश सम्पदाको जीर्णोद्धार र पुनर्निर्माण सन् २०१९ भित्रै नै सम्पन्न हुने भएका छन् । पाटनका अधिकांश सम्पदाको जिर्णोद्धार र पुनर्निर्माणको कार्य काठमाडौँ प्रिजर्भेसन ट्रस्ट (केभीपीटी)मार्फत हुँदै आएको छ । हाल ट्रस्टले चार नारायण मन्दिर, हरिशंकरको मन्दिर र भाइदेग मन्दिरको पुनर्निर्माणलाई तीव्रता दिइरहेको छ।

तीन तले पेगोडा शैलीको हरिशंकरको मन्दिरको पहिलो छाना छाउनेका लागि मुसी राखिसकिएको छ भने त्यसमाथि दुई तला निर्माण गर्न बाँकी छ । त्यस्तै चार नारायणको मन्दिरको पनि तल्लो छानामा मुसी राखिसकिएको छ भने माथिल्लो छानाको काम बाँकी छ।

तीन तहको प्लिन्थमाथि निर्माण भएको हरिशंकरको मन्दिर वि।सं। १७०६ मा निर्माण भएको इतिहासमा उल्लेख छ। मन्दिर बनाउनका लागि राजा योगनरेन्द्र मल्लकी छोरी रुद्रमतिले विशेष योगदान गरेको इतिहासकारहरूले बताएका छन् । उक्त मन्दिरको तल्लो भागदेखि नै पुनर्निर्माण गरिएको छ ।

Facebook Comments