पत्रपत्रिकामा आज : हिमपातले जनजीवन कष्टकर, मापदण्डविपरीत क्रसर

सोमवार, माघ १४, २०७५

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा चार हिउँद टहरामै शिर्षकमा बलराम घिमिरेको समाचार छापिएको छ । जोखिमयुक्त बस्तीमा परेका भूकम्पपीडितहरूले चार वर्षको जाडो टहरामा बसेर कटाएका छन् । भूकम्प गएको चार वर्ष पुग्न लाग्दा समेत जोखिमयुक्त बस्ती हाकु र डाँडागाउँका भूकम्पपिडित अझै पुनःस्थापित हुन सकेका छैनन् ।

थातथलोमा पहिरो गएपछि आफ्नो पुख्र्यौली गाउँ छाडेर उनीहरू जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला नुवाकोटमा बसोबास गर्दै आएका छन् । धेरैजसो विस्थापित परिवार उत्तरगया गाउँपालिका–५ बोगटीटार र खाल्टेमा बसोबास गर्दै आएका छन् ।

लामो समयदेखि टहरामा बस्दै आएका भूकम्पपीडितको दैनिकी कष्टकर बन्दै गएको छ । खाल्टेमा करिब २ सय ६९ परिवार अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् । केहीले स्वैच्छिक स्थान्तरणमा जानका लागि घडेरीयोग्य जग्गा खरिद गर्न दुई लाख अनुदान लिइसकेका छन् भने केही प्रक्रियामै रहेका छन् । केही परिवार तिरु एकीकृत बस्तीमा जानका लागि तयारी गरिरहेका छन् । बोगटीटारमा करिब सय परिवार रहेका छन् ।

नागरिक
–आजको नागरिकमा हिमपातले जनजीवन कष्टकर शिर्षकमा सन्तोष पोखरेल र सुशीलबाबु थकालीको समाचार छापिएको छ । हिमपात नरोकिएपछि हिमाली जिल्लाको जनजीवन अझै सामान्य बन्न सकेको छैन। कतिपय गाउँ अझै विद्युत् र सञ्चार सेवाबाट प्रभावित छन्। स्थलमार्ग र हवाई सेवा पूर्णतया अवरुद्ध छन्। सडक, विद्युत् र सञ्चार सेवा नियमित गर्ने प्रयास भइरहे पनि हिउँ पर्न नरोकिएकाले झनै चुनौती थपिएको प्रशासनले बताएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी महेन्द्र खड्काका अनुसार पोखराबाट हुने हवाई सेवा तीन दिनदेखि अवरुद्ध छ। तारा एयरलाइन्सले मात्र पोखरा–जोमसोम दैनिक दुई उडान भर्दै आएको थियो। धावनमार्ग हिउँले ढाकिएकाले हवाई सेवा प्रभावित भएको हो। त्यस्तै स्थल यातायात पनि रोकिएको छ। तीन दिनपछि आइतबार बल्ल तीनवटा सवारीसाधन जोमसोमबाट म्याग्दीका लागि छुटेको डिएसपी खड्काले जानकारी दिए।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा मापदण्डविपरीत क्रसर शिर्षकमा राजकरण महतो र छेटु शेर्पाको समाचार छापिएको छ । धनुषामा सरकारी मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन बढ्दै गएको छ। नियामक निकायले अनुगमन नगर्दा यहाँ आठवटा क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ।

गत वर्षसम्म तीनरचारवटा मात्र क्रसर उद्योग सञ्चालनमा भए पनि हाल त्यो संख्या बढेर आठ पुगेको हो। यसरी सञ्चालनमा रहेका क्रसरमा क्षिरेश्वरनाथ नपा–७ मा क्षिरेश्वर बालुवा प्रशोधन उद्योग, मिथिला नपा–९ मा सुमीत क्रसर उद्योग, मिथिलामा जय बजरंग बालुवा प्रशोधन उद्योग र मिथिला नपा–११ बाहुनमारामा क्षिरेश्वर महादेव क्रसर उद्योग छन्।

यसैगरी मिथिला नपा–३ मा औरही बाबा बालुवा प्रशोधन उद्योग, मिथिला नपा ३ मा जगदम्बा बालुवा प्रशोधन उद्योग, गणेशमान चारनाथ नपा–६ तल्लोगोदारमा कमला स्टोन क्रसर उद्योग र गणेशमान चारनाथ नपा–७ लवटोलीमा कमलामाई क्रसर उद्योग गरी आठवटा उद्योग मापदण्डविपरीत सञ्चालनमा छन्।

उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन, क्रसि· र बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि’ २०७५ स्वीकृत गरेर मापदण्ड तोकेको छ। तोकिएको मापदण्ड बिनानै यी आठैवटा उद्योग सञ्चालनमा रहेको अनुगमनमा पाइएको हो। कार्यविधिको अनुसूची–३ अनुसार ढुंगा, गिट्टी, बालुवा, चट्टान, दहत्तर, बहत्तरको उत्खनन र संकलनसम्बन्धी मापदण्ड तोकिएको छ।

Facebook Comments