हरित र समावेशी ऊर्जा प्रवर्द्धनमा जोड

काठमाडौं– हरित तथा समावेशी ऊर्जालाई प्रवर्द्धन गरेर घरभित्र र बाहिरको प्रदूषण नियन्त्रण गनुपर्ने सरोकारवालाहरूले बताएका छन्।

ग्रामीण प्रविधि केन्द्र (सीआरटी) ले बिहीबार राजधानीमा आयोजना गरेको ‘हरित तथा समावेशी ऊर्जा’ कार्यक्रमका सहभागी सरोकारवालाहरूले प्रदूषणको मारमा विशेषगरीः महिला, बालबालिका र वृद्धवृद्धाहरू परिरहेकाले हरित ऊर्जा प्रवद्र्धन गर्नुपर्ने बताएका हुन्।

‘घरभित्रको प्रदूषण झनै विकराल बन्दै गएको छ, जसको मुख्य कारण मध्ये परम्परागत ऊर्जा हो,’ घरभित्रको प्रदूषण नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको संस्था आइएपीएचएफका अध्यक्ष प्रा.डा. सन्जय खनालले भने, ‘परम्परागत ढंगको चुल्होलाई विस्थापन गरेर सुधारिएको चुल्हो, गोबरग्यास, विद्युतीय चुल्हो जस्ता वैकल्पिक एवं हरित ऊर्जा प्रयोगमा बढवा दिन आवश्यक छ।’

घरभित्र हुने प्रदूषण विशेषगरी भान्साबाट बढी हुने र त्यो समस्या महिलाले बढी भोग्दै आएको उल्लेख गर्दै प्राडा. खनालले हरित ऊर्जालाई बढवा दिन सक्नुपर्ने बताए।

हरित समावेशी ऊर्जाका प्राजेक्ट मेनेजर डा. ईन्दिरा शाक्य सुधारिएको चुल्हो, बायोग्यास लगायतका वैकिल्पक ऊर्जालाई बढवा दिन सके धुवाँ न्यूनीकरणसँगै समयको बचत हुने बताइन्। खानेपानीका लागि घण्टौं टाढा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै डा. शाक्यले सोलार प्रविधिबाट गाउँघरमा खानेपानी पुर्याउने गरी कार्यक्रम ल्याउनुपर्नेे बताइन्। ‘स्वच्छ र सहज ऊर्जाको उपलब्धता हुनुपर्छ,’ उनले भनिन्।

नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष पूर्ण रन्जितकारले निजी क्षेत्रले बायोग्यास प्रवर्द्धनमा समेत काम गरिरहेकोमा पछिल्लो समय ठूला बायोग्यास बनाउने क्रम शुरु भएको बताए। ‘जसबाट पाइप जोडेर घरघरमा ग्यास लग्न सकिन्छ,’ उनले भने। हाल ४ लाख बढी घरधुरीमा बायोग्यास जडान भएको समेत उनले जनाए।

सामुदायिक उपभोक्ता विद्युत महासंघकी अफिसर श्यामला नेपालले उपभोक्ताको घरमा विद्युतीय चुल्हो प्रवर्द्धनमा जोड दिइएको बताइन्। सामुदायिक विद्युतीयकणमार्फत् ५ लाख घरधुरीमा विद्युतीकरण भएको उनले बताइन्। सामुदायिक विद्युतीकरणमा नेपाल सरकारको ९० प्रतिशत र बाँकी १० प्रतिशत उपभोक्ताको लगानी रहन्छ।

नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष सहजमान श्रेष्ठले हरित तथा समावेशी ऊर्जाका क्षेत्रमा भइरहेको गतिविधिबारे मिडियाले उजागर गरिरहेको बताए। ‘यो क्षेत्रमा भएका उदाहरणीय कामलाई बाहिर ल्याएर अरुलाई उत्पे्ररित गराउने काम गरिरहेका छौं,’ उनले भने, ‘आवश्यक नीति, नियमको खाँचाबारे पनि मिडियाले कलम चलाउँदै आएको छ।’

ग्रामीण प्रविधि केन्द्र (सीआरटी) का कार्यकारी निर्देशक हरिगोपाल गोर्खाली र वरिष्ठ कार्यक्रम निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले हरित तथा समावेशी ऊर्जाका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र लगायतको सहकार्यमा मुलुकका विभिन्न क्षेत्रमा काम गरिरहेको बताए।

कार्यक्रममा प्रदेश ३ का सांसदहरु अष्टलक्ष्मी शाक्य, गणेश दुलाल, रमेश पौडेलले नवीकरणीय ऊर्जाबाट आत्मसक्षमको बाटोमै लैजाने सकिने र आवश्यकता पर्ने ठाउँमा नीति, नियम बनाउन आफूहरुले पहल गर्ने बताए।

Facebook Comments