सात महिनामा चितवन निकुञ्जका २८ गैँडा मरे, नमूना परीक्षण गरिने

चितवन–चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वाभाविक रुपमा गैँडा मर्न थालेपछि मरेका गैँडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ। गैँडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि बाह्य मुलुक पठाउन लागिएको हो।

चालू आवको हालसम्म २९ गैँडा मरेका छन्। निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति बनाएर काम अगाडि बढाएको हो। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो एक महीनामा मरेका सात गैँडा फेला परेका थिए। वर्षात्को बेलामा कालगतिले मरेका तर हाल फेला परेका धेरै भएको उनले बताए।

प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २८ र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ। निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले भाले जुधेर, ढिस्कोबाट लडेर, बच्चा पाउन नसकेर, दलदलमा फसेर र बूढो भएर कालगतिबाट, बाघले खाएर, रोगका कारण रहेका छन्। जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैँडा मरेको छ ।

कालगतिले बाहेक निकुञ्जमा मरेका गैँडा १५ देखि २५ वर्ष उमेरका रहेको घिमिरेले बताए। गैँडाको औसत आयु ६० वर्ष हुन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अस्वाभाविक ढङ्गबाट गैँडा मर्न थालेपछि रोगका कारण मरेका चारसहित अन्यको नमूना परीक्षणका लागि स्वदेश र विदेशका प्रयोगशालामा पठाउने तयारी गरिएको बताए। उनका अनुसार मरेका गैँडाको महत्वपूर्ण अङ्ग सुरक्षित राखिएको छ । ती अङ्गलाई बाहिर पठाएर मृत्युको कारण पत्ता लगाउने तयारी गरिएको छ ।

ठूलो सङ्ख्यामा गैँडा भएकाले महामारीको रुपमा रोग भित्रिन नपाओस् भन्नका लागि समयमै सतर्कता अपनाउने तयारी गरिएको हो। निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मरेका र नसढेका गैँडाको मुटु, कलेजो, पित्त, मिर्गौला, मूत्रथैली, रगतलगायतका नमूना डिपफ्रिज र इथानोल अल्कोहलमा सुरक्षित राखिएको छ । मरेपछि कुहिएको अवस्थामा भेटिएका गैँडाको छाला सुरक्षित राखिएको छ ।

अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितरबितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकालले बताए। गत वर्ष प्राकृतिक कारणले २५ गैँडा मरेका थिए। पूर्वका गैँडा पश्चिम पुगेपछि एकै क्षेत्रमा बढी गैँडा हुँदा पनि समस्या भएको हो। स्थानान्तरणका क्रममा पोथी गैँडा बढी पठाएपछि भालेको सङ्ख्या बढी हुँदा पनि जुधेर मर्ने क्रम बढेको ढकाल बताउँछन्।

स्थापनाताका २० प्रतिशत घाँसेमैदान रहेको निकुञ्जमा हाल १० प्रतिशत मात्रै घाँसेमैदान छ। त्यसमा पनि बजेट अभावमा हरेक वर्ष १०० हेक्टर हाराहारी व्यवस्थापन गरिँदै आएको छ। अन्य घाँसेमैदान व्यवस्थापन गर्न नसक्दा पनि गैँडालाई समस्या भएको छ । गैँडालाई पानीका लागि तालतलैया सुक्दै गएपछि यस वर्ष ४० नयाँ ताल खन्नका लागि बोलपत्र आह्वान गरी ठेक्का दिइएको छ । हालसम्म निकुञ्जमा ६० ताल छन् । नदीमा सोझै ढल र फोहर मिसाउँदा प्रदुषित भएर पनि गैँडा प्रभावित बनेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ गैँडा प्राकृतिक कारणले मरेका थिए। हालसम्म प्राकृतिक कारणले सबैभन्दा बढी मर्ने क्रम यस वर्ष देखिएको छ। यसअघि चोरीसिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ गैँडा मारिएका थिए।

पछिल्लो समय चोरीसिकारीबाट मारिने क्रम घटेर गएको छ । चोरीसिकारीबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्नेको सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैँडा चोरीसिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । चालू आर्थिक वर्षमा पुनः गैँडाको गणना गरिँदैछ। रासस

Facebook Comments