काठमाडाैं उपत्यकामा नाै वटा हरियाली पार्क बन्दै महानगरद्वारा एक–एक करोड रूपैयाँ सहयोग हस्तान्तरण

ललितपुर–काठमाडौँ महानगरपालिकाले उद्यान (पार्क) निर्माणका लागि उपत्यकाका ९ वटा नगरपालिकालाई एक-एक करोड उपलब्ध गराएको छ।

पार्क निर्माण तथा हरियाली प्रवर्द्धन र सार्वजनिक जग्गा संरक्षणका लागि महानगरपालिकाले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानिलकण्ठ, तारकेश्वर,  नागार्जुन,चन्द्रागिरि र दक्षिणकाली नगरपालिकालाई १–१ करोड रुपैयाँ उपलब्ध गराएको हो। टोखा नगरपालिकालाई भने २० असारमा रकम उपलब्ध गराइसकिएको छ।

गत शुक्रबार बसेको २९औँ बोर्ड बैठकको निर्णयअनुसार उक्त रकम मेयर विद्यासुन्दर शाक्यले ९ नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरे।

उपत्यकाका एकीकृत विकास कार्यक्रमअन्तर्गत यी कार्यक्रम गरिएको हो। आव २०७५-७६ मा विनियोजित बजेटअनुरुप प्रथम पक्ष कामपाले दोस्रो पक्ष अन्य नगरपालिकालाई रकम दिएको हो। परियोजना निर्माण आव २०७५-७६ मा शुरु गरिसक्नुपर्ने सम्झौतापत्रमा भनिएको छ। उक्त रकम सो परियोजनाबाहेक अन्य क्षेत्रमा लगानी गर्न पाइने छैन।

यस्ता छन्  ९ वटा नगरपालिकाका योजना
कीर्तिपुर नगरपालिका
कीतिपुर नगरले वडा नम्बर १, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक पार्क निर्माण गर्ने योजना पेश गरेको छ। करिब ५५ रोपनी क्षेत्रफलमा निर्माण गरिने यस पार्कमा घेरा पर्खाल, हरियो उद्यानसहितका संरचना हुनेछन्।

शंखरापुर नगरपालिका
महानगरबाट प्राप्त सहयोगबाट शंखरापुर नगरपालिकाले वडा नम्बर ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्ने भएको छ। यस परियोजनामा मन्दिर क्षेत्रमा उद्यान, सार्वजनिक शौचालय, सिँढी, घेरा पर्खाल, वनभोज क्षेत्रमा छहारी, सवारी साधन पार्किङ स्थल हुनेछ।

यो परियोजना मन्दिरको पूर्वतर्फ बाटो, पश्चिमतर्फ मन्दिर र जङ्गल, उत्तरतर्फ बाटो र जङ्गल, पश्चिम तर्फ बाटो गरी करीब १०० रोपनी सार्वजनिक जग्गामा बिकास गरिनेछ।

कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी नगरपालिकाको वडा नम्बर १ मा रहेको कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर कागेश्वरी धाम निर्माण गर्ने योजनामा उल्लेख छ । परियोजनाका लागि उत्तरमा सहिद पार्क, दक्षिणमा अड्डा पाटी, पूर्वमा गागल फेदी र पश्चिममा ढकाल गाउँको सीमा भित्रको करीब ५५ रोपनी जग्गालाई लिइनेछ।

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण तथा व्यवस्थापन समितिबीच मिति २०७५ माघ ८ गते भएको सम्झौता अनुसार वडा नम्बर ९ जगडोल स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क निर्माण गरिनेछ।

यसभित्र ज्येष्ठ नागरिक आराम कक्ष, रेलिङ सहितको अपाङ्गतामैत्री पदमार्ग, बालबालिका मनोरञ्जन क्षेत्र, एम्पिथिएटर, चिन्तन मनन बगैंचा, फूल बगैंचा, जगिङ्ग ट्रायल, अन्तरक्रिया कक्ष, सेवा कक्ष, गार्ड कक्ष, बगैंचाको सामानहरुको भण्डारण कक्ष, शौचालय र खाजा÷खाना खाने क्षेत्र र जनावरको पार्क भित्र प्रवेश रोक्नको लागि वरपर हरियो झाडीको छेकबार सहितको संरचना निर्माण गरिनेछ ।

बूढानिलकण्ठ नगरपालिका
बुढानिलकण्ठ नगरको वडा नम्बर ८ हात्तीगौडामा बुढानीलकण्ठ पार्क निर्माण गर्ने नगरको योजना छ। यस पार्कको पूर्वमा जगन्नाथ देवल पार्क, पश्चिममा नेपाल टेलिकम, भद्रकाली शाखा कार्यालय, उत्तरमा सिजि हिलको आवास क्षेत्र र दक्षिण तर्फ मार्कसिष्ट गुरुकुल पार्कको चार किल्ला हुनेछ।

यो पार्क करीब १४ रोपनी जग्गाभित्र निर्माण हुनेछ। पार्कमा सबै प्रदेशका अलग अलग डिजिटल बोर्ड रहने छन्। जसमा सम्बन्धित प्रदेश अन्तर्गतका जिल्लाहरु, स्थानीय तहहरु समेतको सीमाना, नाम, क्षेत्रफल, प्रशासनिक ईकाइ र ती क्षेत्रहरुको मुख्य मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरु उल्लेख गरिएको सूचना सहितको डिजिटल नक्सा हुनेछ। त्यस्तै हिमाल, पहाड र तराईको झल्को दिने खालको भौगोलिक स्वरुपको संरचना पनि निर्माण गरिनेछ ।

तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिकाले वडा नम्बर ३ धाम क्षेत्रमा तारकेश्वर धाम निर्माण गर्नेछ। चारैतिर सार्वजनिक जङ्गल रहेको भूमागको बीचमा करिब १० रोपनी सार्वजनिक जग्गामा निर्माण हुने यस धाममा महादेव, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल, धामसम्म आवत जावत गर्ने बाटा, सिँढीहरु तथा वरपर हरियाली क्षेत्र विकास हुनेछ।

नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिकाले वडा नम्बर ६ डाँडापौवामा गणेशमान स्मृति पार्क निर्माण गर्ने प्रस्ताव महानगरमा पेश गरेको छ। पूर्वमा निजी जग्गा, पश्चिममा श्यामेश्वर गणेशमान सामुदायिक बन, उत्तरमा निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्ला भित्र करिब १७ रोपनी सार्वजनिक जग्गामा पार्कको प्रस्ताव गरिएको हो।

आधुनिक तथा मौलिक पार्कमा नागार्जुन नगरपालिकाको वडा १ देखि १० मा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, प्राकृतिक विशेषताहरु झल्कने आकृतिहरु तयार गरिनेछन्। त्यस्तै गणेशमान सिंहद्वारा वृक्षरोपण भएको यस क्षेत्रको उचित संरक्षण गरी गणेशमान सिंहको शालिक स्थापना गर्ने तथा उनको जीवनीका मूलभूत अवस्थाहरु उल्लेख हुनेछन्।

यसका अतिरिक्त पृथ्वीनारायण शाहले उपत्यका विजय गर्दा प्रवेश मार्गको रुपमा प्रयोग गरेको स्थानका रुपमा झल्कने आवश्यक व्यक्तित्वहरुका पहिचान, घटस्थापनामा गोर्खाबाट हनुमानढोकामा फूलपाती ल्याउने मार्ग बारे यथोचित सूचना सम्प्रेषण गर्ने तथा अनुसन्धानमूलकमा सहयोग पु-याउने रमणीय स्थान बनाइनेछ ।

चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरले वडा नम्बर १३, कंकाली मन्दिर परिभ्रमण क्षेत्रमा पर्या–पर्यटन एवम् ऐतिहासिक साँस्कृतिक पर्यटन क्षेत्र तयार पार्नेछ।

पूर्वतर्फ दण्डा गाउँ, पश्चिमतर्फ इन्द्रधारा सडक, उत्तरतर्फ नागार्जुन नगरपालिकाको सिमाना र दक्षिणतर्फ लम्साल गाउँभित्र यो क्षेत्र रहनेछ । यसको क्षेत्रफल करीब २६ रोपनी हुनेछ ।

दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा रहेको गोरखनाथ मन्दिरबाट करिब ३०० मिटर माथिसम्म परम्परागत सिँढी, गोलाई आकारको अवलोकन स्तम्भ, बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, प्राचीन दक्षिणकाली मन्दिरसम्म परम्परागत सिँढी र सम्पूर्ण क्षेत्रमा पर्खालसहितको संरचनालाई यस नगरले प्रस्तावका रुपमा महानगरमा पठाएको छ।

Facebook Comments