कैलाली-कञ्चनपुरलाई आर्सेनिकमुक्त बनाउने अभियान : १८६ खानेपानी आयोजना सञ्चालनमा

धनगढी–कैलाली र कञ्जनपुरमा आर्सेनिकमुक्त खानेपानी पुर्‍याउन १ सय ८६ वटा खानेपानी आयोजना सञ्चालनमा रहेको सुदूरपश्चिम प्रदेश अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ।

आर्थिक वर्ष २०६६-६७ देखि सञ्ञ्चालनमा रहेका ठूला तथा साना खानेपानी आयोजना सञ्चालनकै क्रममा रहेका छन्।

डिभिजन कार्यालयका अनुसार उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी आयोजना अन्तर्गत कैलालीमा ३५ वटा र कञ्चनपुरमा २७ वटा खानेपानी आयोजना सञ्चालनमा रहेको छ।

६२ वटा आयोजना सञ्चानलका लागि चालु आर्थिक वर्ष २०७५-७६ मा ११ करोड ५३ लाख बजेट विनियोजन गरिएको डिभिजन प्रमुख मोहनबहादुर कुँवरले बताए। हालसम्म यो आयोजनामा २८ करोड खर्च भएको कुँवरले बताए।

यी आयोजना सम्पन्न भएपछि ३ लाख ९८ हजार ८ सय जनसङ्ख्या लाभान्वित हुने उनी बताउँछन्।

त्यसैगरी, तराई–मधेस खानेपानी कार्यक्रम अन्तर्गत कैलालीमा ५७ र कञ्चनपुरमा ४६ गरी १ सय  ३ खानेपानी आयोजना सञ्चालनमा छन्। यसका लागि चालु आर्थिक वर्षमा १८ करोड ९० लाख बजेट विनियोजन गरिएको प्रमुख कुँवरले बताए। हालसम्म यसका लागि ५६ करोड बजेट खर्च भैसकेको छ।

यस आयोजना सम्पन्नपछि ४ लाख १ हजार ७ सय जनसङ्ख्या लाभान्वित हुने कार्यालयले जनाएको छ। क्रमागत सञ्चालनमा रहेका ६२ आयोजनाका लागि ४ अर्ब र १०३ आयोजना सम्पन्नसम्म ६ अर्ब बजेट लाग्ने अनुमान गरेको प्रमुख कुँवरले बताए।

त्यस्तै, उनले चालु आर्थिक वर्षमा प्रदेश अन्तर्गत कैलाली कञ्चनपुरमा नयाँ २१ वटा खानेपानी सञ्चालनको तयारीमा रहेको बताए। यसका लागि ७ करोड बजेट विनियोजन गरिएको छ।

यी कार्यक्रम सम्पन्नपछि सबै जनताले आर्सेनिकरहित पिउने पानी उपभोग गर्ने पाउने प्रमुख कुँवले बताए। ‘जनतालाई आर्सेनिकरहित खानेपानी पुर्‍याउने लक्ष्यसहित यी खानेपानी आयोजना सञ्चालनमा छन्,’ उनले भने।

सन् २०१७ सम्म आम नागरिकलाई खानेपानी प्रत्याभूत गर्ने घोषणा गरे पनि अहिलेसम्म खानेपानीमा ८७ प्रतिशत सफलता प्राप्त भएको खानेपानी तथा ढल निकास विभागको तथ्यांक  छ।

विभागले सन् २०१९ सम्ममा १३ प्रतिशत जनसङ्ख्यालाई खानेपानीको पहुँचमा ल्याउने लक्ष्य लिएको छ।

खानेपानीको पहुँच नहुँदा अधिकांश गाउँ बस्तीहरूमा बसोबास गर्ने सर्वसाधारणको आर्सेनिक मिसिएको प्रदूषित पानी खान बाध्य छन्। संविधानले धारा ३५ (४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ।

Facebook Comments