एक वर्षमा संरक्षित क्षेत्रका ३ सय ९१ वन्यजन्युको मृत्यु

काठमाडौं– नेपालका ११ वटा संरक्षित क्षेत्रका २५ भन्दाबढी प्रजातिका ३ सय ९१ वटा वन्यजन्तुको मृत्यु भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गत आर्थिक वर्ष २०७४-०७५ मा ३ सय ९१ वटा वन्यजन्तुको मृत्यु भएको हो।

उक्त अवधिमा १ सय १ वटा कृष्णसार, ८२ वटा चित्तल, ३० वटा गैँडा, ११ वटा अर्ना, ११ वटा चितुवा, ८ वटा बाघ, ४ वटा हात्ती र ६ वटा जरायोको ज्यान गएको हो। यस अवधिमा सबैभन्दा धेरै कृष्णसार संरक्षित क्षेत्र ९३ र बाँके राष्ट्रिय निकुञ्जमा ९१ वटा वन्यजन्तुको मुत्यु भएको तथ्यांक छ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा,अर्नासहित ५९ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा,बाघ, हात्तीसहित ७१, पर्सा राष्ट्रिय निकुञ्जमा चितुवा, बँदेलसहित ११, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसार, चित्तलसहित २४ वटा वन्यजन्युको मृत्यु भएको विभागको तथ्यांक छ।

त्यसैगरी रारा राष्ट्रिय निकुञ्जमा हाब्रेसहित ३, कोशीटप्पु आरक्षमा अर्ना हात्तीसहित २२, मकालु वरुण राष्ट्रिय निकुञ्जमा २ र सगरमाथा राष्ट्रिय निकुञ्जमा ४ वटा वन्यजन्तुको मुत्यु भएको छ। आर्थिक वर्ष २०७३-०७४ मा विभिन्न संरक्षित क्षेत्रमा कुल ३ सय २६ वटा वन्यजन्तुको मुत्यु भएको थियो।

त्यस्तै सो अवधिमा सडक दुर्घटनामा परी सबैभन्दा बढी वन्यजन्तुको मुत्यु भएको विभागको तथ्यांक छ। विभिन्न निकुञ्ज तथा संरक्षित क्षेत्रका राजमार्गमा सवारीसाधनले किच्दा वा ठक्कर दिँदा १ सय २४ वटा अर्थात् ३४ प्रतिशत वन्यजन्तुको मुत्यु भएको छ।

कुकुर, हुँडार, चिलको टोकाइबाट ४८ (१२ प्रतिशत) वटा, चितुवाको टोकाइबाट ४४ (१३ प्रतिशत) वटा, बाढी, घोलमा डुबेर २७ (७ प्रतिशत) वटा, एक आपसमा जुधेर २१ (५ प्रतिशत) वटा, उपचारको क्रममा १३ (३ प्रतिशत) वटा, बाघको आक्रमणबाट ८ वटा जनावरको मृत्यु भएको थियो भने प्राकृतिक कारणले ५७ (१५ प्रतिशत) वटा वन्यजन्तुको मुत्यु भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ का उपदफा (२) मा संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

त्यस्तै, संरक्षित वन्यजन्तु बाहेक अन्य वन्यजन्तु मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ सम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था रहेको छ।

Facebook Comments