जनप्रतिनिधि भन्छन्, ‘ढुंगा, बालुवा उत्खनन् वातावरणमैत्री बनाउँछौँ’ महाकाली नदी उत्खनन्

कञ्चनपुर–महाकाली नदीसँग अनेकन कथा जोडिएका छन्। योसँगै जोडिएका छन्, महाकाली वरीपरिका नेपालीका पीडाव्यथाहरू। किनाराका नेपालीले पीडा पाउन वर्षा नै कुर्नुपर्दैन बस्, चर्काे घाम लागेर हिँउ पग्लिए पुग्छ। महाकाली कालो भएर उर्लिन्छ, नेपालीका घरआँगन चाहार्दै। अनि त, वैशाख, जेठमै पनि कतिपयको उठिबास हुन्छ। यस्ता धेरै कथा र व्यथा छन् महाकालीसँग।

तर, यो मौसममा सबै जना मानिसहरु त्यही महाकालीको बगरमा व्यस्त छन्। मानिसहरु महाकालीको बगर खोस्रीरहेका छन्। जहाँबाट उनीहरु बालुवा, रोडा, अनि ढुङ्गाहरु बटुल्छन्। अनि त्यो पैसासँग साटिन्छ। हो, महाकालीले वर्षको तीन–चार महिना जतिधेरै पीडा दिन्छ, त्यत्तिकै यो मौसममा आम्दानी पनि दिन्छ।

भारतीय बाँधका कारण पीडा खेप्दै आएका महाकाली किनाराका मानिसहरु भने यो मौसममा खुसी हुन्छन्। यति बेला महाकाली बगरभरि मानिसहरुको भीडभाड गज्जबको देखिन्छ । सबैजसो पानी भारतले आफ्नो नहरमा खन्याएको छ । अनि थोरैमात्रै पानी बोकेर कतै कतैमात्रै बगिरहेको छ महाकाली, ट्याक्टर अनि ट्रकहरुले उडाएको धुलोमुनि, कतै छोपिएर।

महाकाली नदीमा भइरहेको बालुवा, गिट्टी अनि ढुंगाको उत्खनन्लाई कसरी वातावरणमैत्री बनाउन सकिन्छ ? भनेर नेपाल वातावरण पत्रकार समूहले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा ‘पानी छलफल’ कार्यक्रम गरेको छ। महाकालीका दुई किनारामा एकातिर भीमदत्त नगरपालिका छ भने, अर्काेतिर महाकाली नगरपालिका। यी दुबै किनारामा अहिले मानिसहरुको भीड उस्तै छ, बालुवा चाल्ने, ढुङ्गा रोडा छुट्याउनेहरुको।

यस्ता नदीजन्य पदार्थ उत्खनन्का लागि भीमदत्त नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन पनि तयार गरेको छ। तर, महाकाली नगरपालिकाले भने अहिलेसम्म त्यस्तो कुनै पनि प्रतिवेदन बनाइसकेको छैन।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको पानी छलफल कार्यक्रममा महाकाली नगरपालिकाका मेयर, उपमेयर तथा वडाअध्यक्षहरुले चाँडै नै आईईई प्रतिवेदन तयार गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘हामीले वर्षाैंदेखि महाकालीको ढुङ्गा, गिट्टी, बालुवाहरु झिकिरहेको कुरा सत्य नै हो तर, हामीसँग कुनै आइडिया भएन त्यसका लागि के के गर्नुपर्छ भनेर’ महाकाली नगरपालिकाका मेयर बीरबहादुर सुनारले भने, ‘अब हामीले भीमदत्त नगरपालिकासँग पनि कुरा गरिरहेका छौँ चाँडै नै अब कन्सल्टेन्ट झिकाएर हामी वातावरणको परीक्षण गर्नेछौँ।’

उनका अनुसार नदी किनारा तथा संवेदनशील क्षेत्रहरु जस्तो कि, तटबन्ध, नदीले धेरै कटान गरेको ठाउँ तथा पुल वरिपरिबाट २ सय मीटरभित्रको क्षेत्रमा भने त्यस्तो उत्खनन्मा रोक लगाइएको छ। मानिसहरुले त्यहाँबाट बालुवा तथा ढुङ्गा नझिकून् भनेर २ सय मीटरको वरपर झन्डा गाडिएको हुन्छ। तर, त्यहाँ न कुनै अनुगमन छ, न कुनै कर्मचारी खटाइएको छ। मानिसहरु भने ती झन्डा उखेलेर आफूलाई ‘पायक’ पर्ने ठाउँमा लगेर राखिदिन्छन् । मेयर सुनारले अब नगरपालिकाले नियमित अनुगमन गर्ने पनि प्रतिवद्धता गरे।

पानी छलफल कार्यक्रममा महाकाली नगरपालिका वडा नं. ७ का अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले आफूहरुलाई त्यत्तिधेरै वातावरणीय ज्ञान र अनुभव नभएको हुँदा विज्ञ तथा वातावरणीय क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको सहयोगको अपेक्षा गरे। ‘हामीलाई पनि लागेको छ, यो महाकालीले सधै दुःखमात्रै दिन्छ अहिले त मानिसहरुले आम्दानी पनि गरिरहेका छन् तर, यसो गर्दा फेरि अर्काे विपत् आइपर्ने हो कि भन्ने चिन्ता पनि छ,’ उनले भने।

महाकाली नगरपालिका क्षेत्रतिर पर्ने महाकाली किनाराको खासगरी वडा नं. १ र ४को किनारामा धेरै नदीजन्य वस्तु उत्खनन् हुन्छ। यहाँ उत्खनन् गर्ने कुनै वैज्ञानिक तरिका छैन। नाप, जोख केही छैन। मानिसहरु आआफ्नै तरिकाले खनीखोस्री गर्छन्। बालुवा, ढुङ्गा झिक्छन् र आआफ्नै तरिकाले बेच्छन्। कुनै एउटा मूल्य छैन। जसले जतिमा सक्यो त्यत्तिमै बेच्छन्।

आजभोलि महाकाली किनारा त्यस्तै कुनै तरकारीको हाट बजारजस्तै लाग्छ तर, त्यो बालुवा, गिट्टीको बजार हो । कति गहिरोसम्म बालुवा झिक्ने ? स्थानीयको एउटै जवाफ हुन्छ, ‘जबसम्म पानी निस्किदैँन ।’ तर, नदीको बगर हो, कतै १ मीटर गहिराइमै पानी निस्किन्छ कतै मान्छे नै डुबाउने खाडल पनि छन्।

महाकाली नगरपालिका वडा नं. १ की बिमला बोहरा पनि पानी छलफलमा आएकी थिइन्। उनले त्यो महाकाली किनारबाट बालुवा अनि रोडाहरु झिक्न थालेको ६, ७ वर्ष भयो। किनारातिर २ मीटर पर्नेगरी झन्डा गाडिएको छ। त्यहाँबाट उनले बालुवा झिक्दिनन्। उनले बालुवा अनि रोडाहरु खोज्ने नदी किनाराको निश्चित क्षेत्रफल छ। आमा छोरी मिलेर उनीहरुले एक सिजन(नौ महिना)मा कम्तीमा दुई लाख जति कमाउछन्, बालुवा, ढुङ्गा बेचेर । ‘कहिलेकाहीँ वडाअध्यक्षहरु जानुहुन्छ तटबन्धको नजिकमा नझिक्नु भन्नुहुन्छ नत्र कोही आउँदैनन् हेर्न’ बोहराको अनुभव छ ‘रेट पनि छैन जसलाई जतिमा मन लाग्यो त्यत्तिमा बेच्ने हो । हामी धेरै गहिरो खन्दैनौँ एक मीटरजति होला ।’

उनीसँगै आएकी सीतादेवी सिंहको अनुभव पनि त्यस्तै छ । उनका अनुसार बाहिर गाउँहरुबाट पनि यो सिजनमा मानिसहरु बालुवा झिक्न आउँछन् । उनीहरु खोलामै त्रिपालको झुपडी हालेर बसेका हुन्छन् । नदी किनाराभरि अहिले यस्ता अस्थायी झुपडीहरु बाक्लै देख्न सकिन्छ । ‘हामी त १ मीटरभन्दा धेरै खन्दैनौँ, पानी निस्किहाल्छ, बाहिरबाट आएकाहरुले गहिरोगरी खन्छन्’ सिहंले भनिन् ‘धेरै गहिरो खाडल भयो भने पनि निकाल्न गाह्रो हुन्छ ।’ उनका अनुसार खनिखोस्री त्यसलाई फेरि टाउकोमा बोकेर चाल्ने ठाउँसम्म लैजानुपर्छ । गहिरो खाडल भयो भने टाउकोमा राख्न पनि कठिन हुन्छ । त्यसैले सकेसम्म उनीहरु कम गहिराइबाटै बालुवा झिक्छन् अनि रोडाहरु अलग्याउँछन्।

महाकाली वडा नं. ४ का वडा अध्यक्ष भक्तबहादुर सुनारका अनुसार नगरपालिकाले बाँध, तटबन्ध तथा पुल वरिपरिको करिब २ सय मीटर क्षेत्रभित्रबाट बालुवा, ढुङ्गा झिक्न नदिने निर्णय गरेको छ । त्यहीअनुसार त्यहाँ बालुवा संकलन गर्नेहरुलाई पनि सम्झाइएको छ । तर, कहिलेकाहीँ कसैकसैले तटबन्ध नजिकैबाट पनि उठाउने गरेका छन्।

त्यो उनीहरु सबैले देखिरहेका छन्, नगरपालिकालाई पनि थाहा नभएको होइन। तर, कारबाही भने हुन सकेको छैन किनकि नगरपालिकासँग त्यसको कारबाही प्रक्रियाबारे स्पष्ट कुनै कानुन नै छैन । ‘हामीले रेखदेख त गरिरहेका हुन्छौँ तर, हाम्रो आँखा छलेर त्यताबाट पनि बालुवा, गिट्टीहरु निकाल्ने काम भएका छन्,’ उनले भने ‘हामीले कारबाही पनि गर्न सकेका छैनौँ, हामीसँग नियमकानुन पनि भएका कारण होला । कारबाही भएको भए अलि कम हुन्थ्यो कि, अब भने हामीले अझैँ कडाइ गरेर अनुगमन गर्नेछौँ ।’

वडा नं ८ का वडाअध्यक्ष ओमप्रकाश रोकायाले पनि महाकालीबाट हुने क्षतिका बारेमा आफूहरु निकै चिन्तित रहेको बताए। उनले सकेसम्म किनाराबाट बालुवा तथा ढुङ्गाहरु झिक्न नदिने प्रतिवद्धता गरे।  महाकाली नदीमा नदीजन्य वस्तुको उत्खनन्का बारेमा यहाँको एउटा गैरसरकारी संस्थाले पनि अध्ययन गरिरहेको छ।

लामो समयदेखि कञ्चनपुर जिल्लामा रहेर वातावरणको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था नीड्स नेपालले गरेको एक प्रारम्भीक सर्वेक्षण अनुसार भीमदत्तले बनाएको वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार पनि काम भएका छैनन्। नीड्सका पानी परियोजना संयोजक इश्वर उपाध्यायका अनुसार महाकाली नगरपालिकाले वातावरणीय परीक्षण प्रतिवेदन नै बनाएको छैन भने भीमदत्तले बनाए पनि त्यसको पालना भएको छैन।

‘धेरै महिलाहरुले बालुवा संकलन गर्ने काम गर्छन्, उनीहरुको स्वास्थ्यमा ध्यान दिइएको छैन, अनुगमनको नियमितता पनि छैन,’ उनले भने ‘सुरक्षाका कुराहरु पनि छन्। पानीबाटै ढुङ्गाहरु झिकिन्छन् अनि त्यसले गर्दा माछालगायत अन्य जलचरहरुको वासस्थानमा समेत असर पुगेको छ।’ उनका अनुसार चाँडैले नीड्सले अध्ययन प्रतिवेदन सार्वजनिक गर्नेछ र, दुबै नगरपालिकाहरुसँग मिलेर उसले नदी उत्खनन्का लागि एउटा मार्ग निर्देशिका पनि तयार पार्नेछ । त्यसले गर्दा उत्खनन्का लागि केही सजिलो हुनेछ ।

पानी छलफल कार्यक्रममा निम्न बमोजिम प्रतिवद्धताहरु पारित भएका छन्ः

१. नदीजन्य वस्तु उत्खनन् गर्न क्रममा महाकाली नगरपालिकाले प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने ।

२. नदीजन्य वस्तु उत्खनन् के कसरी भइरहेको छ भन्नेबारे नगरपालिकाले नियमित अनुगमन गर्ने

३. वातावरणमैत्री उत्खनन्का लागि स्थानीय(बालुवा, ढुङ्गा, रोडा संकलकहरुलाई चेतनामूलक कार्यक्रम गर्ने

४. स्थानीयले संकलन गरेको ढुङ्गा, गिट्टी, रोडा तथा बालुवाको बिक्रि दररेटमा एकरुपता कामय गर्ने।

Facebook Comments