फेरिँदै नागदहको मुहार (फोटो फिचरसहित)

ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित नागदहको नियमित सरसफाइ गरिन थालिएपछि पानी सफा देखिन थालेको छ।

तीन वटा मुहान रहेको नागदहमा फोहोर बढ्दै गएपछि नागदह संरक्षण सुधार समितिले नियमित सरसफाइका लागि कामदार नै खटाएपछि सुधार आएको हो।

नागदह अवलोकन गर्न आउनेहरूको सुविधाका लागि ताल वरपर संरचना समेत निर्माण गरिएको छ। जहाँ बसेर नागदहको अवलोकन गर्न सकिन्छ।

शहरी विकास प्राधिकरणको ११ करोडको लागतमा नागदहलाई सौन्दर्यकरण गर्ने काम भइरहेको छ। समितिका सदस्य दीपकराज गिरीका अनुसार जसमध्ये पहिलो चरणमा ३ करोडको लगानीमा नागदहका लागि मन्दिर, पाटी, शौचालय, भ्यु टावर, हल, पार्किङ, ठाउँठाँउमा कुर्सी, दहलाई घेर्ने वाल र रेलिङ बन्ने तयारीमा छ।

समितिका अध्यक्ष सलामसिंह मोक्तानका अनुसार  ५२ रोपनी क्षेत्रफलमा फैलिएको नागदहमा माछा खेलेको र चरा उडेको दृश्य हेर्न आगन्तुक आउने गरेका छन्।

नागदहमा १२ महिना पानी हुने गर्छ। स्थानीय ७८ वर्षीय बलराम गिरीका अनुसार दहको उत्तर, दक्षिण र पश्चिम दिशामा पानीका तीनवटा मुहान छन्। ‘नागदहको एकै ठाउँबाट यसको चार कुना देखिदैन। जहाँबाट हेरेपनि एउटा कुना लुकेको देखिन्छ,’ उनले भने। गिरीका अनुसार केही वर्ष यता नागदहमा भैंसीलाई नुहाउने, फोहोर गर्ने गरिएकोमा पछिल्लो सरसफाइ गरिन थालिएको हो।

समितिले २ जनालाई नागदहको सरसफाइमा खटाएको छ। राजेन्द्र सापकोटा र उनकी पत्नी सम्झनाले नागदह छेउमै राखेको पसलको भाडा तिर्नु नपर्ने शर्तमा समितिले उनीहरूलाई १ दिन बिराएर नागदहको सफाइ गर्न लगाएको छ।

‘एक दिन बिराएर दहको किनारामा सरसफाइ गछौँ,’ राजेन्द्रले भने,‘बोतल, चाउचाउ, पराग लगायतका प्याकेट बढी फ्याँकेको पाइन्छ।’ दह वरपर डस्टबिन समेत राखिएको छ।

अध्यक्ष मोक्तानका अनुसार नागदह डुंगा सयर पनि गर्न पाइन्छ। जहाँ ६ वटा डुंगा सञ्चालनमा छन। डुंगाबाट वार्षिक ३ लाखको हाराहारीमा आम्दानी हुने गरेको मोक्तान बताउँछन्।

समितिका सदस्य गिरीका अनुसार नागदहको पानी लुगा धुने र घरायसी प्रयोजनका लागि लैजाने व्यवस्था मिलाइएको छ।

हरेक वर्ष जेठ १५ गते नागदहको पानी जाने निकास बन्द गरी असार १५ मा धान रोप्नका लागि स्थानीयको खेतमा पठाउने गरिएको उनले बताए।

उनका अनुसार साइबेरियाबाट समेत यहाँ जाडो छल्न जलकाग, जलेवा लगायतका चरा आउने गर्छन।

२५ फिटसम्म गहिरो रहेको नागदहको वीच भाग सोली आकारको रहेको बताइन्छ। नागदहकोे चौडाई ९ सय ३७ मिटर छ।

वडा अध्यक्ष दिनेश कार्की नागदहको दिगो विकास एवं पर्यावरणीय सन्तुलन कायम राख्न वृहतर गुरुयोजनासहित काम अगाडि बढाइएको बताउँछन्।

नागदहलाई केन्द्रमा राखेर बासुकी, आँखीदह, गौखुरेश्वर महादेव, सप्तऋषी मन्दिर, नौलिङ्गेश्वर महादेव मन्दिर सहितका सबैक्षेत्रको विकासलाई अगाडि बढाउने योजना रहेको उनले बताए।

नागदहको पूर्वपट्टि सानो आँखी दह र ठूलो आँखी दह पनि रहेका छन्। यी दहपनि स्थानीको विभिन्न घरायसी प्रयोजन र सिंचाइका लागि प्रयोग हुने गरेका छन्।

Facebook Comments