बाघ संरक्षणमा नेपाल–भारतबीच हातेमालो

काठमाडौं–वन्यजन्तु एउटै वनजंगलमा सायदै बस्छन्न् उनीहरू ओहोरदोहोर गरिरहन्छन्। आहारा होस् वा बासस्थानकाे  खोजीमा वन्यजन्तु वनजंगलको मार्ग हुँदै अर्काे देशमा पनि पुग्न सक्छन्, जस्तै भारतसँग सीमा जोडिएको नेपालको पर्सा राष्ट्रिय निकुञ्ज र भारतकाे बाल्मीकी टाइगर रिजर्ब।

नेपालकाे ठाेरी र भारतकाे सीमावर्ती जंगल।

चितवन, मकवानपुर र पर्सा जिल्लालाई छोएको पर्सा निकुञ्जका प्रमुख जनावरहरू जंगली हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई हुन्। पर्सा निकुञ्जको केही किलोमिटर दक्षिणमा भारतको बिहार राज्य पर्छ, जहाँ बाल्मीकी टाइगर रिजर्ब छ। टाइगर रिजर्भमा पनि पर्सा निकुञ्ज जस्तै पाटेबाघ पाइन्छन्। तर, पर्सा निकुञ्ज र टाइगर रिजर्बका पाटेबाघ निर्वाध सीमा वारपार गर्ने गरेको संरक्षणविद्हरू बताउँछन्।

पर्सा राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत हरिभद्र आचार्य पाटे बाघको आवतजावतले दुई देशबीच बाघ संरक्षणको हिसावले सम्बन्धमा सुधार हुँदै गएको दावी गर्छन। ‘चितवन राष्ट्रिय निकुञ्जसँग पर्सा निकुञ्ज जोडिएको छ, भने पर्सासँग भारतको बाल्मीकी टाइगर रिजर्ब जोडिएको छ।’ जसकारण वन्यजन्तु संरक्षणमा चुनौती समेत रहेकाले संरक्षणको काम संयुक्त रूपमा भइरहेको उनी बताउँछन्।

६२७.३९ वर्ग किलोमिटरमा फैलिएको पर्सा निकुञ्जमा १८ वटा पाटे बाघ रहेको सन् २०१८ मा सार्वजनिक तथ्यांकमा उल्लेख छ। चितवन निकुञ्जमा ९३ वटा पाटे बाघ छन्, भने पर्सा निकुञ्जसँग सीमा जोडिएको बाल्मीकी टाइगर रिजर्बमा २८ वटा पाटे बाघ छन्। सन् २०१३ को तथ्यांक अनुसार पर्सा निकुञ्जमा १३ वटा बाघ थिए। यसरी पर्सा र बाल्मीकीमा बाघको संख्या बढ्नुमा दुई देशबीच संरक्षणको संयुक्त प्रयास र सूचना आदानप्रदाले मुख्य भूमिका रहेको दुबै निकुञ्जका अधिकारीहरूको भनाइ छ।

नेपाल-भारत सीमा छुट्याउने खोला, यही खोलाको बाटो हुँदै धेरै वन्यजन्तु सीमा वारपार गर्ने गर्छन्।

पर्सा निकुञ्जका पूर्वसंरक्षण अधिकृत आचार्य बाघको संख्या वृद्धि गर्न निकुञ्जले घाँसे मैदान तथा पानीको व्यवस्थापनमा सुधार, चोरीशिकार नियन्त्रण र सीमा क्षेत्रमा सम्बन्ध सुधारका लागि काम गर्दै आएको बताउँछन्।

सीमा क्षेत्रमा कार्यरत कर्मचारीबीच वन्यजन्तुको विषयमा सूचना आदानप्रदान हुने गरेको र सम्भावित घटनाको पहिल्यै आँंकलन गरेर त्यसको प्रतिरक्षाको लागि दुबै देशले पहल गर्ने गरेको उनले बताए। ‘सीमा क्षेत्रमा रहेका निकुञ्जका प्रतिनिधिबीच नै समन्वय भएर बाघ संरक्षणमा देखिएका समस्या तुरुन्त समाधान गर्ने गरिएको छ,’ उनले भने।

बाल्मीकी टाइगर रिजर्बका रेञ्जर अजय सिन्हा वन्यजन्तुको संरक्षणमा नेपालसँग संयुक्त प्रयास गरिँदै आएको बताँछन्। वन र वन्यजन्तुको संरक्षणको लागि दुई देशबीचको सीमाको समस्याले छेक्न हुन्न भन्ने मान्यता राख्ने सिन्हा भन्छन्, ‘३ वटै वन क्षेत्रलाई एकै दृष्टिले हेरेर वन सुरक्षा नीति बनाउनुपर्छ।’

यसअघि बाघ गणना गर्दा पनि नेपाल र भारतबीच समन्वय भएको थियो। सिन्हाका अनुसार भारतले नेपालसँग मिलेर क्यामेरा ट्रयापिङ्ग गरेर एकसाथ बाघको गणना गरेको थियो। ‘यसले कुन बाघ कताको र कता बढी जाँदै भनेर पहिल्याउन मद्दत गर्यो,’ उनी भन्छन्, ‘उता (नेपाल) को बाघ यता (भारत) आउने र यता (भारत) को बाघ उता (नेपाल) पनि जाने गरेकाले सूचना आदानप्रदान गर्न र बाघको संख्यामा वृद्धि गर्न मिलेर धेरै सुधारात्मक काम गर्दै आएका छौं।’
उनका अनुसार सीमावर्ती वनमा काठको तस्करी, वन्यजन्तुको शिकार, आगलागी जस्ता घटनाको सूचना आदान प्रदान गरिने गरिएको छ।

आचार्य पर्सा निकुञ्जमा बाघलाई स्वस्थ्य बनाउन दुई देशबीचमा भएका बासस्थान सुधार, घाँसे मैदान सुधार, पानीको व्यवस्थापन, आगलागी तथा चोरीशिकार नियन्त्रणमा भएका प्रयास अवलोकन गर्ने र राम्रा कामहरु कार्यान्वयनमा ल्याउने गरेको बताउँछन्।

वल्र्ड वाइल्ड फन्ड भारतका संयोजक डा. कमलेश मौय बाघ संरक्षणमा भारतमा भएका प्रयासको नेपालका प्रतिनिधिलाई बेलाबखतमा भ्रमण गराएर जानकारी दिने गरिएको बताउँछन्।

डब्ल्यूडब्ल्यूूएफ नेपालले निकुञ्जमा रहेका वन्तजन्तुको चोरीशिकार नियन्त्रणका लागि गस्ती गर्न सहज होस् भनेर निकुञ्जभित्र एउटा भवन निर्माण गरिदिएको छ। यसैगरी, निकुञ्जले बाटोमा वन्यजन्तुको क्रियाकलाप अवलोकन गर्न ठूल्ठूला मचान बनाएको छ।

.ठोरी गाउँपालिका आठघरे गाउँसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जको भाग।

पर्सा निकुञ्ज, मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा वन्यजन्तु संरक्षणमा लागेजस्तै बाल्मीकी टाइगर रिर्जभ, वन क्षेत्र नजिकैका स्थानीय पनि वन्यजन्तुको संरक्षणमा जुटेका छन्। विनवली गाउँका स्थानीय जैविक विविधताप्रति सचेत हुँदै गएका छन्। उनीहरुले ९५ भन्दा धेरै जैविक विकास समितिमार्फत् वन र वन्यजन्तुको संरक्षणमा सहभागीता जनाइरहेको बताए।

विनवली गाउँका सञ्जय कुमारले अघिल्लो वर्ष चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर ल्याएको १० वटा गैंडाको उद्दारमा सहयोग गरेको बताए। पहिला पहिला जनावर गाउँमा पस्दा त्यसलाई मार्ने, तर्साउने, लखेट्न प्रवृति अहिले परिवर्तन भएको उनीहरुले महसुस गरेका छन्। यसले बन्यजन्तु र बाघ संरक्षणमा धेरै सुधार आएको उनले बताए।
विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो।

विश्वका १३ देशमा पाइने पाटे बाघको संख्या ३ हजार ८ सय ९० छ। राष्ट्रिय संरक्षण दिवसका अवसरमा सार्वजनिक भएको प्रतिवेदनअनुसार नेपालमा बाघको संख्या २ सय ३५ छ। सन् २०१३ मा भएको गणना अनुसार नेपालमा १९८ वटा पाटे बाघको संख्या थियो।

भारतको बाल्मीकी टाइगर रिजर्वमा बाघ र अन्य वन्यजन्तुको गतिविधि बुझ्न र गस्ती बनाइएको घर।
Facebook Comments