मुहान संरक्षणमा अग्रसर आलिताल वातावरणमैत्री नीति बनाउँदै

आलिताल (डडेल्धुरा)–सुख्खापन र पानीका मुहान सुक्ने समस्याले पीडित डडेल्धुराको आलिताल गाउँपालिकमा मुहान संरक्षणका लागि प्रयास थालिएको छ।

वन विनास, खुलाचरिचरन, अध्ययन बिनै जथाभावी ग्रामीण सडक निर्माण, जलवायु परिवर्तन लगायतका कारण यस क्षेत्रमा पानीका मुहान सुक्ने क्रम बढेपछि आलिताल गाउँपालिकाले पानी पोखरी निर्माण, वृक्षरोपण र आकाशे पानीको संकलनको सुरुवात गरेको हो।

पानीका मुहान संरक्षणका साथ साथै जलीय जैविक विविधता संरक्षण नीति तथा वातावरणमैत्री नीति निर्माणका लागि मस्यौदा बनाउने काम समेत सुरु भएको गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ‘पानी’ छलफलको समीक्षात्मक बैठकमा अध्यक्ष गुरुङले नेफेजले १४ भदौमा गरेको पानी छलफलमा आफूहरुले ७ वटा बुँदामा प्रतिवद्धता जनाएको र सोहि प्रतिवद्धता अनुसार काम पनि अघि बढाएको जानकारी गराए।

तेस्रो गाउँसभाले पारित गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेट तथा कार्यक्रममा वन, वातावरण संरक्षणमा पानीका मुहान संरक्षणको विषय समेटिएको उल्लेख गर्दै गुरुङले भने, ‘स्वच्छ र सुन्दर आलिताल भन्ने अभियानका साथ गाउँपालिकामा रहेका सार्वजनिक क्षेत्र, खाली स्थान र ग्रामीण सडक निर्माण भएको स्थानमा वृक्षरोपण गरी स्वच्छ, सफा र हराभरा गर्न वातावरण निर्माण गर्ने हाम्रो कार्यक्रम छ।’

त्यसका लागि गाउँपालिका र वन कार्यालयको सहकार्यमा करीब ६० हजार विरुवा उत्पादन गर्न नर्सरी निर्माण गरी बिरुवा समेत उत्पादन भैरहेको उनले जानकारी दिए। आगामी वर्षमा एक लाखभन्दा बढी विरुवा उत्पादन गर्न गाउँपालिका परिसरमै हाईटेक नर्सरी उत्पादन गर्न बजेटको व्यवस्था समेत भएको गुरुङले जनाए। उनले ती विरुवा असार महिनामा रोप्न योग्य हुने बताए। ती बिरुवालाई आलिताल वरपर, सडक निर्माण गरेका क्षेत्रमा र पानीका मुहान क्षेत्रमा रोपण गरिने उनले जनाए।

यसअघि गत भदौमा भएको पानी छलफल कार्यक्रममा गरिएका प्रतिवद्धता कार्यान्वयनको अवस्थाका विषयमा गरिएको समीक्षात्मक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गुरुङले पानीको समस्या समाधान गर्न उत्तिकै सचेत रहेको बताए।

आलिताल चुरे क्षेत्रमा पर्छ। यहाँका थलि, मेलगाँजा, नाउली, कोईलानी डाँडाका बस्ती बस्ती सुख्खापन र पानीको समस्याले ग्रसित रहेको उनले जनाए। उनका अनुसार त्यसका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वयमा पानीका मुहान संरक्षणका लागि काम भइरहेको छ।

आलिताल संरक्षणका लागि गाउँपालिकाले गुरुयोजना निर्माण गरिरहेको उनले बताए। नेफेजले गाउँपालिकालाई वातावरणमैत्री विकास निर्माण,जलीय जैविक विविधता संरक्षणका लागि सचेत पार्ने कार्य गरिरहेको प्रति खुसी व्यक्त गर्दै गुरुङले गत भदौमा गरेका ७ बुँदे प्रतिवद्धतालाई माघ ११ गते १९ औं बैठकले अनुमोदन गरी कार्यान्वय गर्ने निर्णय समेत गरेको जानकारी दिए।

उनले उल्लेखित विषयमा नीति निर्माणका लागि कानुनविद्हरुलाई सहभागी गरि केहि दिनको कार्यक्रम राखेर राजपत्रमा प्रकाशित गर्ने कार्यक्रम रहेको बताए ।

गाउँपालिकाका उपाध्यक्ष जलाकुमारी बोगटीले वडा नम्बर ४ को कोइलानीमा आकाशे पानी संकलन गरिरहेको, वडा नम्बर ८ मा डोलाकोटमा पनि आकाशे पानी संकलनको कार्य भैरहेको जनाइन्। उनले अन्य वडामा पनि त्यस कार्यका लागि अध्ययन गर्ने काम गाउँपालिका र वडा कार्यालयले गरिरहेको जानकारी दिइन्।

वडा नम्बर ४ का कार्यपालिका सदस्य गोमती बोहराले वडामा आकाशे पानी संकलनको काम भइरहेको जनाइन्। सामुदायिक वनमा वृक्षरोपण गरिएको, पानीको बढी समस्या हुनेहरुलाई आकाशेपानी संकलनका लागि कोइलानीमा १६ ओटा प्लास्टिकको ट्यांकीं वितरण गरिएको र ४ वटा पुनर्भरण (रिचार्ज) पोखरी समेत बनाइएको बोहराले जानकारी दिइन्। ‘अन्य स्थानमा पनि पोखरी बनाउने तयारीमा छौं,’ उनले भनिन्।

वडा नम्बर ५ का वडा सदस्य बलबहादुर बुढामगरले सामुदायिक वनका पदाधिकारीलाई पानीको मुहान संरक्षण, वृक्षरोपण र वातावरण संरक्षणका विषयमा तालिम दिन बजेट छुट्टाइएको जानकारी दिए। डाँडामा रहेका बस्तीमा पानीको समस्या बढी रहेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ न बजेटले पुग्छ न बस्ती नै बाक्लो छ। त्यस्तो अवस्थामा हामीलाई अप्ठ्यारो भइरहेको छ।’

वडा नम्बर ५ मा पनि मुहान संरक्षणको काम भइरहेको छ। वडा नम्बर ५ का खरिदार मेखराज जोशीले गत वर्ष ४–५ वटा मुहान संरक्षणका लागि बजेट विनियोजन गरी यस वर्ष वृक्षरोपण गरिएको जनाए।  वडा नम्बर ६ का वडाध्यक्ष कुम्भर बुढाले मुहान संरक्षणको १०-११ वटा नाउला अर्थात् पानीका मुहान संरक्षण गरिएको उनले जानकारी दिए। उनले कबुलियती वन बनाएर वनजंगल संरक्षणको काम भइरहेको बताए।

वडा नम्बर ७ मा पानीको समस्या समाधानका लागि लिफ्ट सिंचाइको सुरुवात गरिएको वडाध्यक्ष वीरबहादुर बोहराले बताए। गाउँमाथि तर, पानीको मुहान तल रहेको नाउली गाउँ बलाउँचामा पानीको स्रोत नहुँदा मेलगाँच नाउली लिफ्ट सिंचाइ आयोजनाका लागि ५० लाख रुपैयाँ विनियोजन भएको उनले जनाए। जुन बजेट प्रदेश सरकारको हो।

यसैगरी, उनका अनुसार खिन्नेबाडीमा २० लाख, कोइरालामा १० लाखको योजना रहेका छ। उनले आफ्नो वडामा खुला चरिचरना रोकेको, वृक्षरोपण गर्न विरुवा उत्पादन र मुहानलाई बचाएर सडक निर्माण गरिरहेको जानकारी दिए।

वडा नम्बर ८ का अध्यक्ष गणेशबहादुर थापामगरले पानी परियोजना अन्तर्गत आरडिसी नेपालले रिचार्ज पोखरी निर्माण गरेको बताए। पानीको मुहान संरक्षण र सुख्खापन हुन नदिन रिचार्ज गर्नुपर्ने भएको डोलाकोटमा पानी पोखरी निर्माण भैरहेको उनले बताए।

गाउँपालिकाको सहकार्यमा वृक्षरोपण गर्ने, सडक निर्माण गर्दा पानीका मुहान नभत्किने गरी गर्ने लगायतका कार्यक्रम भइरहेको थापामगरले बताए।

गाउँपालिकाको केन्द्रबाट टाढा रहेको वडा नम्बर २ का अध्यक्ष जनकबहादुर मल्लले पानीको मात्रा प्रशस्त भएपनि व्यवस्थित रुपमा सदुपयोग गर्न नसकिरहेको बताए। तर, पनि आफूहरूले लघुजलविद्युतमार्फत् ३ सय घरपरिवारलाई सेवा दिइरहेको, सिंचाइका लागि नहर नभए पनि कुलोमार्फत् सिंचाइ सुविधा दिइरहेको उनले बताए।

नेपाल रेडक्रस सोसाइटीका सचिव कृष्णदत्त जोशीले खुला चरिचरनका कारण बोटबिरुवा सखाप भइरहेकाले त्यसतर्फ जनप्रतिनिधि र स्थानीयको ध्यान जानुपर्ने बताए।

वडा नम्बर ३ की स्थानीय निर्मला रावलले विगतभन्दा अहिले परिवर्तन भैरहेको बताइन्। वडा नम्बर ७ का स्थानीय टेकबहादुर रोकाले ५ महिनाको अवधिमा त्यति धेरै काम गर्न नसकिने भएपनि गरेको काम प्रशंसनीय रहेको उल्लेख गरे।

नेफेजले माघ तेस्रो साता गरेको समीक्षात्मक छलफलले यसअघिका प्रतिवद्धतासहित थप ४ बुँदामा प्रतिवद्धता व्यक्त गरेको छ।

–जलीय जैविक विविधता संरक्षण नीति, स्थानीय प्राकृतिक स्रोतसाधन कार्यविधि तथा वातावरण संरक्षण एवं वातावरणमैत्री नीति आगामी आर्थिक वर्षभित्र निर्माण गरिनेछ।

–पानीका मुहान नभएका क्षेत्रमा आकाशेपानी संकलन प्रविधि अपनाइनेछ।

–खुला चरिचरन रोकी वनजंगल संरक्षण गरिनेछ।

–यसअघि गरिएका सम्पूर्ण प्रतिवद्धता कार्यान्वन गरिनेछ।

Facebook Comments