पत्रपत्रिकामा आज : अस्तव्यस्त सडक विकासको बाधक, कुहिने फाेहाेर महानगरले खरिद गर्ने

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।

कान्तिपुर
–आजको कान्तिपुरमा त्रिविको जग्गा मिचेर… शिर्षकमा मकर श्रेष्ठको समाचार छापिएको छ । त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यालयको जग्गा अतिक्रमण गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने ।

यसको अभियन्ता थिए, नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसमेत गराउन चाहेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठूला गाडीचल्छन् । विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारका लागि निर्माणाधीन भवनको पछाडिपट्टि जग्गा मिचेर बाटो बनाइएको हो । त्रिविको जग्गामा बाटो बनाएपछि व्यक्तिगत जग्गा चर्को मूल्य लिएर भाडामा लगाउन र व्यापारिक भवन बनाउन थालिएको छ । बाटो खोलेसँगै घरको कोठासमेत भत्काएर सटर राख्ने क्रम बढेको छ ।

त्यस्तै सुनकाेसी र इन्द्रावतीमा दाेहन शिर्षकमा समाचार छापिएकाे छ । सुनकाेसी  किनारामै लस्कर छन् एडभेन्चर रिसाेर्ट । रिसाेर्टकै अासपासमा एक्साभेटरले नदीजन्य पदार्थ निकालिरहेकाे समाचारमा उल्लेख छ ।

त्यसैगरी कान्तिपुरमै कुहिने फाेहाेर महानगरले खरिद गर्ने शिर्षकमा अर्काे समाचार छापिएकाे छ । ललितपुर महानगरले कुहिने फाेहाेर खरिद गर्ने समाचारमा उल्लेख छ।

नागरिक
–आजको नागरिकमा अस्तव्यस्त सडक विकासको बाधक शिर्षकमा महेशकुमार दासको समाचार छापिएको छ । जिल्लाका सडकहरू अस्तव्यस्त भएपछि महोत्तरी विकासमा पछाडि पर्दै गएको छ। जिल्लाका भिटामोड–जलेश्वर–जनकपुर सडक, जलेश्वर–बर्दिबास सडक, जलेश्वर–हर्दी सडक, जलेश्वर–मटिहानी सडकलगायत अधिकांश सडक सञ्जाल वर्षौंदेखि अस्तव्यस्त हुँदा विकासको ढोका खुल्न नसकेको जिल्लावासीहरू बताउँछन्।

त्यस्तै खोइ चार्जिङ स्टेसन? शिर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ । मन्त्रिपरिषद्को गत पुस ९ गतेको बैठकले काठमाडौं उपत्यकामा गुडाउन तीन सय विद्युतीय बस खरिद गर्ने निर्णय गर्यो। सरकारले उपत्यकामा ट्राफिक जाम र प्रदूषण नियन्त्रण गर्न विद्युतीय बस खरिद निर्णय गरे पनि अझैसम्म विद्युतीय सवारीसाधनको लागि आवश्यक पर्ने चार्जिङ स्टेसन तयार हुन सकेको छैन।

सरकारले आवश्यक तयारीबिनै विद्युतीय सवारीसाधन भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ। तर, काठमाडौं उपत्यकामा सरकारी तवरको अझैसम्म व्यवस्थित चार्जिङ स्टेसन अहिलेसम्म खुल्न सकेका छैनन्। काठमाडौं उपत्यकामा अहिले साझा यातायात प्रालिको कार्यालय पुल्चोकमा मात्रै चार्जिङ स्टेसन छ। राष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगमा चार्जिङ स्टेसन भए पनि त्यो सर्वधारणको पहुँचबाहिर छ। नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा रहेको एक मात्रै चार्जिङ स्टेसन पनि नियमित छैन।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु शिर्षकमा टेकराज थामीको समाचार छापिएको छ । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिकाआसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।

Facebook Comments