गुल्मीमा भेटिए विश्वकै दुर्लभ ६ चरा

काठमाडौँ – गुल्मीमा विश्वकै दुर्लभ ६ प्रजातीका चराहरू भेटिएका छन् । नेपाल पंक्षी संरक्षण संघको लगातार २ वर्षको सर्वेक्षणका क्रममा गुल्मिको रेसुङ्गा र मदाने संरक्षित क्षेत्रको जंगलबाट ६ प्रजातीका चराहरू भेटिएको हो।


संघले सन् २०१७ र २०१८ मा गरेको सर्वेक्षणका क्रममा सेतो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध, गोमायु महाचिल, चिर र लोभी पापी गरुड प्रजातीका चराहरू फेला परेको संघ अन्र्तगतको जीविकोपार्जन तथा संरक्षण समायोजन परियोजनाका वरिष्ठ परियोजना अधिकृत मित्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार चरा तथा जैविक विविधता क्षेत्रका रुपमा रहेको रेसुङ्गा संरक्षित क्षेत्रमा सेतो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध, गोमायु महाचिल भेटिएको छ। मदानेमा चिर, लोभी पापी गरुड, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल पाइएको छ।

नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल रेसुङ्गामा २ सय २८ र अग्लो ठाउँमा रहेको मदाने जङ्गल क्षेत्रमा २ सय ७ प्रजातीका चरा पाइएको छ।

विभिन्न समयमा गरिएको अध्ययनको आधारमा यी प्रजातीका चरा फेला पारिएको पंक्षीको अध्ययनमा समेत खटिएका पाण्डेले बताए।

Facebook Comments