प्रदूषित बन्दै फुङ्गा पोखरी

ललितपुर–गोदावरी नगरपालिका–१२ ठेचोमा रहेको फुङ्गा पोखरीमा पछिल्लो समय फोहोर बढेको छ।

तस्वीरहरु : अमिष रेग्मी

करीब ५ रोपनी क्षेत्रफलमा फैलिएकोे पोखरीमा प्लास्टिकसँगै अन्य फोहोर फ्याँक्ने गरिएको छ, भने नजिकैको घरबाट निस्किको फोहोर पानी समेत सीधैं पोखरीमा मिसाइने गरेको पाइएको छ।

पोखरीको संरक्षणका लागि त्यहाँका विभिन्न समूह, गुठी र समिति बेला–बेलामा लागेपनि सामूहिक रुपमा यसको संरक्षण हुन नसक्दा पोखरी प्रदूषित बनेको हो।

ठेचोमा रहेका ९ वटा पोखरीमध्येको सबैभन्दा ठूलो पोखरीका रूपमा फुङ्गा पोखरी रहेपनि फोहोर फ्याँक्दा दुर्गन्ध समेत बढेको स्थानीय कृष्ण गोपाल मालीले बताए।

उनका अनुसार घर बनाउनका लागि तथा अन्य घरायसी प्रयोजनका लागि तरकारीमा पानी लगाउन र धान रोप्न सिंचाइका लागि यहाँको पानी प्रयोग गरिन्छ।

‘अहिले यहाँको पानी हिउँमा देख्न कठिन नै हुन्छ,’ उनले भने, ‘मंसीर पूर्णिमाको जात्राका क्रममा राजकुलोबाट पानी ल्याएर भरेपछि यहाँ पानी भरिएको हो। पोखरीको बाहिर ४ फिट र भित्र बीचमा ६ फिटसम्म गहिरो छ।’

पोखरीको वरिपरी सीमांकन गरेर पर्खाल लगाइ फोहोरको व्यवस्थापन गर्नुपर्ने देखिएको छ।

नवदुर्गा टोल सुधार समितिका अध्यक्ष रत्न मालीका अनुसार पोखरीमा पालिएका माछा समेत मर्न थालेपछि अहिले छोडिएको छ। २५ वर्ष अघिसम्म यहाँको पानी कन्चन देखिने गरेकोमा अहिले कालो देखिने गरेको उनी बताउँछन्।

केही वर्ष अघिसम्म ईश्वर माली लगायत स्थानीय युवाहरूको समूहले पोखरीको सरसफाइ गरी किनारमा कपुरको रुख रोपेका थिए।

७० वर्षीय अष्टमाया माली यहाँको पानीले भाडा माझेको, लुगा धोएको सम्भन्छिन्।

पोखरी हेर्ने जिम्मा पाएको ब्रम्हायणी गुठीले पनि पछिल्लो समय पोखरीको सरसफाइ र संरक्षणमा त्यत्ति ध्यान नदिएको स्थानीयको गुनासो छ। ‘गुठीले पनि सरसफाइ र संरक्षणमा चासो दिएन,’ स्थानीय कृष्णगोपाल मालीले भने, ‘संरक्षणको अभावमा यसको अस्तित्व नै खतरामा पर्न सक्छ।’

ब्रम्हायणी गुठीका गुठी नाइके दिलभक्त मर्हजन पछिल्ला केही वर्षयता धेरैको सहभागिता र चासो कम हुँदा पोखरी संरक्षणमा लाग्न नसकिएको स्वीकार गर्छन।

अहिले पछिल्लो समयमा मंसीर पूर्णिमाको जात्राका लागि मात्र भएपनि यहाँ पानी भरेर राख्ने चलन छ।

८१ वर्षीय धनबहादुर मर्हजन भन्छन्, ‘पहिले सफा पानी हुन्थ्यो। अचेल बेलाबेलामा पानी समेत सुक्छ। फोहोर पनि धेरै देखिन्छ।’

वडा अध्यक्ष जगतबहादुर मर्हजन पनि पोखरीको संरक्षण गर्नुपर्ने पक्षमा छन्। तर, घरको नाली, भाडा माझेको पानी वरपरका घरबाट पोखरीमा फाल्ने गर्दा समस्या बढेको उनी बताउँछन्।

Facebook Comments