अतिक्रमणको चपेटामा सप्तपाताल, १४ रोपनीको पोखरी दुई रोपनीमा सीमित

काठमाडौं– ललितपुरको लगनखेलस्थित ऐतिहासिक एवम् धार्मिक महत्त्वको सप्तपाताल पोखरी सरकारी, गैरसरकारी स्तरबाट अतिक्रमणको चपेटामा परेको छ।

कुनै समय भरीभराउ पानी हुने सो पोखरीको पानीमा माछा र हाँस खेल्ने दृष्य अहिले इतिहास बनिसकेको छ। पोखरीमा जमेको पानी देख्न मुस्किल मात्र होइन, पोखरीको आकार खुम्चिएर करिब ६ गुणा सानो भएको छ।

२०२१ सालको नापीमा १४ रोपनी १० आना २ पैसा क्षेत्रफलमा रहेको पोखरी हाल करीब साढे २ रोपनी क्षेत्रफलमा मात्र सीमित छ।

पोखरीकै जग्गामा रोटरी क्लबले अशोक स्तुपसँगै सार्वजनिक बगैंचा बनाएको छ। कतिपय जग्गामा बाटाे बनिसकेकाे छ।  धार्मिक एवं ऐतिहासिक महत्वकाे पोखरी आजभाेलि फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनेको छ । पोखरीको वरपर प्लास्टिक र विभिन्न कार्टुनका फोहोर जथाभावी फालिएको छ।

९८ वर्षीय उत्तरमान श्रेष्ठ

सप्तपाताल पोखरीलाई सानै उमेरदेखि नियाल्दै आएका स्थानीय ९८ वर्षीय उत्तरमान श्रेष्ठ पोखरीमा पानी भरिभराउ भएको अवस्था स्मरण गर्दै भन्छन् , ‘त्यो बेलाको सप्तपाताल पोखरी सम्झदा रमाइलो लाग्छ, हामी त्यही पानीमा खेल्थ्यौँ।’

आफूहरूले सप्तपाताल पोखरीमा नुहाएको, माछा मारेको र आफ्नी आमासहित अन्य महिलाहरूले पनि त्यहाँ भाँडा माझेको र लुगा धोएको सम्झदैँ उनले भने, ‘हामीहरू पहिला–पहिला त्यहाँ गएर नुहाउँथ्यौँ , सानो बेला साथीहरुसँग मिलेर माछा मार्न पनि जान्थ्यौँ, पोखरीमा हाँस खेलिरहेका हुन्थे, अहिलेको हालत देख्दा धेरै नरमाइलो लाग्छ।’

सप्तपाताल पोखरीमा पानी जम्मा हुँदा त्यसले पाटन क्षेत्रका ढुङ्गेधारा र इनारहरुमा पनि पानीको मात्रालाई असर पार्ने भएकाले सो पोखरीलाई संरक्षण गर्नुपर्ने स्थानीयको जोड छ। स्थानीय पूर्णभक्त चित्रकार सप्तपाताल पोखरी पानीको भण्डारणका लागि राम्रो स्थान भएको बताउँछन्।

‘पोखरीमा पानी जम्मा भए पाटन तथा मंगलबजार क्षेत्रका मुख्य भूभागका पूराना ढुङ्गे धारा, इनारमा पानी पुग्छ भन्ने मान्यता छ,’ सप्तपाताल पोखरी पुर्ननिर्माण समिति कोषाध्यक्ष समेत रहेका चित्रकारले भने, ‘ राजकुलोको पानी पनि यही जम्मा हुन्थ्यो।’

पोखरी ऐतिहासिक भएकाले यसलाई मास्न दिन नहुनेमा विज्ञहरूको जोड छ। संरक्षणमा लागेका वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा सो पोखरीको संरक्षण भएमा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकसँगै वातावरणीय पक्षलाई पनि फाइदा पुग्ने बताउँछन् ।

वातावरण सुधार संस्थाका अनुसार सरकारले उक्त पोखरी अतिक्रमण गरी २०३४ सालमा करीब ८ रोपनी जग्गा नमुना मच्छिन्द्र आवासीय विद्यालयलाई दिएको थियो ।

सुरु–सुरुमा पोखरी मासेर विद्यालय बनाएपनि त्यति चासो नदेखाएका स्थानीयले २०६० सालमा विद्यालयले सडक छेउमा डिपार्टमेन्ट स्टोर निर्माण गर्न लागेपछि विरोध गर्दै आएका छन्। विद्यालयले गर्न लागेको निर्माण कार्य रोक्नुपर्ने माग गर्दै वातावरणवादी अधिवक्ता भोजराज ऐरले परमादेश जारी गर्न माग गर्दै २०६१ भाद्र ४ गते सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । २०६१ साल माघ ८ गते सर्वोच्चले परमादेश जारी गरी हाललाई विद्यालय भवन निर्माण बन्द गर्दै नक्सापास समेत बदर गरेको थियो ।

हाल सो मुद्दाको पेशी सरेको–सर्यै छ। पछिल्लो समय यही महिनाको पहिलो साता मुद्दाको पेशी तोकिएपनि फेरि सरेको छ। यस विषयमा महानगरपालिकाका मेयर चिरीबाबु महर्जन पोखरीको ऐतिहासिकतालाई संरक्षण गर्नुपर्ने बताउँछन्।

वडा नम्बर १५ का अध्यक्ष सुर्दशन मिश्र विद्यालयसँगै पोखरीको पनि संरक्षण गर्नुपर्ने बताउँछन्। ‘गरिबका छोराछोरीले पढ्ने विद्यालय पनि सार्वजनिक नै हो,’ उनले भने , ‘पानीको स्रोत बचाउने पोखरी पनि चाहिन्छ, विद्यालय पनि हाम्रो आवश्यकता हो।’

 विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महत पोखरीकोे नाममा विद्यालय र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने बताउँछन्। उनी २०३४ सालमा विद्यालयका नाममा पूर्जा प्राप्त भइसकेको जग्गा २०५० मा त्रुटिका कारणले सरकारका नाममा हुन गएको दाबी गर्छन्। विद्यालय बनाएर बाँकी रहेको स्थानमा पोखरी र बगैँचा बनाएर संरक्षण गर्न सकिने उनको भनाइ छ।

धार्मिक–सांस्कृतिक महत्त्व

सप्तपाताल पोखरीको सम्बन्ध उपत्यकाको सबैभन्दा लामो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको छ। जात्रा सकिएको जानकारी गराउन बटुक भैरब मन्दिरमा एक जोडी भँगेरा आकाशतिर उडाइन्छ भने एक जोडी माछा पातालका नागराजालाई पठाउन भन्दै सप्तपाताल पोखरीमा छोड्ने गरिएको थियो। सप्तपाताल अथवा पृथ्वीको तलतिर रहने ७ लोकमध्ये सबभन्दा तल्लो लोक हो। जुन लोकलाई नाग लोक भनिन्छ। रातो मच्छिन्द्रनाथ र मीननाथ जात्रा सम्पन्न भएको खबर पाताल लोकका नाग राजालाई पुर्याउन यही पोखरीको प्रयोग हुने गरेको थियो ।

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको यो पोखरी कसले र कहिले बनाएको भन्ने विषयमा भने कुनै लिखित दस्तावेज छैन। भारतीय सम्राट अशोकले चारवटा स्तुप बनाउने क्रममा लगनखेलमा बनाएको स्तुपका लागि माटो खन्दा बनेको खाल्डोमा पानी जमेर पोखरी भएको मान्यता रहेकाे स्थानीयको भनाइ छ।

Facebook Comments