तिला नदीका माछा मर्न थाले

जुम्ला– अज्ञात रोगका कारण तिला नदीका माछा मर्ने गरेका छन्। एक हप्ता अघिदेखि तिला नदीमा रहेका माछा मरेकोे चन्दननाथ नगरपालिका–१० गैरागाउँका स्थानीय नरेन्द्र भण्डारीले बताए।

तिला नदीको किनारमा मरेका माछा देखिने गरेको उनको भनाइ छ । छिना साँघुदेखि कारागारसम्म आउने जाने क्रममा नदीमा मरेका माछा देखिने गरेको बताइएकाे छ। नदीमा रहेका सानादेखि ठूला माछा मरेर तैरिने गरेको भण्डारीको भनाइ छ।

तिला नदीमा साना असला जातका माछा पाइन्छ । जुन लोपोन्मुख अवस्थाको माछा हो । विगतका वर्षभन्दा यस वर्ष तिला नदीमा पानीको बहाव पनि घटेको स्थानीयले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले विषादी प्रयोग, पानीमा करेन्टर लगाएर वा अन्य कुनै कारणले माछा मरेको हुन सक्ने बताए। माछा मर्नुको कारण यही हो भन्न नसकिने बताउँदै उनले सत्यतथ्य पत्ता लगाउनको लागि अनुसन्धान टोली गठन गरिएको जानकारी दिए।

भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र जुम्लाका प्रमुख गोविन्दबहादुर महतको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ।

हप्ताभित्र गठित अनुसन्धान टोलीलाई माछा मर्नुको कारण पहिचान गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले बजारमा ल्याइएका माछा नखान सर्वसाधारण सबैलाई सुझाव दिए। रासस

Facebook Comments