आईईई बिनै कर्णालीबाट ढुंगा, बालुवा उत्खनन्

कैलाली–कर्णाली नदीमा अवैधरुपमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन भएको पाइएपछि जिल्ला समन्वय समिति कैलालीले उत्खननमा रोक लगाएको छ।

प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईईई) नै नगरी ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन, उत्खनन तथा घाटगद्दी गरेको पाइएपछि रोक लगाइएको जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले जनाए।

समन्वय समितिको टोलीले कर्णालीको अनुगमन गरेको थियो। अनुगमनको क्रममा नदीलाई उत्खनन गरी चिरा–चिरा पारेको पाइएको उनले बताए। ‘कर्णाली नै फर्किने गरी पाँच-छ ठाउँमा उत्खनन भएको पाएका छौँ,’उनले भने,‘आईईई नगरेका ठाउँमा उत्खनन गरी कर्णालीलाई चिरा–चिरा पारिएको छ।यसले गर्दा कर्णाली फर्किने खतरा बढेको। भोलिका दिनमा यसले भयाभक अवस्था निम्त्याने भएकाले बन्द गरेका छौँ।’

उनले लम्कीचुवा नगरपालिका र जानकी गाउँपालिकासँग समन्वय गरी अवैधरुपमा ढुङ्गा गिट्टी ओसापसार गर्न अवैध बाटो समेत बन्द गर्ने तयारीमा रहेको बताए।

‘आईईई गरेको ठाउँमा उत्खनन गर्ने खोल्दिन्छौं। आईईई नभएको सबै ठाउँलाई बन्द गर्छौ। सोमबारदेखि तत्कालका लागि कर्णाली नदीमा उत्खननमा रोक लगाएका छौँ,’ थापाले भने। कर्णाली पुल चिसापानीदेखि ३ किलोमिटरपरबाट १० किलोमिटरसम्म अवैधरुमा चिरा–चिरा पारी उत्खनन भइरहेको उनले बताए।

आइतबार १३ वटै स्थानीय तहले नदीजन्य प्रदार्थको उत्खनन सम्बन्धी विवरण पठाएको समेत उनले बताए। उनले आईईई भएको ठाउँमा मात्र उत्खनन गर्ने दिने र आईईई नभएको ठाउँ उत्खनन बन्द गर्ने स्थानीय तहसँग छलफल भएको समेत बताए।

ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन, उत्खनन, घाटगद्दी जिल्ला अनुगमन तथा समन्वय समितिको कार्यविधि २०७५ अनुसार काम गर्ने चार उपसमितिलाई निर्देशन दिएको समेत उनले जानकारी गराए।

Facebook Comments