सुनकोशी दाेहनले र्‍याफ्टिङको दूरी घट्दै

सिन्धुपाल्चोक–भोटेकोशी र सुनकोशी नदीबाट जथाभावी रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा पानी धमिलो हुने क्रम बढ्न थालेपछि जलयात्रा (र्‍याफ्टिङ) का पर्यटक घट्न थालेका छन्।

सुनकाेशीबाट नदीजन्य पदार्थ उत्खनन् गरिँदै । तस्बिर : अमिष रेग्मी।

साहसिक जलयात्राका लागि आकर्षकको केन्द्रविन्दु रहेको – भोटेकोसी र सुनकोसीमा वार्षिक ८५ हजार पर्यटक आउने गरेकोमा पछिल्लो समय नदीजन्य पदार्थको जथाभावी उत्खननका कारण जलयात्राको दूरी नै घटेको छ।

सिन्धु पर्यटन व्यावसायी संघका अध्यक्ष नारायण श्रेष्ठका अनुसार सुनकोसीको नयाँपुलदेखि दोलाघाटसम्म करीब ४० किलोमिटरमा जलयात्रा हुन्थ्यो। तर, पछिल्लो समय नदीजन्य पदार्थको जथाभावी उत्खननले धार नै परिवर्तन परिर्वतन गर्दा जलयात्रा खाडीचौरदेखि दोलाघाट (१५ किलोमिटर) मा खुम्चिएको उनी बताउँछन्।

उनी भन्छन्, ‘मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन हुँदा नदीको पानी सधैं धमिलो हुने गरेको छ। बालुवा उत्खनन गर्न जथाभावी ठाउँबाट नदीमा डोजर र स्क्याभेटर लग्दा भु–क्षयको समस्या बढिरहेको छ।’

 २०७१ सालमा आएको बाढीपहिरोका कारण जिल्लाको जुरेमा पहिरो जाँदा सुुनकोसी थुनिएको थियो । उक्त घटनापछि सरकारले सुनकोसी नदीको दोहन रोक्न जिल्ला प्रशासन र तत्कालीन जिल्ला समन्वय समितिलाई निर्देशन दिएपनि अवस्था फेरिएको छैन ।

योसँगै नदीमा फोहोरमैला मिसाउने, सीधैं ढल मिसाउने क्रम बढ्दै गएपछि नदीमा प्रदूषण बढेको र जलयात्रा पर्यटनमा नोक्सान पुर्‍याइरहेको श्रेष्ठले बताए। सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

Facebook Comments