२१औँ भूकम्प सुरक्षा दिवसको नारा तय

काठमाडाैं–माघ २ गते परेकाे २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको नारा ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकारः पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ तय गरिएको छ।

गृह मन्त्रालयमा बसेको मूल समारोह समितिले यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस ललितपुर महानगरपालिकास्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अडिटोरियम (बृहस्पती सदन) मा आयोजना गर्ने निर्णय गरेको हो।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अथिति रहनेछन्, भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका मन्त्रीहरूको सहभागीता रहनेछ। मूल समारोह समितिको बैठकले दिवस मनाउन आवश्यक कार्य विभाजन र कार्यक्रमहरू समेत तय गरेको छ। भूकम्प सुरक्षा दिवस मनाउन व्यवस्थापन उपसमितिको संयोजक ललितपुर महानगरपालिकालाई तोकिएको छ।

गृह मन्त्रालयका शाखा अधिकृत कविता शर्माका अनुसार सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ। उनका अनुसार २१ औं भूकम्प सुरक्षा दिवसको नारासहितको पोष्टर मुलुकभरका निजी, सामुदायिक तथा सरकारी विद्यालयमा पठाउन शिक्षा तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको छ। प्रदेशस्तरमा विभिन्न कार्यक्रम आयोजना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्राचार गरिने जनाइएको छ।

यसैगरी, ७७ वटै जिल्ला प्रशासन कार्यालाई भूकम्प सुरक्षा दिवस मार्गदर्शन , २०७१ अनुसार भूकम्प सुरक्षा दिवस, २०७५ मनाउन गृहमन्त्रालयमार्फत् पत्राचार गरिनेछ। र, कार्यक्रम सञ्चालनका लागि हरेक प्रशासन कार्यालयलाई १५ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिलाई कार्यक्रमका लागि गृहमन्त्रालयबाट ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको शाखा अधिकृत शर्माले जानकारी दिइन्।

Facebook Comments