आखिर किन मारिन्छन् रेडपाण्डा?

काठमाडाैं–विश्वमा दुर्लभ सूचीमा सूचीकृत रेडपाण्डा मारिने क्रम रोकिएको छैन। बरु तस्करीले निरन्तरता पाइरहेको छ। पछिल्लो समय दुई महिना अघि महानगरीय प्रहरी  वृत दरबार मार्गबाट खटिएको टोलीले नारायणहिटी उत्तर ढोका टुकुचा नजिकबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जना पक्राउ गर्‍यो। बरामदको यो घटना पहिलो होइन, यो त पाण्डा तस्करीको एक उदाहरण मात्रै हो।

वन विभागको तथ्याङ्क अनुसार राजधानीबाट पछिल्लो पाँच वर्षयता ८५ वटा रेडपाण्डाको छालासहित ९० जनालाई कानूनी दायरमा ल्याएको छ। प्रहरीको तथ्याङ्क हेर्दा ५० थान रेडपाण्डाको छाला बरामद भएको देखिन्छ। यसरी तस्करीमा पक्राउ पर्ने मध्ये २५ देखि ४० उमेर समूहका व्यक्तिहरु छन्। सानु तथा लजालु स्वभावको सुन्दर वन्यजन्तु पाण्डाको तस्करी बढिरहे पनि हालसम्म किनबेच नभएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो वन्यजन्तु विभागका प्रहरी नायव उपरीक्षक अनुपम राणा बताउँछन्।

किन मारिन्छन् त रेडपाण्डा ? धेरैको चासो अमुल्य भएकाले पैसा धेरै आउँछ भन्ने छ। तर वास्तविकता के हो भने रेडपाण्डा मारिनुमा हल्लै हल्लामा भएको पाइन्छ। प्रहरीको तथ्याङ्क र अनुसन्धानले पनि अहिलेसम्म पाण्डाको व्यापार भएको पाइदैन । रेडपाण्डाको खरिदबिक्री हालसम्म नभएपनि हल्लाको भरमा स्थानीयले पाण्डाको शिकार गरेको पाइएको छ।

रेडपाण्डा छालासहित प्रक्राउका सबै घटनामा बजार खोज्दै हिँड्ने क्रममा जफत भएको प्रहरी नायव उपरीक्षक राणा बताउँछन्। ‘पहिलो कुरा यो वन्यजन्तुलाई लोपोन्मुख भनेपछि स्थानीय धेरै पैसा आउने लोभमा हौसिएका देखिन्छन्,’ उनले भने, ‘दोस्रो यो वन्यजन्तुको विषयमा समुदायमा बुझाउन नसक्नुले पनि अनाहकमा मारिने क्रम बढेको हो।’

‘धेरै पैसा आउँछ भनेर रेडपाण्डाको जसरी हल्ला फैलिएको छ त्यसले मानिसको मनोविज्ञानमा घर घरेको देखिन्छ,’ राणा भन्छन्, ‘रेडपाण्डाको विषयमा जसले काम गरिरहेका छन् उक्त संस्थाले जनचेतना फैलाउन जरूरी छ।’

पक्राउ परेकाहरू भन्छन्–१ लाख देखि ५ लाख ५० हजार रुपैयाँका दरले बिक्री हुने सुनेका छौं। कसले किनिदिन्छ, कहाँ बिक्री हुन्छ? यो भने उनीहरूलाई पनि थाहा छैन। हल्लै हल्लाको भरमा रेडपान्डा मारिने क्रम अझै घटेको छैन । पान्डाको छाला बहुमुल्य पुष्टि हुने र किनबेच भएको अहिलेसम्म कुनै आधार र पुष्टि पनि छैन । चीन र भारतीय सीमा, अन्तर्राष्ट्रिय विमानस्थल र वन्यजन्तुका अंग बरामद हुने घटनामा रेडपाण्डा बरामद भएको पाइदैन । नेपालमा मात्रै हल्लै हल्लाको भरमा पाण्डा मारिएको पाइन्छ।

रेडपाण्डाको तस्करीको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा २५ वर्षअघि प्रकाशित चिनियाँ पुस्तकमा चीनको हेनान प्रान्तका एक महिलाले रेडपाण्डाको टाउकोसहितको छाला पहिरिने गरेको उल्लेख छ। उक्त तथ्य बाहेक हालसम्म रेडपाण्डा तस्करीका विषयमा खबर आएको पाइदैन।

यदि रेडपाण्डाको छाला महत्वपूर्ण थियो भने रसुवा, ताप्लेजुङ, सिन्धुपाल्चोकबाट राजधानी काठमाडौंसम्म बजार खोज्दै तस्करहरु आउने थिएनन्। नजिकैको छिमेकी राष्ट्र चीन नगएर राजधानी आउनुले पनि बजार छैन भन्ने पुष्टि गर्छ। रेडपाण्डा पाउने देश चीन, बर्मा, भुटान भारतीय सीमा, अन्र्तराष्ट्रिय विमानस्थल र वन्यजन्तुका अंग बरामद हुने घटनामा पनि रेडपाण्डा छाला बरामद भएको पाइँदैन।

रेडपाण्डा संरक्षण तथा अनुगमनका लागि लाङटाङ निकुञ्जले रेडपाण्डा संरक्षण कोष भनेर १० लाखको अक्षयकोषको समेत व्यवस्था गरिदिएको छ। खोज अनुगमन तथा पाण्डाको अवस्थाबारे बुझ्नका लागि पैसा नभएर नियममित हुने अनुगमनमा बाधा नपुगोस भनेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले कोषको स्थापना गरेको पाइन्छ। तर, प्रभावकारी रुपमा जनचेतना फैलाउन भने सकेको देखिदैन। लोपोन्मुख जनावर हो जोगाउन पर्छ भनेर चिनाइयो मार्न हुँदैन भनेपछि स्थानीयमा उठेको जिज्ञासा मेट्न सकेको देखिदैन।

‘हामीले पाण्डाको संरक्षणका लागि जंगलक्षेत्रमा जानका लागि निषेधे काम गर्‍यौं रसुवाका स्थानीय नादाङजे चोरी शिकारी नियन्त्रण समूहका अध्यक्ष न्वाङ फिन्जो तामाङले भने, ‘तर के गर्नु अबुझ मान्छेको शिकार रेडपान्डा भइरहेछ ।’ लोपोन्मुख वन्यजन्तु मात्रै भनेर स्थानीयलाई चिनाए, उनले भने, मार्न किन हुँदैन भनेर सिकाउन नसक्दा तस्करी बढेको हो।’ स्थानीय के भ्रममा छन् भने लोपोन्मुख जनावर भनेपछि धेरै पैसा आउँछ भन्नेमा छन्, उनले भने, ‘जसले गर्दा पनि रेडपाण्डा मारिएका हुन्।’

संसारभर दुई हजार ५ सय रेडपाण्डा रहेको र लाङटाङ राष्ट्रिय निकुञ्जमा मात्र १ सय ५० को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ। एलुरस फुल्जेन्स वैज्ञानिक नामले चिनिने रेडपाण्डालाई ठाउँ नै पिच्छे फरक नाम छ। विदेशमा चम्किलो बिरालो समेत भनिने लजालु स्वभावको यो जन्तुलाई नेपालमा हाब्रे र पाण्डा भनेर चिनिन्छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजना तथा विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा रसुवामा रेडपाण्डा संरक्षणका लागि विद्यालयस्तरमा रेड पाण्डा ईको कल्ब, रेडपाण्डा टर्फि लगायतको काम हुँदै आएको आएको छ। विद्यालय स्तरदेखि समुदायमा समेत पाण्डाबारे जनचेतना फैलाउदै जाँदा पछिल्लो समय समुदाय आफै संरक्षणमा अग्रसर भए पनि पान्डाको शिकारमा भने कमि आएको देखिदैन।

रेडपाण्डाको खोज तथा अनुसन्धानमा लामो समय बिताएका डा. प्रल्हाद योञ्जनले सन् १९८७-१९८८ यता निकुञ्जमा रेडपाण्डाको अवस्था र अध्ययनपछि निकुञ्ज क्षेत्रमा रेडपाण्डाको अध्ययन तथा अनुगमन गरेका थिए। रेडपाण्डाको अवस्थाबारे थेसिस समेत गरिसकेका डा.योञ्जनको प्रतिवेदन अनुसार लाङटाङ निकुञ्जको क्षेत्रमा पर्ने रसुवाको चोलाङपाटी, ढोकाचेत र लामाहोटल रेडपाण्डाको पकेट क्षेत्र हो। १० देखि १५ डिग्रि सेल्सियस तापक्रममा हुने पाण्डा लाङटाङ राष्ट्रिय निकुञ्जमा दुई हजार ८ सयदेखि ३ हजार ६ सय १० मिटर उचाई सम्ममा फेला परेको तथ्याङ्क छ।

नेपाल लगायत भारत, चीन, बर्मा र भुटानमा मात्र पाइने सोझो र लजालु स्वभाव भएको प्राणी हो। ८ देखि १० वर्ष आयु हुने रेडपाण्डा एक मिटर सम्म लामो शरीर भएको र ६ केजी सम्म तौल हुन्छ।

रेडपाण्डाको आरक्षण क्षेत्र ३० जिल्ला
रेडपाण्डा नेटवर्कले ४० जना जीवशास्त्रीको टोलीले एक महिना लगाएर गरेको सर्वेक्षणमा २३ जिल्लामा रेडपाण्डाको बासस्थान रहेको पाइएको थियो। ताप्लेजुङ पाँचथर, इलाम संखुवासभा, सोलुखुम्बु खोटाङ, भोजपुर दोलखा, रामेछाप,सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लम्जुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम जाजरकोट जुम्ला, मुगु र कालिकोटमा रेडपाण्डाको बासस्थान रहेको सर्वेक्षणले देखाएको छ।

दुई हजार मिटरभन्दा माथि पाईने रेडपाण्डा निकुञ्जको ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो। साईटिस अनुसुची १ र आइयुसियन रातो किताबमा अति संकटापन्न सूचीमा सूचीकृत छ।

मुलुकभर १६ हजार ३ सय १६ वर्ग किलोमिटर क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको पत्ता लागेको छ। त्यसमध्ये सबै भन्दा बढि ४६ प्रतिशत पश्चिममा २८ प्रतिशत पूर्व र २६ प्रतिशतमध्ये क्षेत्रमा रेडपाण्डाको वासस्थान रहेको पाइन्छ।

Facebook Comments