काठमाडौं महानगरलाई सर्वाेच्चको प्रश्नः छुट्टै भवन संहिता किन ?

काठमाडौं–सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाले जारी गरेको छुट्टै भवन संहिता लागू गर्नुको कारण पेश गर्न आदेश जारी गरेको छ।

शहरी विकास तथा भवन निर्माण विभागले लागू गरेको राष्ट्रिय भवन संहिताको प्रतिकूल हुने गरी काठमाडौं महानगरपालिकाले छुट्टै संहिता बनेको भन्दै दायर रिटमा सर्वाेच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

न्यायाधीश पुरुषोत्तम भण्डारीको बिहीबारको एकलइजलासले संघीय सरकारले बनाएको कानुन प्रतिकूल हुने गरी महानगरपालिकाले छुट्टै भवन संहिता बनाउनुको कारणसहित लिखितजवाफ पेश गर्न भनेको हो।

महानगरपालिकाले लागू गरेको भवन संहिता उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेतलाई बिपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको थियो।

सर्वोच्चले थप सुनुवाई गरी अन्तरिम आदेशबारे निर्णय गर्ने ठहर गर्दै दुवै पक्षलाई आगामी छलफलका लागि बोलाएको छ।

२०७२ सालको बिनाशकारी भूकम्पपछि शहरी बिकास तथाभवननिर्माण विभागले जथाभावी भौतिक संरचना निर्माणमा कडाइ गर्दै राष्ट्रिय भवन संहिता जारी गरेको थियो।  उक्त संहिताको प्रतिकूल हुने गरी महानगरपालिकाले छुट्टै भवन संहितालागू गरेको आरोप छ।

Facebook Comments