भारतलाई नेपालको जवाफ: बाघकाे तथ्यांक आदानप्रदान समान ढंगले हुनुपर्छ बाघ कुटनीति

काठमाडौं–संयुक्त रूपमा बाघ गणनाका लागि नेपाल र भारतबीच अघिल्लो वर्ष नै सहमति भएपनि अहिलेसम्म संख्याको विस्तृत मूल्याङ्नको विवरण आदानप्रदान सम्बन्धी सम्झौता अझै हुन सकेको छैन।

यतिबेला भारतमा बाघको गणनाको काम भइरहेकाले उसले आफ्नो मुलुकका रहेको बाघको संख्या उपलब्ध नगराएसम्म अन्य विस्तृत विवरण दिने पक्षमा नेपाल छैन। हालै भारतमा ग्लोबल टाइगर रिकाभरी कार्यक्रम भएको थियो। जसमा १३ देशहरू सहभागी भएका थिए। त्यही मौकामा नेपालसँग सम्झौता गर्ने तयारीमा भारत थियो। तर, त्यसका लागि नेपाल तयार भएन।

भारतको गणना सकिएपछि मात्र सम्झौताको प्रक्रिया अगाडि बढ्ने भनी नेपालले जानकारी गराएको समाचार दि हिन्दु पत्रिकामा प्रकाशित छ। नेपालले यस अगाडि नै बाघको संख्या २ सय ३५ पुगेको सार्वजनिक गरिसकेको छ। सन् २०१३ मा बाघको संख्या १ सय ९८ रहेकोमा बढेर २ सय ३५ पुगेको हो, जुन १८ प्रतिशत वद्धि हो।

नेपालले बाघको संरक्षणमा उपलब्धी हासिल गरेको भनी संरक्षणविद्हरूले प्रशंसा गरिरहेका छन्। तर, भारतले नेपालमा भएको बाघको गणनाको स्थान र क्यामराले लिएको विवरण मागेको छ। भारतले सीमा क्षेत्रमा भेटिने बाघको संख्या दुई पटक गणना नहोस् भनी सो विवरण मागेको सो पत्रिकाले उल्लेख गरेको छ।

‘हामी बुझछाैं कि भारतमा बाघ गणना कार्य निकै ठूलो छ र यसले निकै क्षेत्र समेट्ने गर्दछ। तर, हामी दुबै सार्वभौम मुलुक भएकाले तथ्यांक आदानप्रदान पनि समान ढंगले हुन आवश्यक छ, सम्झौता फेब्रुअरी र मार्च महिनासम्म हुनेमा हामी आशावादी छौ,’ राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका सहायक निर्देशक गोपाल भट्टराईलाई उल्लेख गर्दै हिन्दु पत्रिकाले लेखेको छ।

बाघको गणना कार्य शुरु गर्नुभन्दा पहिला भारतले भुटान र बंङ्गलादेशसँग संख्या सम्बन्धी सम्झौता गरेको थियो र साझा विधि अपनाएर गणना गरिरहेको छ। औपचारिक रुपमा सन् २०१४ सम्म बाघको संख्या २ हजार २ सय २६ थियो र अहिले त्यो संख्या २५ देखि ३० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ।

नेपालका कतिपय वन्यजन्तु भारतसँग सीमाना जोडिएका कारण एउटै बाघ दुवैतिर गणनाा हुनसक्ने सम्भावना हुन्छ।
भारतले सन् २०१७ बाट नै बाघ गणनाको कार्य शुरु गरेको हो र आगामी मार्चसम्म सो कार्य सक्ने योजना छ।

नेपाल, भारत र बंङ्गलादेशको सीमाना जोडिएको संयुक्त रुपमा काम गरेर यकिन संख्या पुग्नुपर्ने कुराकानी धेरै समय अगाडि शुरु भएको हो। यस सम्बन्धमा तीनै देशका अधिकारीहरूले सन् २०१८ मा संयुक्त रुपमा तालिम समेत लिएका थिए।

बाघ गणनाको लागि भारतका १० करोड बजेट लाग्ने गर्दछ भने यसमा ४० हजार वनपालेहरु सहभागी हुन्छन्। र, चार लाख वर्गकिलोमिटरमा बाघको गणना गरिन्छ। यसका लागि १४ हजार क्यामराहरु जडान गरिन्छ, भने १८ वटाभन्दा बढी राज्य सरकारसँग समन्वयको आवश्यकता पर्दछ।

बाघको गणनाको लागि वनपालेहरुलाई एनरोइड फोन र एउटा एप्स उपलब्ध गराइएको छ। सन् २०१५ मा गणना गर्दा भारतले निकै प्राविधिक कठिनाइहरू सामना गर्नु परेको थियो।

भुटानले सन् २०१८ को जनवरीमा आफ्नो बाघको संख्या सार्वजनिक गरेको थियो। भुटानले आफूले बाघको संख्या गणनाको लागि अपनाइएको विधि र संख्या यस अगाडि नै भारतलाई उपलब्ध गराइसकेको छ। भुटानमा पनि पछिल्लो वर्षमा बाघको संख्यामा निकै बढोत्तरी भएको छ।

विश्वमा जलवायु परिवर्तनको कारण वाघहरु क्रमश हिमालय क्षेत्रतिर जाने क्रम बढेका कारण आगामी दिनमा नेपाल र भुटानमा बाघको संख्यामा अझ वृद्धि हुने आंकलन गरिएको छ। विश्वमा बाघको संख्या ४ हजारभन्दा कम रहेको छ र यसको संख्या वृद्धिका लागि अझ काम गर्नुपर्ने संरक्षणविदहरुले वताउँदै आएका छन्।

त्यसैले पनि प्रत्येक मुलुकमा वृद्धि हुने बाघको संख्यालाई निकै महत्व दिने गरिन्छ। दुई वर्ष अगाडि झण्डै एक शताव्दीपछि विश्वको वाघको संख्यामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको थियो।

विशेषगरी नेपाल, भुटान, भारत र रसिया बाघको संख्या वढाउन सफल भएका छन्। र, दक्षिणपूर्वी एसियाली मुलुकहरुमा बाघको संख्या बढाउने कार्य निकै जटिल बन्दै गएको छ । संख्या बढेसँगै बाघ–मावनबीच द्वन्द्व अर्काे चुनौतीको रुपमा थपिएको छ। विशेषगरी नेपाल र भारतमा यो बिकराल समस्याको रुपमा रहेको छ।

Facebook Comments