फुटबल मैदान हरियाली बनाउन ४० लाखको बर्मुडा घाँस (भिडियाेसहित) आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

बाँके–नेपालगञ्ज रंगशालाको फुटबल मैदानमा ४० लाखको लागतमा बर्मुडा घाँस लगाउन शुरु गरिएको छ।

आगामी फागुनको अन्तिम साता नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेल हुने उक्त मैदानमा घाँस लगाउन थालिएको हो।

रंगशालाको पुरानो फुटबल मैदानमा माटो, ग्राभेलका, युपिभिसी पाइप, जियो टेक्सटाइल हालिएपछि बर्मुडा घाँस लगाएर फुटबल मैदान निर्माण गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद प्रदेश नम्बर ५ का संयोजक भीम वलीले जानकारी दिए।

भारतको कलकत्ताबाट ल्याइएको बर्मुडा घाँस लगाएर राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपालगञ्जको फुटबल मैदानलाई हरियाली बनाउने कामको शुभारम्भ गरेका हुन्। बर्मुडा घाँस बोकेकोे ट्रक भारतको काेलकत्ताबाट ६ दिनमा नेपालगञ्ज आइपुगेको हो।

नेपालगञ्ज रंगशालाको ८ हजार १ सय २६ वर्गमिटर क्षेत्रमा बर्मुडा घाँस लगाइने जनाइएको छ। नेपालगञ्ज रंगशालामा लगाइएको बर्मुडा घाँसको प्रभाव राम्रो देखिएमा अन्य खेल मैदानमा पनि लगाइने सदस्य सचिव विष्टले बताए।

बर्मुडा घाँस बाह्रै महिना हरियो हुन्छ। यो घाँस रोपेको ठाउँमा अन्य घाँस उम्रने सम्भावना निक्कै कम हुन्छ। यो घाँस भएको खेल मैदानमा लड्दा खेलाडीलाई चोटपटक लाग्ने सम्भावना पनि कम हुने भएकाले बिश्वकप फुटबल प्रतियोगिता हुने खेल मैदानमा पनि बर्मुडा घाँस नै लगाउने गरिएको सदस्य सचिव विष्टले बताए।

बर्मुडा घाँस रोपेको २० दिन पछि नेपालगञ्ज रंगशालाको फुटबल मैदान प्रतियोगिताका लागि तयार हुने राष्ट्रिय खेलकुद परिषदका सबइन्जिनियर कार्मा शेर्पाले बताए। बर्मुडा घाँस लगाउनु पहिले फुटबल मैदानमा युपिभिसी पाइप, जियो टेक्सटाइल हालिएपछि त्यसको माथि चिप्स हालेर खेल मैदान तयार पारिएको थियो ।

नयाँ प्रविधिबाट निर्माण गरिएका कारण बर्षातमा आकाशबाट पर्ने पानी तत्कालै खेल मैदानबाट बगेर ढलमा जाने र पानी रोकिएको आधा घण्टामै पुनः खेल सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको दाबी गरिएको छ।  फागुन महिनाको तेस्रो सातासम्म फुटबल मैदान तथा प्याराफिटको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ तीब्र गतिमा फुटबल मैदान निर्माणको कार्य भइरहेको वलीले बताए।

नेपालगञ्जको फुटबल मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदका २ जना सबइन्जिनियरसहित करीब ५० जना मजदुर चार महिनादेखि काम गरिरहेका छन्।

फुटबल मैदानको लम्बाई करीब १०५ मिटर र चौडाई ६८ मिटर हुनेछ। फुटबल मैदानसँगै नेपालगञ्ज रंगशालाको प्याराफिटको क्षमतालाई वृद्धि गरेर १० हजार पुर्याउने लक्ष्य राखिएको छ। साढे ६ करोडको लागतमा फुटबल मैदान तथा दर्शक प्याराफिट र करीब १९ करोडको लागतमा भिआइपी प्याराफिट निर्माण गर्न लागिएको हो।

Facebook Comments