ढुंगा, बालुवा उत्खनन् : सवारीसाधनसहित पाँच जना पक्राउ

कैलाली–जिल्ला समन्वय समिति कैलालीले प्रारम्भिक वातावरणीय परीक्षण(आईईई) नगरेको ठाउँका नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारीसाधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

समितका प्रमुख सूर्यबहादुर थापाले लगातार एक हप्ताको अनुगमनका क्रममा अवैध रुपमा कर्णाली तथा गोदावारी नदीबाट ढुङ्गा, बालुवा, गिट्टी सङ्कलन गर्ने एक जेसिवी, ७ वटा ट्रयाक्ट, एक क्रसरसहित पाँच जनालाई नियन्त्रणमा लिएको बताए।

आईईई नगरेको र आवश्यक काजपत्र नबुझाएको भन्दै गोदावरी नदी किनारमा सञ्चालित घुम्ती क्रसरसहित मेसिन चलाउने दुई जना चालक र तीन जना स्टेशन म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

समितिले यसअघि गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोल, गोदावरी नदीमा क्रसर उद्योग सञ्चालन सम्बन्धी कम्पनीसंग आवश्यक कागजपत्र माग गर्दा समेत नबुझाएपछि कारबाहीका लागि सुरक्षा निकायसंग आग्रह गरेको थियो। प्रहरीले सोही बमोजिम नदीमा क्रसर चलाउने व्यक्तीहरुलाई नियन्त्रणमा लगेको हो ।

निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाको ठेक्का पाएको शर्मा अमर नागार्जुन (जेभी) ले आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उत्खननका लागि सो क्षेत्रमा घुम्ती क्रसर सञ्चालन गरेको थियो।

अनुमतिबिनै क्रसर उद्योग सञ्चालन गरेपछि जिल्ला समन्वय समिति, कैलालीले सो कम्पनीलाई सम्झौतापत्रसहित अन्य आवश्यक कागजपत्र बुझाउन गत २० गते पत्राचार गरेको थियो। पत्र पठाएको एक हप्ता हुँदा समेत कागजपत्र नबुझाएपछि समन्वय समितिले सुरक्षा निकायलाई कारबाहीका लागि पत्रचार गरेको प्रमुख थापाले बताए।

प्रमुख थापाले घुम्ती क्रसर सञ्चालनबारेको विवरण तथा आवश्यक कागजपत्र माग गर्दा अझैंसम्म प्राप्त नभएको समेत जानकारी दिए।

Facebook Comments