यात्रु छाडेर विद्यार्थी बोक्छन् सार्वजनिक गाडी

काठमाडौं– उपत्यकामा सञ्चालित कतिपय सार्वजनिक बस तथा मिनीबसले बिहान र बेलुकाको समयमा आफ्नो रूट छाडेर निजी विद्यालय, क्याम्पसका विद्यार्थी ओसार्ने गरेको पाइएको छ।

काठमाडौं उपत्यकामा चल्ने कतिपय बस तथा मिनीबसले यात्रुको बढी चाप हुने समय (बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म) यात्रु बोक्न छाडेर विद्यार्थी बोक्ने गरेका हुन्। विद्यार्थी बोक्ने गाडी पहँलो रंगको गाडी हुनुपर्ने कानूनी व्यवस्था भएपनि यसरी नियमको उल्लंघन हुँदाससम्म यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी मुकदर्शक बनेका छन्।

ती गाडी दिउँसो यात्रु नपाएर लामो समय एउटै बस बिसौनीमा रोकेर बस्छन् भने बिहान र बेलुका सडकमा सार्वजनिक बस कम हुँदा यात्रु मारमा हुन्छन्।

यसरी सार्वजनिक बस तथा मिनीबस विद्यालय प्रयोजनमा जाँदा मुख्यतयाः तीन वटा समस्या देखिने गरेको छ। पहिलो समस्या गाडीका लागि लामो समय कुर्नपर्छ, भने दोस्राे गडिरहेका बाँकी गाडीमा पनि क्षमताभन्दा बढी यात्रु हुन्छन्, जसले दुर्घटना निम्त्याउने उत्तिकै जोखिम हुन्छ। त्यस्तै, विद्यार्थी ओसार्ने गाडी पहेंलो रंगको हनुुपर्ने व्यवस्था भएपनि सार्वजनिक गाडी प्रयोग हुँदा भैपरी आइलाग्दा विद्यार्थी झन जोखिममा हुन्छन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पनि सार्वजनिक गाडीले विद्यार्थी बोक्ने गरेको स्वीकार गर्छन। महासचिव सिटौला पनि भन्छन्, ‘सार्वजनिक गाडी विद्यार्थी बोक्न प्रयोग नगर्नुपर्ने हो । तर, स्कूलहरूले पनि सार्वजनिक गाडी नै खोज्छन्, पहिलेदेखि नै यही चलिरहेको छ।’

कतिपय जानकारहरूका अनुसार विद्यालयले सार्वजनिक गाडी खोज्नुको मुख्य कारण व्ययभार कम पर्न जानु हो। काठमाडौंको कतिपय विद्यालयले टाढाटाढाबाट विद्यार्थी ल्याउने गरेकोमा यसरी सार्वजनिक गाडी प्रयोग गर्दा निश्चित रकम तिरे पुग्ने भएकाले उनीहरु यसतर्फ आकर्षित भएका हुन्। भने सार्वजनिक गाडीका सञ्चालक पनि निश्चित अवधिमा बढी रकम पाइने भएकाले यात्रु बोक्न छाडेर केही समय विद्यार्थी बोक्न गाडी प्रयोग गर्न लालायित हुन्छन्।

सो विषयलाई पुष्टि गर्दै एक जना बस चालकले भने, ‘रुटमा गाडी चलाउँदा यात्रु कुरिरहनु पर्छ। यात्रु पाइँदैनन् कि भन्ने पीर पनि हुन्छ। तर, विद्यार्थी बोक्दा पैसा पनि राम्रै आउँछ।’ उनी आफ्नो गाडीबाट एक पटक विद्यार्थी बोकेबापत १८ सय देखि २ हजारसम्म रुपैयाँसम्म कमाइ हुने गरेको बताउँछन्।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय सो विषयमा अनुगमन गरेर कारवाही गर्न ट्राफिक प्रहरीलाई पत्राचार गरिने बताउँछन्।

‘यस विषयमा हामीलाई केही पनि उजुरी आएको छैन, त्यसैले अहिलेसम्म यसमा केही कुराहरू भएको छैन,’ उनले भने, ‘स्कूल–कलेजको बसका लागि छुट्टै मापदण्ड बनाइएको छ, त्यसअनुसार नचल्नेलाई कारबाही हुन्छ, हामीले गर्न सक्ने भने कारबाहीका लागि पत्राचार मात्र हो, अरु नीति नियम अनुसार नचल्नेलाई कारबाही गर्ने अन्य निकायहरू छन्।’

Facebook Comments