जलवायुमैत्री कृषि प्रविधिबाट उत्पादनमा वृद्धि

सोमवार, माघ १४, २०७५

दाङ–दाङका कृषकहरूले जलवायुमैत्री कृषि प्रविधिको प्रयोग गरी उत्पादन बढाएका छन्।

उत्पादन क्षेत्रमा रासायनिक मल र विषादीको प्रयोगले लामो समयसम्म असर पुर्याउने भएकाले यहाँका कृषक प्रांगारिक तरिकाले जैविक मलको प्रयोगबाट खेती गरिरहेका हुन्। जसले उत्पादन बढाउनका साथै वातावरण संरक्षणमा टेवा पुर्‍याउने गरेकाे यहाँका कृषक अगुवाहरू बताउँछन्।

विषादीका कारण नेपालमा खेतीयोग्य जमिनकाे उर्बरामा बिस्तारै ह्रास भइरहेकाे कृषि वैज्ञानिकहरूले बताइरहेका बेला दाङका किसानहरूलाई यस्ता कुराहरूबारे जानकारी दिन थालिएको छ।

दाङको राजपुर गाउँपालिका १ कठबेरुवाका किसानले गँड्यौला मल बनाउन सिक्दै छन्। भगवती कृषक समूहका कृषकले दुई फिट गहिराई त्यति नै चौडाइ भएको खाल्डो बनाएर त्यसलाई चिस्यान कायम राख्न भुस, झारपात, गोबर र गँड्यौला राखी त्यसलाई छोप्नका लागि छानो पनि बनाएका छन्

यसरी तयार पारेको मल ४५ देखि ६० दिनमा तयार हुन्छ। गँड्यौला मल अन्य प्रागारिक मल भन्दा मलिलो हुन्छ।

गँड्यौला मलबारे थाहा पाएपछि यहाँ कृषक उत्साहित छन्। ‘अहिलेसम्म गोठे मलनै प्रयोग गर्दौ आएका थियौं। अहिले पहिलो पटक गँड्यौला मल बनाउँदै छौँ,’  भगवती कृषक समूहका सदस्य डोर प्रसाद पालेले भने।

समूहकै सदस्य सीता पोखरेलले तरकारी बालीमा पुगेपछि खेतबारी पनि गँड्यौला मलको प्रयोग गर्ने बताउँछिन्। उनले अब रासायनिक मलको प्रयोग नगर्ने बताइन्।

राजपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णुबहादुर बुढाले आगामी वर्ष गँड्यौला मल बनाउनमा सहयोग गर्ने बताए। त्यसैगरी गढुवा गाउँपालिका–५ धर्मपुर गाउँका कृषकहरूले पनि गँड्यौला मल बनाएका छन्।

पहिला एक्ला–एक्लै खेती गर्ने गरेका उनीहरू आजभोलि सामूहिक रूपमा मलखाद तयार पार्छन्। सृजनशिल कृषक समूह मार्फत उनीहरूले गँड्यौला मल बनाएका छन्। गँड्यौला मल तयार भएपछि उनीहरू अहिले खुसी छन्। गँड्यौला मलको प्रयोग गरी टनेलमा बेमौसमी तरकारी खेती गर्ने उनीहरूको तयारी छ।

सिर्जनशिल कृषक समूहकी सदस्य चम्पा चौधरीले पहिला गँड्यौला मलबारे थाहा नभएको बताइन्। ‘पहिला गँड्यौला मलबारे थाहा थिएन। यो त यती काम लाग्दो रैछ बल्ल थाहा भयो। अब गँड्यौला मलको प्रयोग गछौं विषादी नहाल्ने,’उनले भनिन्।

परम्परागत खेतीलाई विस्थापन गर्दौ आधुनिक प्रविधिको प्रयोगबाट खेती गर्ने तयारीमा छन्। सिर्जनशिल कृषक समूहले टनेल बनाएकाे छ। यी टनेलमा जाडोयाममा उचित तामक्रम निर्माण गरी तथा गर्मीयाममा वर्षाको पानी नियन्त्रण गरी बेमौसमी तरकारी खेती गर्ने सकिन्छ। प्लास्टिक, जाली, बाँस, तार, श्रमिक ज्याला गरी एउटा टनेल बनाउन २५ देखि ३० हजार लागत लाग्ने कृषि विज्ञ अजय गौरोले बताए।

पिपल्स हेल्थ ग्रुपले दाङका किसानहरूलाई जलवायुमैत्री कृषि प्रविधिबारे सैद्धान्तिक तालिकापछि स्थलगत तालिम दिइरहेको छ।

पिपल्स हेल्थ ग्रुपका अध्यक्ष विकल दाहाल भन्छन्, ‘हामीले डिप सिँचाई, गँड्यौला मल बनाउन तालिम दिएका छौं। आर्ग्निक खेतीले एक वर्षमा केही कम गरेता पनि दोस्रो वर्षमा यसले माटोलाई उर्वरा बनाउँछ जसले गर्दा पछि किसानहरूको आर्थिक धेरै खर्च गर्नु नपर्ने र उत्पादनपनि धेरै हुन्छ । यसले रासायनिक कुराहरूलाई कम गरेर राप्ती जलाधारलाई संरक्षण गर्छ।’

ग्रुपले बढुवा गाउँपालिकामा ६ र राजपुर गाउँपालिकामा ४ वटा समूह बनाएको छ। समूहलाई दिगो बनाउन गाउँपालिकामा दर्ता समेत गरेको अध्यक्ष दाहाल बताउँछन्।

पिपल्स हेल्थ ग्राफका कार्यक्रम प्राविधिक प्रमुख प्रेरणा मिश्र किसानहरूले तालिम सिकेर गएपछि आआफ्नो ठाउँमा गँड्यौला मल बनाइरहेकाे बताइन्। पछिल्लो समय नदी खोलामा माछा तथा अन्य जलचर सङ्कटमा पर्दै गएको तथ्य विभिन्न अध्ययनले देखाएकाे छ। यस्ता कुरालाई ध्यानमा राखी पिपल्स हेल्थ ग्रुपले राप्ती जलाधारलाई संरक्षण गर्ने योजना बनाएको हो।

जैविक मलको प्रयोग र जलवायुमैत्री कृषि उपयोगले समस्याको समाधान गर्ने सकिन्छ। हाल यहाँका किसानहरू एकबद्ध भएका छन्। यस्ता साना–साना प्रयासले भविष्यमा हुनसक्ने ठूलो समस्या समाधान गर्ने सकिन्छ।

(टेलिभिजन कार्यक्रम ‘पानी’ काे अंक ४९ मा आधारित रिपोर्ट) 

Facebook Comments