काठमाडौंमै फर्किन्छ सिसडोलको फोहोर

काठमाडौँ– नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटमा फालिने फोहोर काठमाडौंमै फर्किने गरेको छ। प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले दैनिक करिब ५ ट्रक फोहोर पुनः उपत्यकामा भित्रिने गरेको छ।

नसड्ने, नकुहिने प्रकृतिका ठोस फोहोर छनोट गरी विभिन्न समूहले काठमाडौं भित्र्याउने गरेका छन्। पत्रपत्रिका, कार्टुन, कपडा, प्लास्टिक र प्लास्टिकजन्य सामग्री, फलामका टुक्रा, विद्युतीय सामग्री र त्यस्ता उपकरणमा प्रयोग हुने कभरलगायतका ठोस फोहोर दैनिकजसो एजेन्टमार्फत काठमाडौं भित्रिने गरेको सिसडोल साइडका इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिए।

स्रोतमै कुहिने र नकुहिने फोहोर राम्रोसँग नछुट्याइँदा पुनः प्रयोगमा ल्याउन मिल्ने फोहोर नुवाकोट पुगेर फेरि काठमाडौं भित्रिने गरेको उनले बताए।

‘६० प्रतिशत मात्रै कुहिने फोहोर सिसडोल पुग्छ, स्रोतमै ठोस फोहोर व्यवस्थित गर्न नसक्दा सिसडोल ल्यान्डफिल्ड साइड अस्तव्यस्त भएको छ।’– श्रेष्ठले भने। दैनिक करिब २ सय व्यक्ति यस्तो फोहोर संकलन गरी आयस्रोत जुटाउने गरेका उहाँले बताए।

काठमाडौं उपत्यकाका सबै स्थानीय तहको फोहोर सिसडोल पुर्याउने गरिएको छ। दैनिक करिब १ सय २५ गाडी फोहोर बोकेर सिसडोल पुग्ने गरेका छन्।

दैनिक ७ सय ५० मेट्रिकटन हाराहारीको फोहोर सिसडोल पुग्ने गरेको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए। ‘कहिलेकाहीँ त धुलिखेलको फोहोर पनि त्यतै पुग्ने भएकाले फोहोरको परिमाण धेर थोरपनि हुन सक्छ।’ – उनले भने। तर नुवाकोट पुर्याउनुअघि ठोस फोहोर छनोट गरिने भएकाले पुनः प्रयोगमा ल्याउन मिल्ने फोहोरको ठूलो परिमाण काठमाडौं फर्काउन नपर्ने श्रेष्ठको तर्क छ।

शहरी फोहोर मैला व्यवस्थापनबारे चासो लिँदै आएका सरोकारवाला भने सरकारी कमजोरीका कारण यस्तो समस्या निम्तिने गरेको बताउँछन्। नगरपालिका र नगरका वडा कार्यालयले कडाइ नगरेसम्म यो समस्या तत्काल समाधान नहुने फोहोर मैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रकी पूर्वकार्यकारी प्रमुख डा. सुमित्रा अमात्य बताउँछिन्।

‘समस्या घर–घर र आमनागरिकबाट शुरू भएको छ। उद्योग, कलकारखाना र अन्य निकायले फोहोरलाई व्यवस्थित गरेका छैनन्’, उनले भने– ‘नगरपालिका र वडा कार्यालय भने तत्काल देखिने नजितासँग मात्रै जोडिएका छन्।’

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्यसमेत रहेकी अमात्यले दोहोर्याउँदै भनिन्– ‘फोहोरमैला व्यवस्थापनमा राज्य जति गम्भीर हुनुपर्ने हो त्यस्तो हुन सकेको छैन, यसका लागि राजनीतिक इच्छाशक्ति नै छैन।’

ल्यान्डफिल्ड साइड पुगेको फोहोर फेरि उपत्यकामै फर्काउँदा ढुवानी, इन्धन र समयको खर्चसहित प्रत्यक्ष/अप्रत्यक्ष अल्पकालीन र दीर्घकालीन वातावरणीय प्रभावसमेत निम्तिने वातावरणविदहरूको तर्क छ। डेढ दशकअघि सिसडोल साइडको विकल्प अघि सार्दा सो साइडमा करिब ४ वर्ष फोहोर व्यवस्थापन गर्ने योजना बनाइए पनि हरेक वर्ष समय थपिएको थपिएकै छ। त्यहाँ थुपारिएको फोहोरको झोल ‘लिचेड’ प्रशोधन हुन नसक्दा नजिकैको कोल्फुखोला प्रत्यक्षरूपमा प्रदूषित बनेको छ। टीका बन्धन/नेपाल समाचारपत्र

Facebook Comments