६ महिनामा ८८ हजारले घुमे चितवन निकुञ्ज

चितवन–चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। चालु आर्थिक वर्षको शुरुकाे ६ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन्।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन्। जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए।

घिमिरेका अनुसार चालु आवमा शुरु छ महीनामा रु १५ करोड एक लाख १५ हजार ७८३ राजश्व सङ्कलन भएको छ । गत आव भरमा रु २३ करोड ७३ लाख ६३ हजार ९६३ राजश्व सङ्कलन भएको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पर्यटक बढेसँगै राजश्व पनि बढेको बताए।  भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटकको सङ्ख्या बढ्दै गएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले नारायणगढ मुग्लिन सडक खण्ड राम्रो भएसँगै पर्यटकको आगमन उत्साहजनक देखिएको बताए।

यस आर्थिक वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको भन्दै उहाँले पर्यटकीय गन्तव्य थप गर्ने विषयमा सरोकारवालाहरू लागि रहेको बताए। निकुञ्जमा दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ, गोही जस्ता जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन्। रासस

Facebook Comments