दोहनले उपत्यकामा भूमिगत पानीको सतह घट्यो

काठमाडौं– उपत्यकामा सुख्खायाम शुरु भएसँगै पानीको समस्या देखिन थालेको छ। यो समस्या अहिलेको होइन धेरै वर्ष अघिदेखिको हो।

उपत्यकामा उपभोग भइरहेको पानीमध्ये ५० प्रतिशत हिस्सा भूमिगत पानीमा निर्भर छ। काठमाडौं उपत्यका खानेपानी संस्थान र भूमिगत जलस्रोत विकास समितिको तथ्याङ्कले खानेपानीको आधा हिस्सा भूमिगत पानी भएको देखाउँछ। वर्षायाममा पानीको पर्याप्तता भएपनि सुख्खायाममा पानी अभावले उपत्यकावासीलाई पिरोल्ने गर्छ।

काठमाडौ सोह्रखुटेका भवानीप्रसाद खनाल विगत पाँच वर्षयता ट्युबेलमा पानी आउन छाडेको बताउँछन्। हाईड्रोलोजिष्ट इन्जिनियर समेत रहेका खनाल भन्छन्, ‘पहिला पानीको समस्या थिएन विगतका वर्षबाट पानीको समस्या भएपछि विकल्पको खोजीमा छु।’

पहिला उनका घर नजिक थोरै घर थिए तर, पछिल्लो समय घरहरू थपिदै जान थालेपछि पानीको स्रोत पनि सुक्दै जान थालेको खनाल बताउँछन्। ‘आकाशबाट परेको पानी जमिनमा पुनःभरण (रिचार्ज) हुनै पाउने अवस्था छैन,’ उनले भने, ‘जताततै घर छन् पानीले जमिन भिज्नै पाउँदैन रिचार्ज नभई पानी भण्डारण हुन पाउदैन।’ पानीको समस्या हुनुमा अव्यवस्थित शहीरकण, पानीको रिचार्ज हुने क्षेत्र नहुनु, अव्यवस्थित भूमिगत पानीको दोहोनले समस्या निम्तिएको उनको बुझाइ छ।

भूमिगत पानीमा निर्भर उपत्यकाका स्थानीय पानी रिचार्ज हुने क्षेत्रमा बन्ने भवन निर्माण र पूर्वाधारको संरचनाले समस्या उत्पन्न भइरहेको विज्ञहरूको भनाइ छ। वर्षायाममा इनार भरिभराउ हुने गरेपनि सुख्खायाम शुरु भएसँगै सुक्दै जाने गरेका छ। सुख्खायाममा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दिने पानीको मात्रा पनि घट्ने गरेको छ।

उपत्यकामा दैनिक ३७ करोड ७० लाख लीटर पानीको माग छ, तर केयूकेएलले सुक्खायाममा ७ करोड ३० लाख लीटर र अरू बेला १२ करोड ८० लाख लीटर मात्र वितरण गर्ने गरेको केयुकेएलका उपप्रबन्धक रविन्द्र पोखरेलले बताए। माग अनुसार उपत्यकामा ग्राहकलाई पानी वितरण गर्न नसकेको उनले बताए। केयूकेएलले करीब ५० प्रतिशत पानी भूमिगत स्रोतबाट वितरण गरिरहेको छ। त्यसका लागि २ सय मिटर गहिरा ५९ डीप ट्यूबेल गाडिएको छ भने तीन वटा डीप ट्युबेल थपिँदैछ।

उपत्यकामा पानीको मुहानको ३५ वटा स्रोत सतहमा छन्। केयुकेएलले ९० वटा भूमिगत पानीको स्रोतबाट पानी वितरण गर्दै आएको छ। पानीलाई शुद्धिकरण गर्न २० वटा प्लान्ट सञ्चालनमा छन्। ५१ वटा पानीको रिर्जभर ट्याङ्की र ३९ वटा पम्पिङ स्टेशन रहेको उपप्रबन्धक पोखरेलले बताए। उपत्यकामा केयुकेएलले विछ्याएको १३ सय किलोमिटर पाइपलाइन छ।

भूमिगत जलस्रोत विकास समितिको तथ्याङ्क अनुसार उपत्यकामा अनुमति लिएर ट्युबवेल र डिपबोरिङ चलाउनेमा ३५ वटा पानी उद्योग, ७० वटा हाउजिङ, १० वटा उद्योग ३३ वटा होटल, १४ वटा अस्पताल, ३५ वटा संस्थागत संस्थान, र ६३ वटा अन्य संस्था छन्।

भूमिगत पानीको सतह घट्दो
भूमिगत जलस्रोत विकास समितिले उपत्यककाको दुई ठाउँमा पानीको सतहको अध्ययन गरेको थियो। काठमाडौको कीर्तिपुर टौदह र ललितपुरको लभुमा गरेको अध्ययन अनुसार पानीको सतह घटेको तथ्याङ्क छ। सन् २००१ मा कीर्तिपुर ८ टौदह क्षेत्रमा अध्ययन गरेको थियो।

उक्त अध्ययनमा पानीको सतह औसतमा ७.९५ मिटरमुनी पाइएको थियो। सन् २०१४ मा पुन गरेको अध्ययनमा उक्त स्थानमा औसत सतह १०.३४ मिटर तल पाइएको जनाएको छ। ललितपुर लभु सन् २००१ मा ३०.१ मिटर गहिराइमा पानीको सतह भेटिएकोमा सन् २०१४ मा ४० पानीको सतह ४० मिटर तल पुगेको तथ्याङ्क छ ।

काठमाडौ उपत्यकामा ३० वर्षअघि ८ देखि १० मिटर खन्दा भेटिने पानीको स्रोत अहिले ४०–५० मिटरसम्म खन्दासमेत पाउन कठिन भइरहेको तथ्याङ्क छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले सञ्चालन गरेको ट्युबेलबाट केही वर्ष अघिसम्म प्रतिमिनेट हजार लिटर पानी आउँथ्यो, अहिले ७०० लिटर आउँछ। राणाकालसम्म पनि उपत्यकाको खानेपानी भूमिगत स्रोतमा निर्भर थियो। पहिला ढुंगेधारा र इनारमा जमिनमुनिको स्रोतबाट अटुट पानी आउँथ्यो। अहिले काठमाडौँमा रहेका करीब ३९० ढुंगेधारा रहेकामा १६० ढुंगेधारा सुकिसकेका छन्। साथै परम्परादेखिका इनारहरू सुकिसकेका छन्।

केयुकेएलका उप प्रवन्धक रविन्द्र पोखरेल भन्छन्, ‘एउटा डिप बोरिङ खनेपछि त्यसको एक किलोमिटर वरपर अर्को डिप बोरिङ खन्न मिल्दैन।’ एक किलोमिटर वरपर खन्न नहुनुको अर्थ जमिन मुनिको पानीको सतहलाई सन्तुलन राख्न त्यसो गरिन्छ तर, जथाभावी बोरिङ सञ्चालनले भयावह अबस्था सिर्जना हुने गरेको छ।

व्यापारिक प्रयोजनका लागि डीप ट्यूबेल राख्न खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार लाइसेन्स लिनुपर्छ। तर, जथाभावी पानी दोहनले समस्या उत्पन्न भइरहेको छ। सन् १९९० तिर जाइकाले गरेको अध्ययनले काठमाडौँ उपत्यकामा दैनिक डेढ करोड लिटरभन्दा बढी निकालिएमा भूमिगत पानीको सतह घट्न गई प्राकृतिक सन्तुलन बिग्रने देखाएको थियो।

काठमाडौँ उपत्यकाको खानेपानीको वितरणको जिम्मा पाएको केयुकेलले २०० मीटर गहिरा करीब ८० वटा डीप बोरिङमार्फत मात्र दैनिक करिब आठ करोड लिटर पानी निकालिरहेको छ, यो उपत्यकाको वर्तमान पानीको पुनःभरण (रिचार्ज) को दुई गुणा बढी हो।

निजी क्षेत्रले पनि अवैधानिक रूपमा ठूलो मेसिन तथा गहिरो ट्युबवेल प्रयोग गरी पानी तानिरहेका छन्। आधिकारिक तथ्यांक नभए तापनि करिब ७५० वटा भन्दा बढी कम्पनीले भूमिगत पानी निकालिरहेको अनुमान छ जसमध्ये अनुमति प्राप्त करिब २०० वटा डिप बोरिङहरू छन्।

भूमिगत पानी उपलब्ध हुने अवस्था अनुसार उपत्यकालाई सुरक्षित, अर्धसंवेदनशील र संवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको छ।  त्यसअनुसार, उपत्यकाको उत्तरी भाग सुरक्षित, मध्यक्षेत्र अर्धसंवेदनशील र दक्षिणका ठाउँहरू संवेदनशील छन्।

उपत्यकाको सुरक्षित क्षेत्र काठमाडौं गोंगबु, धापासी, साङ्गला, नेपालटार, गोलढुंगा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, खड्काभद्रकाली, बूढानीलकण्ठ, चपली, महाँकाल, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मूलपानी, गोठाटार, नयाँपाटी, थली, झोर, इचंगुनारायण भक्तपुरः बोडे, मनहरा अर्ध संवेदनशील क्षेत्रहरुमा काठमाडौं सुरक्षित क्षेत्रमा परेका बाहेक काठमाडौं महानगरपालिकाका बाँकी सबै ठाउँ, सीतापाइला, स्यूचाटार, नैकाप, तीनथाना, बलम्बु, मच्छेगाउँ, सतुंगल, मातातीर्थ, बाडभञ्ज्याङ ललितपुरः कुपण्डोल, ज्वागल भक्तपुरः भक्तपुरको सबै शहरी क्षेत्र।

संवेदनशील क्षेत्रमध्ये काठमाडौं दक्षिणकाली, शेषनारायण, छैमले ललितपुरः बाँकी सबै भाग भक्तपुरः उत्तरी र शहरी क्षेत्र बाहेकका ठाउँ आदी रहेको भूमिगत जलस्रोत विकास समितिले गरेको अध्ययनले देखाएको छ।

Facebook Comments