भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव

गोरखा–गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ। भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो।

उक्त बस्तीका बासिन्दालाई अहिले एक गाग्री पानीका लागि एक घण्टाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता रहेको सिमलचौरीका कान्छी गुरुङले जानकारी दिए।

‘पानीका लागि वरिपरि सार्वजनिक मूल छैन,’ उनले भने, ‘अलि नजिक रहेको खेतको मूलमा पानी लिन जाँदा खेतको धनीले सधैं भोलिबाट नआउनु भन्नुहुन्छ।’ त्यहाँ पनि एक ग्रागी पानी भर्न मात्रै एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले बताए।

केरौजामा घर बनाउने ठाउँसमेत नरहेपछि २०७४ सालमा यहाँ आइपुगेका विस्थापित भूकम्पपीडितलाई अहिले दिनभरि भने के खाने, के पिउने भन्ने चिन्ता हुने गरेको गुरुङको भनाइ छ। खानेपानीका लागि सहयोग गरिदिन आफूहरुले नगरपालिकासँग पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गरे।

खानेपानीको अभाव भएपछि सिमलचौरका बासिन्दाको पानीको मुहान खोजीमा दिन बित्न थालेको छ। रासस

Facebook Comments