पारुल विश्वविद्यालयमा पेट्रोलियम गाडी निषेध

काठमाडौं–भारतको गुजरात राज्यमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन प्रवेश निषेध गरिएको छ।
प्रदूषण नियन्त्रणका लागि भन्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा रोक लगाएर साइकलको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। फलस्वरुप क्याम्पसमा प्रयोगका लागि विश्वविद्यालयले पहिलो चरणमा एक सय साइकल पनि खरिद गरेको छ।
साइकल प्रयोग गर्न चाहनेलाई दैनिक, साप्ताहिक वा मासिक रुपमा न्यून भाडा शुल्क बुझाएर प्रयोग गर्न पाउने व्यवस्था पनि गरिएको छ ।
यसरी पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा रोक लगाउँदा शिक्षक र विद्यार्थीको स्वास्थ्य र क्याम्पसको वातावरण स्वच्छ राख्न मद्दत पुग्ने विश्वास लिइएको छ।
हरित तथा स्वच्छ वातावरण बनाउने उद्देश्य पुरा गर्न क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाइएको क्याम्पसका उच्च अधिकारीहरुले बताएका छन् ।
क्याम्पसका अध्यक्ष देभेशुं पटेलले भनेका छन्, ‘हाम्रो विश्वविद्यालय झण्डै १२० एकडमा फैलिएको छ, विद्यार्थी र शिक्षकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्छ, त्यसैले हामीले साइकलको व्यवस्था गर्न लागेका हौं।’ –एजेन्सी
Facebook Comments