पाँचखाल–मेलम्ची सडकका लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृति

काठमाडाैं–सरकारले भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपी) अन्तर्गत स्तराेन्नति भइरहेकाे पाँचखाल–मेलम्ची सडकका लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ।

३९ दशमलव ७१८ किलोमिटर दूरीको काभ्रेको पाँचखालदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्मको सडक दुई लेनमा विस्तार एवं स्तरोन्नतिका लागि ३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाका अनुसार सडक विस्तरको क्रममा सानाठूला गरी ३ सय ५५ रुख काट्नुपर्नेछ। जुन २ दशमलव १५३ हेक्टर वन क्षेत्र हुन आउँछ। सडक विस्तार क्षेत्रमा २ वटा सामुदायिक वन छन्।

उक्त सडक हाल एक लेनमा मात्र सीमित छ, पहिलेको कालोपत्रे समेत उप्केर धुले सडकमा परीणत भइसकेको छ। यो सडक स्तरोन्नतिसँगै मेलम्ची खानेपानी आयोजनालाई पनि सहयोग पुग्ने र इन्द्रावतीबाट निर्माण सामाग्री राजधानी ल्याउन सहज हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अपेक्षा छ। सडक एसियाली विकास बैंकको सहयोगमा पुनर्निर्माण भइरहेको हो।

Facebook Comments