पत्रपत्रिकामा आज : चिसोले कालोपत्रे गर्ने काम रोकियो

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नागरिक
– आजको नागरिकमा वडा कार्यालयका लागि दुई करोडको जग्गा दान शिर्षकमा समाचार छापिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकाको वडा नं. ९ को कार्यालय स्थापनाका लागि एक परिवारले पाँच कठ्ठा जग्गा दान गरेको छ। वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापनाका लागि स्थानीय नरेन्द्रकुमारी खत्री (केसी)को परिवारले उक्त जग्गा निःशुल्क उपलब्ध गराएको हो।

बुधबार आयोजित एक समारोहका बीच केसी परिवारले हरिवन नगरपालिकाको नाममा जग्गा पास गरेको लालपुर्जा मेयर गणेश प्रसाईंलाई हस्तान्तरण गरेको छ। स्वर्गीय नैनबहादुर खत्रीको स्मृतिमा उनकी पत्नी नरेन्द्रकुमारी, बुहारी शुभद्रा केसी, छोराहरू डा। भोगेन्द्र केसी, टोलगेन्द्र केसी, वेदगेन्द्रबहादुर केसी लगायतले सगोलको अंशबाट नयाँरोड बजारस्थित उक्त जग्गा नगरपालिकालाई दान गरेका हुन्। चलन चल्तीको मूल्यअनुसार दुई करोडभन्दा बढीको जग्गा रहेको नगरपालिकाले जनाएको छ।

त्यस्तै नयाँ विद्यालय भवन बनेपछि विद्यार्थी खुसी शिर्षकमा मञ्जु उप्रेतीको समाचार छापिएको छ । जिल्लाको दुर्गम गाउँ दोरम्बा गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेका दुई विद्यालयका लागि सुविधासम्पन्न भवन बनेका छन्। नवनिर्मित उक्त दुई भवन बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलले उद्घाटन गर्दै सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन्।

कान्तिपुर
– आजको कान्तिपुरमा चिसोले कालोपत्रे गर्ने काम रोकियो शिर्षकमा प्रताव विष्ठको समाचार छापिएको छ । तीव्रगतिमा निर्माण भइरहेको धरान चतरा हेटौँडा सडकको कालोपत्रे गर्न समस्या हुँदा काम रोकिएको छ।

चिसोले पिच गर्न समस्या हुने भएकाले २ साताको निम्ति कालोपत्रे गर्ने कार्य रोकिएको छ। धरान चतरा हेटौँडा सडकको पश्चिमी क्षेत्रका आयोजना प्रमुख कर्णबहादुर रानाभाटले भने, कालोपत्रे गर्नका लागि कम्तीमा १६ डिग्री तापक्रम हुनुपर्छ, त्योभन्दा कम भएपछि पिच गर्न हुँदैन

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा सडक नबन्दा सुस्ताउँदै होमस्टे भरत खड्काको शिर्षकमा समाचार छापिएको छ। उदयपुरको प्रमुख पर्यटकीय क्षेत्र रौतापोखरीमा पर्यटक स्वागतका लागि होमेस्टे तयार भए पनि सडकको स्तरोन्नति नहुँदा सञ्चालनमा समस्या भएको छ। सडकका कारण सिंगो होमस्टे व्यवसाय नै सुस्ताएको हो। जिल्लाकै ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको रौतापोखरीलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ गुयोजना निर्माण गरे पनि सडक स्तरोन्नति हुन नसक्दा पर्याप्त पर्यटक भित्रन सकेका छैनन्।

रौतामाई गाउँपालिका–६ स्थित पोखरी व्यवस्थित गर्न पर्यटकलाई सहज तरिकाले र सुलभ ढंगबाट राख्न गाउँपालिकाले स्थानीयलाई प्रोत्साहन गर्दै होमेस्टे सञ्चालनमा ल्याएको थियो। पोखरी प्रवेशद्वार निकासमा २०७२ सालमा ११ घरपरिवार मिलेर रौतामाई विकास सामुदायिक होमस्टे स्थापना गरी सञ्चालनमा ल्याएका हुन्। तर पर्यटक अभावमा अहिलेसम्म प्रभावकारी ढंगले सञ्चालन हुन सकिरहेको छैन। सडकको समस्याले आन्तरिक पर्यटक पनि कम आउने गरेको होमस्टे सञ्चालक समितिका अध्यक्ष जितशेर राईले बताए। रौतापोखरी गाईघाटदेखि ४४ किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्छ।

Facebook Comments