वातावरणमन्त्री बस्नेतसहितले गरे फेवातालको सरसफाइ

पोखरा– विश्व सिमसार दिवसको अवसरमा शनिबार बिहान पोखरास्थित फेवातालको सरसफाइ गरिएको छ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहितको उपस्थितिमा ड्यामसाइडस्थित फेवातालको सरसफाइ गरिएको हो। फेवातालमा फ्याँकिएका प्लास्टिक, बोतल लगायतका वस्तुु झिकिएको थियो। फोहर झिक्न मन्त्री बस्नेतसहितका सरकारी अधिकारी समेत फेवातालमा प्रवेश गरेका थिए।

पोखरा उपत्यका बृहत सफाइ अभियानको १४० आँैं हप्तामा गरिएको सफाइमा वातावरण मन्त्री बस्नेतले वातावरणलाई स्च्छ र सफा राख्न यस्ता अभियानले प्रेरित गर्ने बताए।

‘पोखरामा भइरहेको सफाइ अभियान निरन्तर जारी रहोस्। यसले फेवातालसँगै पोखरा उपत्यका लाई स्वच्छ राख्न मद्दत गर्नेछ,’ मन्त्री बस्नेतले भने, ‘काठमाडौंमा भइरहेको बागमति सफाइ महाभियान र पोखरामा भइरहेको पोखरा उपत्यका बृहत्त सफाइ अभियानको सिको अन्य क्षेत्रमा पनि गर्न जरुरी छ।’

अभियानका संयोजक रामबहादुर पौडेलले फेवातालमा फोहोर फ्याक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न एवं तालको सौन्दर्यतालाई कायम राख्न निरन्तर सफाइ अभियान भइरहेको बताए।

उनका अनुसार २०७३ बाट सफाइ अभियान शुरु भएकोमा हाल विभिन्न टोल सुधार समिति, संघसंस्था, महिला समूूहले फेवातालमा छुट्टाछुट्टै र सामूूहिक रुपमा सरसफाइ गर्दै आएका छन्।

‘सिमसार तथा जलवायु परिवर्तन’ नारा तय गरिएको यस वर्षको सिमसार दिवस पोखरामा आयोजना गरिएको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीका अनुसार मुुलुक संघीय संरचनामा गइसकेपछि पहिलो पटक स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त आयोजना पोखरामा विश्व सिमसार दिवस शनिबार मनाइँदैछ।

Facebook Comments