धनगढीमा खोलानाला अतिक्रमण बढ्दो

कैलाली– धनगढी उपमहानगरपालिकाले तीन वर्ष पहिले शुरु गरेको खोलानाला अतिक्रमण हटाउ अभियान अलपत्र परेको छ।

उपमहानगरपालिकाले धनगढी क्षेत्रभित्र रहेका सार्वजनिक जमिन,तथा खोला नालामाथि भइरहेको अतिक्रमण हटाउनका लागि ‘अतिक्रमण हटाउ अभियान २०७२’ मा शुरु गरेको थियो।

तर, अभियानको तीन वर्ष बितिसक्दा पनि कुनै काम हुन सकेको छैन। दिनप्रतिदिन खोलानाला अक्रिमण बढ्दो अवस्थामा रहेपनि उपमहानगरपालिका मुकदर्शक मात्र बनेको छ।

उपमहानगरपालिकाको संयोजकत्वमा, नापी कार्यालय, तत्कालीन नगर विकास समितिका प्राविधिक सहितको टोली गठन गरी अतिक्रमण क्षेत्रको सर्वे गर्न गरी यो अभियान शुरु गरिएको थियो। तर, कति क्षेत्र अतिक्रमणमा परेको छ यसको तथ्याङ्क उपमहानगरपालिकासँग छैन।

सर्वे टोलीलाई उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउन आवश्यक विवरण उपलब्ध गराउन निर्देशन गरेको थियो। तर, टोलीले कुनै पनि प्रक्रिया नदिएको उपमहानगरपालिकाको भनाइ छ।

उपमहानगरपालिकाका इञ्जिनियर द्विजराज भट्टले अबको १५ दिनमा टोलीले अन्तिम प्रतिवेदन बुझाउने बताए। ‘खोलानाला अतिक्रमण हटाउने तथा अध्ययन गर्ने निर्णय नगरपरिषदले गरेको थियो। तर,अहिलेसम्म अन्तिम प्रतिवेदन टोलीले बुझाएको छैन,’ उनले भने।

उनले अन्तिम प्रतिवेदन बुझाएपछि अवैध तथा कानुनविपरीत खोलानाला अतिक्रमण गरेको पाइएमा हटाइने बताए। ‘बेलाबेलामा खोलानाला अतिक्रमण गरेर टहरा तथा घर निर्माण भइरहेको निवेदन तथा फोन आउने गरेको छ,’ भट्टले भने,‘धेरै ठाउँमा निर्माण गरिएका टहरा भत्काएका छौँ।’

धनगढीमा भइरहेको खोलानालामाथिको अतिक्रमणका कारण वर्षाको समयमा धनगढी डुबानमा पर्दै आएको छ।

Facebook Comments