भकुण्डेबेँसीका इँटा उद्योग असारभित्र बन्द गरिने

काठमाडौं–काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सञ्चालित इँटा उद्योगहरू आगामी२०७६ असारभित्र बन्द गरिने भएको छ।

नगरपालिकाले यसअघि गत ३० कात्तिकमा सार्वजनिक सूचना जारी गरेर नगरभित्रका ८ वटै इँटा उद्योग बन्द गर्न र जग्गादातालाई पनि जग्गा उपलब्ध नगराउन निर्देशन दिएकाे थियो। तर, इँटा उद्योगीहरूले नगरपालिकाको निर्देशनको अवज्ञा गर्दै इँटा उद्याेग सञ्चालन गर्दै आएकोमा नगरपालिका र इँटा व्यवसायीबीच शनिबार धुलिखेलमा भएको छलफलले इँटा उद्योग बन्द गर्ने ८ बुँदे सम्झौता गरेको हो।

इँटा उद्योगले नगरको वातावरण प्रदूषण बढाएको त्यसबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको निस्कर्षसहित इँटा उद्योग बन्द गर्ने सहमति भएको नमोबुद्ध नगरपालिका मेयर टंकप्रसाद शर्मा तिमल्सिनाले बताए। इँटा उद्योग हटाउने लामो समयदेखिको पहलले हाल आएर सार्थकता पाएको उनकाे भनाइ छ।

काभ्रे इँटा व्यवसायी संघका अध्यक्ष जीतेन्द्र खैमलीले नगरपालिकाको निर्णयलाई कार्यान्वयन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताए। गत वैशाखमा वातावरण विभाग र नमोबुद्ध नगरपालिकाको संयुक्त अध्ययन, अनुगमन टोलीले नमोबुद्धमा सञ्चालित इँटा उद्योग मापदण्ड विपरित भएको निष्कर्ष निकालेको थियो।

नगरभित्र शिवशक्ति इँटा उद्योग, आरती इँटा उद्योग, पिके इँटा उद्योग, भैरवकुण्ड इँटा उद्योग, फुलबारी इँटा उद्योग, आरके इँटा उद्योग, सत्यनारायण इँटा उद्योग र जय शिवशक्ति इँटा उद्योग सञ्चालनमा छन्।

औद्योगिक क्षेत्र सञ्चालन ऐन २०५९ अनुसार इँटा उद्योग मानवबस्ती, विद्यालय र वन क्षेत्रभन्दा ५०० मिटर टाढा सञ्चालन गर्न पाइने प्रावधान छ। उद्योग मन्त्रालयको कार्यविधि २०७२ अनुसार बस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्छ।

के छ सम्झौतामा
–हाल सञ्चालित इँटा उद्योग २०७६ साल असार मसान्तभित्रमा उत्पादित इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाइ बन्द गर्ने।

–नगरपालिकासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नवीनतम वातावरणमैत्री प्रविधिअनुरुप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने।

– हाल उत्पादित इँटा नगर बासिन्दा भूकम्पपीडित लाभग्राहीका लागि सम्बन्धित वडाको सिफारिसमा व्यवसायीले तोकेको मूल्यमा प्रतिइँटा तीनको दरले ६ हजार इँटासम्म छुट दिनुपर्ने।

–इँटा उद्योग आसपासमा रहेको सोती खोला करिडोरको ट्रयाक खोल्न करिडोरको मापदण्ड क्षेत्रभित्र पर्ने संरचना र सामग्री हटाउनुपर्ने

-सहमति परिपालनाको सन्दर्भमा छुट्टै समिति गठन गरी अनुगमन गर्ने।

–यदि तोकिएको समयभित्र हटाउने प्रक्रिया शुरु नगरेमा नगरपालिका आफैँले हटाउने र सोको लागि लागेको खर्च इँटा उद्योग व्यवसायीले व्यहोर्नुपर्ने।

–इँटा उद्योग सञ्चालनमा प्रयोग गरिएको जग्गालाई साँध सिमाना यकिन गरी खेतीयोग्य बनाई जग्गाधनीलाई उपलब्ध गराउनुपर्ने।

–उल्लेखित बुँदा यसै करारबमोजिम र उल्लेख नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन, २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुनेछ।

Facebook Comments