सिमसार संरक्षणका चुनौति

जमिनमा यदि छिपछिपे पानी जमिरहन्छ भने त्यस्तो जमिनलाई सिमसार भनिन्छ । पानी नसुक्ने र जमिन नलुक्ने जग्गाहरु सिमसार हुन् । होली,पोखरी,नदी र आसपासको क्षेत्र, सिमखेतहरु, पानीका मूल र आसपासको चिस्यान आदि सबै सिमसार हुन् । सिमसार प्रकृतिका यस्ता उपहार हुन् जसले पृथ्वीको प्रदूषणलाई सोसिदिने, भूमिगत बन्न लागेको पानीलाई छानिदिएर स्वच्छ बनाउने,जैविक विविधताको लागि उपयुक्त बासस्थान बनिदिन्छन् । यसो भएकोले गर्दा आज सिमसारको महत्व औधि बढेर आएको छ । तसर्थ यस्ता सिमक्षेत्रलाई संरक्षण गर्नुपर्छ भनेर विश्वसंसार जुटेको छ ।

पृथ्वीको करिब छ प्रतिशत भाग सिमसारले ओगटेको छ । कृषि विकास विभागका अनुसार नेपालमा भने कुल क्षेत्रफलको लगभग पाँच प्रतिशत मात्र भाग सिमसार पर्दछ । नेपालमा छन त तीन हजार जति नदीनाला,लाखौँ पानीका मुहान र सयौँको संख्यामा प्राकृतिक पोखरी र हजारौँ मानवनिर्मित पोखरी नभएका होइनन् तथापि पहाडी भेग धेरै भएका कारण यस्ता पानीका स्रोत आसपासमा फराकिलो क्षेत्रसम्म सिमसार बन्न नसकेको स्थितिले थोरै क्षेत्रफलमा मात्र सिमसार भएको रेकर्ड रहेको हो । विश्व संरक्षण संघ(आईयुसीएन)ले तयार पारेको विवरणअनुसार नेपालमा सात लाख २४ हजार दुई सय ५७ हेक्टर जमिनलाई सिमसार भन्न योग्य मानिन्छ । सोही संस्थाले सन् १९९८ मा तराई क्षेत्रमा एक सय ६३ वटा सिमसारक्षेत्रको पहिचान गरेको थियो । जसमा ८० वटा प्राकृतिक पोखरी,५५ वटा बाढीग्रस्त वा खोलाले बनाएका सिमसार र बाँकी अन्य प्रकारका सिमसार थिए । अहिलेको विश्व सिमसार संरक्षणमा जुटेको छ । तथापि संरक्षण प्रयासका सामुमा अनेकन चुनौतिहरु खडा भएका छन् ।

नेपाल अझै नि कृषिप्रधान देश हो भन्न सकिन्छ । पछिल्ला वर्षहरुमा कृषिमा आधुनिकता थपिनुका साथै प्रविधिकरणले यस पेशामा सहजीकरण थपिएको छ । यसमा व्यवसायिकता पनि थपिएर आयो । त्यसैले सिँचाइका स्रोतहरुको पहिचान हुन थाले । अनि त कृषि पेशाले सिमसारमा आँखा पुर्यायो । पानी नसुक्ने स्रोतबाट बाँध बनाई नहर निकालेर खेतीमा पानी ल्याइयो उता सिमसारको बाँधभन्दा तलको भागमा सुख्खा लाग्यो,सिमसार मासियो । आईयुसीएनका अनुसार यस्तो समस्याबाट तराईका १६३ मध्ये ७० वटा सिमसार प्रताडित छन् । स्थानीयहरुलाई यसो गर्न नदिन सितिमिति सकिन्न । तसर्थ यो एउटा चुनौति हो ।
अर्को चुनौति त माछा मारेर वा जलचरको शिकार गरी जीवन चलाउनेहरु र तिनीहरुको शिकार संकलन गर्ने विधि हो । पानीलाई सुकाएर,मेसिन लगाएर बाहिर पोखाएर वा बगाएर सुख्खा बनाई माछा र घुँगी संकलन गर्ने परिपाटी सिमसारका लागि चुनौतिको रुपमा स्थापित भएको छ । विश्वका उत्कृष्ट र अति महत्वका सिमसारहरुको सूची रामसार साइटमा परेको कैलाली जिल्लाको घोडाघोडी ताल मात्र होइन विश्वको उत्कृष्ट नौ सिमसारमा गनिने कोशी टप्पुसमेत अवैज्ञानिक तरिकाले जलचर शिकारबाट प्रभावित भएका छन् । विष खन्याएर वा करेन्ट लगाएर माछा मार्ने चलन बढेकाले यसले पूरै सिमसारलाई ठूलो असर गरेको छ । ंजलचरको संख्या र मात्रा दुबै क्रमशः क्षयीकरण हुँदै आएकोले यस्तो व्यवसाय गर्ने व्यवसायीलाई पनि संकटका दिन आइरहेका छन् । कोशी टप्पु सिमसार क्षेत्रमा मात्र करिब दुई हजार मानिस माछा मारेर र बेचेर जीवन र परिवार चलाउनेहरु छन् । हालको अवस्थामा यिनले दिनमा एक देखि छ किलोसम्म माछा मारी बेचिरहेका छन् ।
जलविद्युत परियोजनाहरुलाई सिमसारका मित्र मानिदैनन् । यिनीहरुबाट सिमक्षेत्रलाई फाइदाभन्दा पनि नोक्सानी नै देखियो । धेरै विद्युत योजनाहरुले सिमसारलाई मासिने गरिकै प्रभाव पारेको पाइएको छ । नेपालमा सन् १९७८ देखि १९९० सम्ममा एक सय १४ वटा विद्युत परियोजनाहरु निर्माण चरणमा रहेका थिए । अधिकांशको असर सिमसारमा छ । त्यति मात्र होइन गाउँघरमा साना लगानीका,साना क्षमताका पेल्ट्रिसेटबाट विद्युत उत्पादनको प्रक्रियाले तल्लो तटीय क्षेत्रमा सुख्खा लागेर मूल सुख्ने र सिमसार मासिने डर छ ।
नेपालमा जम्मा जति वर्षा हुन्छ वर्षभरिमा त्यसको ८० प्रतिशत मनुसुनका तीन महिनामा नै भइहाल्छ । यसकारण गर्दा नदीहरुमा पनि पानीको मात्रा र वहाव सिजनअनुसार फेरवदल भइरहन्छ । वर्षामा भरिभराउ अनि हिउँदमा सिलमिल । जस्तैः राप्ती,बबई,कोशी जस्ता नदीहरुका सिमसारमा पानीको घटीबढीले सिमसारको स्थायी सीमाना कायम रहन सकेको हुँदैन । जसले गर्दा जलचरहरु ठूलो विपतमा पर्ने गरेका छन् । अनि, सिमसारले पाएको उपमा ‘सिमसार एक जैविक विशालबजार हो’ मा सोझै प्रभाव परिहाल्छ ।

नेपालका नदीमा स्वयम् नेपाल राज्यले होस् या भारतले बाँधहरु निर्माण गरिरहेका छन् । यस्ता बाँधले सिमसारको स्वरुप र विशेषतालाई विध्वंश पारिदिन्छ । जस्तैः कोशी नदीमा भारतले लगाएको बाँधका कारण चरालाई त मानौ राम्रै बासस्थान मिल्यो तर यहाँबाट बाघ,चितुवा र विभिन्न प्रकारका काठधारी वनस्पति हराएर गए । त्यहाँ अहिले एउटा अंशको रुपमा रहेका अर्नाहरु मासिने खतरामा छन् किनभने बासस्थान क्षयीकरण भइरहेको छ । पानीको सतह क्रमशः माथितिर आएका कारण बासस्थान डुब्दै आएको छ । चराकै सन्दर्भमा पनि पछिल्ला वर्षहरुमा संख्या घटिरहेको अध्ययनहरुले देखाएका छन् । पानी माथि झार नभएको दहमा मात्र चराको असल बासस्थान मान्न सकिएन । महाकाली नदी,बबई नदी,राप्ती,गण्डकी,चितवनको राप्तीलगायत दर्जनौ नदीमा ठूला ब्यारेज तथा बाँधहरु बनाइएका छन् जसले माथि उल्लेखित तरिकाले नै सिमसार र यसमा आश्रित जनावर र मानव जनजीवनलाई प्रभाव पारेको छ । तसर्थ बाँध निर्माणलाई सिमसार संरक्षण एवम् विकासको चुनौतिको रुपमा लिइएको छ ।

भन्न त सिमसारलाई प्रदूषण नियन्त्रक भनिन्छ । यसले वायुप्रदूषणलाई साँच्चै गतिलो गरी नियन्त्रण गरेको हुन्छ हानीकारक ग्यासलाई सोसेर । तर सिमसारको पानीलाई उद्योगको पानीले रुग्ण बनाएको छ । जस्तैः काठमाण्डौँका अधिकांश कार्पेट तथा अन्य प्रकारका उद्योगबाट निस्किएको पानी केही वर्षअघिसम्म खुलेआम वागमती नदीमा खसालिन्थ्यो । भृकुटी कागज उद्योगको पानीले नारायणी नदीलाई दूषित पार्यो ।

सिमसारको अर्को चुनौतिको रुपमा विषादीलाई लिइन्छ । विषादीको औधि प्रयोगले गर्दा विश्व वातावरणसँगै सिमसार पनि प्रताडित छ । खेतबारीमा लगाएका विषादी पानीले बगाएर सिमसारमा पुग्ने हो तसर्थ यहाँ आएर असर गर्छ । यहाँका उपयोगी वनस्पति र जनावरलाई नोक्सानी गर्छ ।

घरायसी वा बसोबास क्षेत्रबाट उत्सर्जित हुने पानीले सिमसारमा असर गरेको छ । सिमसारको संरक्षणमा यो पनि एउटा चुनौति थपिएको छ । जस्तैः काठमाण्डौँ उपत्यका भित्र मात्र वागमती नदीमा मात्र दैनिक चार करोड लिटर घरायसी फोहोर पानी मिसिन्छ । आईयुसीएनको अध्ययन प्रतिवेदनअनुसार पोखराको फेवाताल जो रामसार साइटमा सूचीकृत सिमसार हो, त्यहाँ साबुन र डिटरजेन्ट गरी दिनको एक सय किलोग्राम फिँजको रुपमा प्रवेश गर्छ ।

नेपालका कुनैपनि सिमसार मूलतः तराईमा विदेशी मिचाहा प्रवृत्तिका वनस्पतिहरुका प्रभावमा नपरेका हुन् । नेपालमा कम्तीमा एक सय ६६ प्रजातिका यस्ता मिचाहा वनस्पति आइपुगेका छन् । यिनले सिमसारलाई ठूलो हानी गरेका छन् । जस्तै मेटेका, माइकेनिया,इपोमिया,कारनिया आदि नम्बरी मिचाहा वनस्पति हुन् जसले सिमसारलाई असर पारिरहेका छन् । यी झारहरुलाई किसानले खेतबारीमा लगाएका मलजलले राम्रो मलजल पुर्याएका छन् । झन् फष्टाएर अरु वनस्पति र स्थानीय जनावरलाई मास्ने गरिका असर गरिरहेका छन् । यस्ता झारको व्यवस्थापन आजको एक चुनौति हो ।

आसपासका क्षेत्रका बासिन्दाहरुको लागि सिमसार साह्रै राम्रो असल चरन क्षेत्र हो । अरुतिर घाँस सुकेका बेला पनि सिमसारमा हरियाली भइरहने हुँदा यस्ता क्षेत्र गाईवस्तुको असल चरिचरन हो । तर गाईवस्तुको अतिचरनले गर्दा सिमसार क्षतविक्षत बनेका छन् । गाउँलेका हजारौँ वस्तुभाउले सिमसार ढाकिदिएपछि यसको प्राकृतिक सुन्दरता,महत्व र मौलिकतामा ह्रास आउँछ । कुनैपनि सिमसार चाहे ठूला साना जस्ता हुन् चर्ने घरपालुवा जनावरले असर पारेकै छन् । कोशी टप्पु क्षेत्रमा दैनिक आउजाउ गर्ने जनावरको संख्या सयमा छैन हजारौँमा छ भने त्यहाँ भित्र स्थायी रुपमा बस्ने गरेका करिब तीन हजार घरपालुवा जनावर छन् भनेर आईयुसीएनको सन् २००४ को अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अर्को ठूलो चुनौति छ सिमसारमा त्यो के भने पीँध भरिँदै आउने । पीँध भरिएर माथि आउँदा आउँदा पोखरी सुक्ने सम्मका समस्या आइसके । यस्तो रोगबाट नेपालका कुनै पनि सिमसार सुरक्षित रहन सकेका छैनन् । कोशी सिमसारमा किन नहोस् या रारा वा जगदीशपुरी वा विसहजारीमा सिल्टेशन अर्थात् पीँध भरिने समस्या छ ।
सिमसार भित्रका पानीका मूलहरुको पहिचान र संरक्षण गर्न नसक्दा पानीका स्रोत सुकेर सिमसार नै सुकेका उदाहरण प्रसस्तै छन् । रामसार साइटमा सूचीकृत इलामका माइपोखरीमा हिउँदमा पानी सुकेर सिमसार भन्न नि नहुने गरी कुरुप बन्ने गरेको छ । यस्तालाई बचाउन आज सिमसार संरक्षणकर्मी संस्था र व्यक्तिलाई कठिनको घडी छ ।
शहरीकरणले तिव्रता लिएको वर्तमान परिप्रेक्ष्यमा शहर भित्रका र आसपासका पोखरीहरु संरक्षित हुन सकेका छैनन् । बरु उल्टै पोखरीमा माटो भर्दै घडेरी प्लटिङ भइरहेको छ । यस कार्यलाई कसैले रोक्न गरेको प्रयासलाई पहुँचदारहरुले पैतालामुनि पारिरहेका छन् । तसर्थ विश्वव्यापी रुपमा शहरीकरणले सिमसारलाई असर पारेको पाइएकोले यस वर्षको सिमसार दिवसको नारा दीगो शहरी विकासका लागि सिमसार भन्ने राखिएको छ ।

यीबाहेक सिमसार केन्द्रित पर्यापर्यटन, पर्यटकको बढ्दो भिडभाड,वनभोज केन्द्रको रुपमा सिमसार छनौटमा पर्नुले त्यहाँको प्राकृतिक स्वरुप प्रभावित बनेको छ । स्थानीयले स्वामित्व जमाएर मौलिक तर अवैज्ञानिक किसिमले संरक्षणको प्रयासस्वरुप जथाभावि निर्माणहरु गरेर सिमसारको विशेषता र दिगोपनलाई खराबी गरिरहेका छन् । यीनलाई पनि प्रभावशाली चुनौतिको रुपमा व्याख्या गरिन थालिएको छ ।

Facebook Comments