निजगढ विमानस्थलः पर्यटनमन्त्रीले सारे ‘जीटूजी’ पछि अर्काे विकल्प ‘वातावरणका नाममा पूर्वाधार रोकेर विकास हुँदैन’

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्।

तस्बिर : चन्द्रकला क्षेत्री/रासस

विमानस्थलको निर्माण दुई देशको सरकारी (जीटूजी) प्रक्रियाबाट अगाडि बढाउने गरी उच्चस्तरमा छलफल भइरहेका बेला मन्त्री अधिकारीले त्यसको अर्काे विकल्प समेत सारेका छन्।

नेपाल इन्जिनियर्स एशोसियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘पूर्वाधार बहस’  निजगढ विमानस्थलको वर्तमान आवश्यकता र औचित्य कार्यक्रममा मन्त्री अधिकारीले भने, ‘जीटूजी प्रक्रियाबाट निर्माणका लागि कतिपय देशबाट प्रस्ताव आएको छ, हामी त्यसमा छलफल गर्दैछौं। त्यसमा बलियो आधार आएन भने सरकार आफैंले निर्माण गर्नेछ।’ तर, उनले सरकार आफैंले निर्माण गरेमा लगानी कसरी जुटाउने भन्ने विषय खुलाएनन्।

पूर्वसचिव, इन्जिनियर वीरेन्द्रबहादुर देउजाले ‘गेमचेन्जर’ का रुपमा रहेको मुलुकको ठूलो आयोजना निजगढ विमानस्थलकाे निर्माणकाे जिम्मा निजी सीधैं क्षेत्रलाई दिन नहुने सुझाएका थिए। ‘अन्य मुलुकमा प्राथमिकताका आयोजना सरकार आफैंले बनाउँछ। ससाना आयोजना निजी क्षेत्रलाई दिइन्छ,’ देउजाले भने, ‘तर, हामीकहाँ काम नलाग्ने योजना सरकारले बनाउने ठूला आयोजना निजी क्षेत्रलाई दिने गरिन्छ। जुन उल्टो काम हो।’

एयर ट्राफिक, भिजिबिलिटीका हिसाबले उत्तम रहेको राजधानी काठमाडौंबाट नजिक रहेकाले निजगढको विकल्प नरहेको उनले बताए।

मन्त्री अधिकारीले कमभन्दा कम वातावरणीय क्षति हुने गरी विमानस्थल बन्ने तर, वातावरणका नाममा पूर्वाधार रोकेर विकास हुन नसक्ने बताए।

पूर्वाधारविद्, इन्जिनियर सूर्यराज आचार्यले पनि निजगढ विमानस्थल सरकारको सहभागितामै निर्माण गरिनुपर्ने बताए। ‘त्रिभुवन विमानस्थल कामचलाउ मात्र अन्तर्राष्ट्रिय हो, निजगढ अन्तर्राष्ट्रिय स्तरको आयोजना हो। जुन आफैंमा गेमचेन्जर हो,’ आचार्यले भने, ‘त्यसैले सरकारको सहभागिताबिना बनाउन सकिँदैन।’

निजगढ विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति हुने भन्दै आलोचना समेत भइरहेका बेला आचार्यले भने,‘यहाँ वातावरणका नाममा अन्तर्राष्ट्रिय चलखेल हुन्छ। यूएनको दीगो विकास योजना अनुसार देश विकास हुन सक्दैन।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, इन्जिनियर जगदीशचन्द्र पोखरेलले शुरुमा काठमाडौं–तराई द्रुतमार्ग र निजगढ विमानस्थललाई एउटै प्याकेजमा बनाउने योजना रहेपनि पछि अलगअलग बनाइएको बताए। ‘ठूलो योजना भनेर हामीले खुुट्टा कमायौं,’ ढेड दशक अघिको कुरा सम्झँदै पोखरेलले भने, ‘निजगढमा विमानस्थल बनाउने भनेर त्यसै घोषणा गरिएको होइन। ८ ठाउँको अध्ययन गरेर स्थान निर्धारण गरिएको हो।’

विमानस्थल बनाउँदा वातावरण र वन्यजन्तुमा पर्ने प्रतिकूल असरका बारेमा छुट्टै अध्ययन गरेर न्यूनीकरण गर्नुपर्ने तर, निजगढको विकल्प नहुने उनको भनाइ छ।

प्रा.डा. विकास अधिकारीले दीगो विकासको लक्ष्य अनुरुप पूर्वाधार विकास अगाडि बढाउनुपर्ने बताए।

Facebook Comments