यसरी बिलाए ठेचोका १० मध्ये ४ पोखरी ( तस्वीरसहित)

काठमाडौं–ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा रहेका १० परम्परागत पोखरीमध्ये अहिले ६ वटा मात्र अस्तित्व छन्।

कुनै पोखरी पानीको अभावमा फुटबल मैदानमा परिणत भएका छन् भने केहीमा पानीको अभाव छ। पानी भएका अधिकांश पोखरी पनि प्रदूषणको मारमा छन्।

नगरपालिकाको वडा नम्बर ११ मा रहेको कमल पोखरीमा लेलेबाट आएको राजकुलोको पानी भरिएपछि ठेचोमा रहेका अन्य पोखरी, कुवा, इनार र धारामा पानी आउने विश्वास गरिन्छ।

कमल पोखरी

‘कमल पोखरीमा राजकुलोबाट आएको पानी जम्मा हुन्छ र जमीन भित्रबाट रसाएर तल रहेका अन्य पोखरी र पानीको स्रोतमा पुग्ने विश्वास गरिएको छ,’ नवदुर्गा टोल सु्धार समितिका अध्यक्ष रत्न माली भन्छन्, ‘यो पोखरी अरु पोखरीको स्रोत भएकाले यसलाई बचाउनुपर्छ।’

राजकुलो

ठेचोमा ठेचो पीठ नजिकै पीङ्गल पोखरीे छ। अरू पोखरीभन्दा तुलनात्मक रुपमा सानो रहेको यो पोखरीमा पानी नै छैन।

पीङ्गल पोखरीे

पीङ्गल पोखरी तर मालीगाउँमा रहेको तध पोखरी (बुद्ध पोखरी) को पानी अहिले पनि वरपरका स्थानीयले घरायसी प्रयोगका लागि लैजाने गरेका छन्। पोखरीको बीच भागमा गौतम बुद्धको मूर्ति राखिएको छ। बुद्धको मूर्ति भएकाले पनि अरु पोखरीको तुलनामा यस पोखरीमा कम फोहोर देखिन्छ।

बुद्ध पोखरी

खाँचा पोखरी र मन्द पोखरी बुद्ध पोखरीको ठ्याक्कै तलपट्टी पर्छन्। यी दुबै पोखरीमा हाल पानी भएपनि हरियो लेउले भरिएको छ। पानीका बोतल, प्लास्टिक छेउछाउमा भेटिन्छन्। पीङ्गल, तध, खाँचा र मन्द पोखरीको व्यवस्थापन र संरक्षणको जिम्मा बालकुमारी गुठीले लिएपनि संरक्षण हुन नसकेको स्थानीय प्रविन  महर्जन बताउँछन् ।

खाँचा पोखरी
मन्द पोखरी

मन्द पोखरीको ३० मिटर तल पीनी पोखरी छ। यहाँ पोखरीको स्वरूप रहेपनि अलिकति पनि पानी नै छैन। सुख्खा रहेको यो पोखरीलाई जेष्ठ नागरिक भवन बनाउने योजना बनाएको वडा अध्यक्ष जगतबहादुर मर्हजनले जानकारी दिए।

पीनी पोखरी

सँगै जोडिएको न्ह्मुन्याँ पोखरी (रातो माछा पोखरी) को बीच भागमा शिवको मन्दिर छ। संरक्षणका लागि वरपरका पोखसी टोलका स्थानीयले चासो देखाएका छन् ।

रातो माछा पोखरी

रातो माछा पोखरीसँगै क्वय पोखरी पनि छ। तर, पोखरीमा नत पानी छ न पोखरीको स्वरुप नै छ। त्यहाँ झारपात र घाँस उम्रिएका छन्। ब्रम्हायणी मन्दिर छेउमै लाछी पोखरी छ। आकारमा सानो रहेको पोखरी निकै दुर्गन्धित बनेको छ।

क्वय पोखरी

दुरीखेल पोखरीको नाम मात्रै भएपनि यसको अस्तित्व सकिएको छ। यो पोखरी भएको स्थानमा हाल फुटबल मैदान छ। युवा तथा बालबालिका यहाँ आएर फुटबल खेल्ल्ने गरेका छन्।

दुरीखेल पोखरी

ठेचोको सबैभन्दा पुछारमा रहेको फुङ्गा पोखरीमा पछिल्लो समय फोहोर बढेको छ। करीब ५ रोपनी क्षेत्रफल रहेको पोखरीमा टाढैबाट पानीमा जुत्ता चप्पल, प्लास्टिक, फोहोर र नजिकैको घरबाट निस्किको फोहोर पानीको पाइप पोखरीमा देखिन्छ । ठेचोमा रहेका १० वटा पोखरीमध्येको सबैभन्दा ठूलो पोखरीका रुपमा फुङ्गा पोखरी रहेको छ।

फुङ्गा पोखरी

धार्मिक, सांस्कृति र ऐतिहासिक महत्व बोकेको ठेचोमा रहेका विभिन्न पोखरीले परम्परादेखि नै पानीको महत्व बुझाएको त्यहाँका युवा बताउँछन्। ‘हामीले बुझेकै रहेनछौँ, यहाँ त पहिलेदेिी नै पानीको महत्वलाई वैज्ञानिक ढंगले हेरिएको रहेछ,’ ३३ वर्षीय प्रविन मर्हजन भन्छन्।

परम्परादेखि नै पोखरी सरसफाइ र संरक्षणको जिम्मा त्यहाँ रहेका विभिन्न ७ वटा गुठीलाई दिएपनि पछिल्लो समयमा गुठीले चासो नदिएकोमा स्थानीय बताउँछन्।

पहिले–पहिले पीउने पानीदेखि लिएर सिंचाइ र घरायसी प्रयोगमा समेत यिनै पोखरीको पानीलाई स्रोतका रुपमा लिइने गरेको स्थानीय बृद्धबद्धाहरु बताउँछन्। ‘पहिले पहिले पीउनेदेखि लिएर अरु काममा पनि यहाँका पोखरीको पानी प्रयोग हुन्थ्यो,’ ८१ वर्षीय धनबहादुर मर्हजन संझन्छन्, ‘ती पोखरीमा अहिले कहिलेकाँही पानी सुक्छ,फोहोर पनि धेरै देखिन्छ, कस्ता–कस्ता पोखरी अहिले कस्ता भए।’

पोखरी संरक्षणका विषयमा गोदावरी नगरपालिकाले चासो देखाएको भनिएपनि हाकाहाकी टोली ती पोखरीमा पुग्दा पोखरीको अवस्था सन्तोषजनक देखिएन। यस विषयमा नगरपालिकाले गएको वर्षदेखि नै पोखरी संरक्षणका लागि बजेट छुट्टाएको छ। ‘हामीले यी पोखरी संरक्षणका लागि वार्षिक १२ लाख बजेट छुट्टाएका छौँ,’ नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले भने, ‘पोखरी संरक्षणका लागि यसको मुख्य स्रोतका रुपमा रहेको राजकुलो नै संरक्षण गर्नुपर्छ। राजकुलो नियमित चलाएर पानी बगाउन सकियो भने ती पोखरीको संरक्षण गर्न सकिने आधार बन्ने थियो।’

थेच्व भन्ने शब्द अपभ्रम्स हुँदै ठेचो बनेको हो। यसको अर्थ माथीको घर भन्ने बुझिन्छ ।

Facebook Comments